२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

किन मौलायो एमालेमा दण्डहीनता ?

किन मौलायो एमालेमा दण्डहीनता ?

काठमाडौं । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको आयोगको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको र गलत काम गर्नेमाथि छानविन गरी कारबाही नगरेकाले दण्डहीनता मौलाएको बताएको हो । बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिए । यस्तै, बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेका र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नभएको समेत जनाएको छ । त्यसैगरी, तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलाप, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन भई कारवाही हुनुपर्नेमा अनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको अध्यक्ष बोहराले बताए । यसैगरी, बैठकले सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियुजस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेका भन्दै आयोगले कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गरेको संकेत त होइन भन्ने प्रश्न खडा भएको पनि जनाएको छ । केही समयदेखि देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को गरी शृङ्खलाबद्ध बढिरहेकामा तीनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकामा पनि बैठकले दुःख व्यक्त गरेको छ । यसैगरी, बैठकले आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij