
पानी व्यवसायमा संलग्न व्यवसायीहरुले बोटलको माध्यमबाट विक्री हुने पानीको अधिकतम विक्री मूल्य २० प्रतिशतले कमी गर्न तयार हुने बताएका छन् । अहिले बजारमा कुनै कम्पनीले उत्पादन÷प्रशोधन गरेको पानी २० रुपियाँमा त कुनै कम्पनीको २५ रुपियाँमा विक्री हुँदै आएकोमा अब भने १८ रुपियाँमा नै पानी उपलब्ध गराउन आफूहरु तयार भएको पानी उद्योगीहरुको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले सेतोघर डट कमलाई बताएका छन् । हाल २२५ उद्योगहरु सदस्य रहेको यस संघले नेपालमा पानी व्यवसायलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउनको निम्ति अन्य विविध कामहरु समेत गर्दै आएको छ ।
अहिले आफूहरुले निर्धारण गरेको २० रुपियाँ भनेको सामान्यतया सामान्य रुपमा विक्री गर्ने मूल्य नभई अधिकतम मूल्य भएको बताउँदै उपभोक्ताले त्यो भन्दा कम मूल्यमा नै पानी प्राप्त गर्न सक्ने गरी बजारमा आफूहरुले पानी पठाएको भएपनि प्रभावकारी बजार संयन्त्र तथा अनुगमनको अभावनमा उपभोक्ताहरु पानीको अधिकतम मूल्य नै तिर्न बाध्य भइरहेको समेत उनले बताए । साथै उपभोक्ता समेत जागरुक हुनुपर्ने कुरामा समेत उनले जोड दिएका छन् ।
अध्यक्ष भण्डारीले आफूहरुले उद्योगबाट ९ रुपियाँमा नै व्यापारीलाई उपलब्ध गराएको समेत बताउँदै बजारबाट उक्त पानी २०÷२५ रुपियाँमा विक्री भइरहेको प्रति आफूहरु समेत सन्तुष्ट नभएको उनले घुमाउरो रुपमा संकेत गरेका छन् ।
सामान्य व्यापारिक नियमअनुसार आफूले किनेको सामान किनेको मूल्यमा बढी

मा २० प्रतिशत मात्र नाफा राखेर पुःन विक्री गर्न पाउने व्यवस्था छ । तर बजारमा बोटलको पानी २०-२५ रुपियाँमा विक्री गरिँदा उत्पादन मूल्य भन्दा अझ बढी मार्जिन बजारीकरणमा नै उपभोक्ताले खर्च गर्नुगरेको छ । यसो हु्नुमा प्रभावकारी तवरले बजार अनुगमन हुन नसक्नुमा राज्यको समेत कमजोरी रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।
उनी भन्छन्, ‘राज्यले कडाई गर्न नसकेको कारण बोटल वाटरमा व्यवसायीले तुलनात्मक रुपमा बढी मुनाफा लिइरहेका छन् । तर हामीले व्यापारीहरुलाई बढी नाफा दिने मान्यताले एमआरपी तोकेका होइनौं । हामीले अधिकतम मूल्य त देशभर नै एउटै हुनुपर्छ भन्ने मान्यताले एमआरपी कायम गरेका हौं ।’
कुनै वस्तुको अधिकतम मुनाफा २० प्रतिशत मात्र हुनुपर्ने अवधारणा बमोजिम पानीको उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणका सबै पक्षलाई विचार गरेर नै आगामी दिनमा एमआरपी घटाउने बारे छलफल भइरहेको समेत उनले बताएका छन् । यसबाट बजारलाई थप व्यवस्थित बनाउनको निम्ति सहज हुने समेत उनी ढुक्क छन् । बजारमा उपभोक्ताहरुबाट समेत पटक–पटक यस बारे गुनासो आउने गरेको कारण आफूहरुले पनि मूल्य समायोजन गर्न लागेको भण्डारीले बताए । यसबाट मूल्यमा एकरुपता कायम राख्दै स्वच्छ पानी उपभोक्तालाई उपलब्ध गराउन यसबाट थप सहज हुने उनी बताउँछन् ।
साथै नेपालको पानी पिउन योग्य रहेको समेत बताउँदै ढुक्क भएर पानी पिउन समेत आग्रह गरेका छन् । उनले भने, ‘अहिले नेपालको प्रशोधित बोटल र जारको पानी निर्धक्क भएर खान मिल्ने अवस्था छ । तर नेपालका पानी उद्योगीहरुलाई पिउनै नमिल्ने पानी उपलब्ध गराएको भनी बदनाम गर्ने प्रयाश विगतमा भएको थियो । सम्पूर्ण पानी उद्योग क्षेत्रको नै बदनाम हुने गरी पानी अस्वस्थकर रहेको भनी प्रचार गर्नु गलब छ । कहीँकतै कमजोरी भेटिए त्यस कमजोरीको जानकारी गराई सुधार्ने मौका दिनुपर्छ ।’
नेपालमा प्रशोधित पानीको पिएचको मात्रा केही कमी भएको कारण पानीलाई अस्वस्थकर भनिँदै आएको बताउँदै भण्डारीले यस क्षेत्रबाट अहिले करिब १० हजार व्यक्तिहरुले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र पानी उद्योग क्षेत्रको दायरा निकै फराकिलो हुँदै गएको समेत बताए । पानीको विक्रीवितरण क्षेत्र समेतलाई हिसाब गर्दा ५० हजार बढी व्यक्तिहरु यस क्षेत्रमा संलग्न रहेको समेत उनी बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij