काठमाडौं । विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न छन् ।
ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङ बताउँछन् । प्राधिकरणका अहिलेकै वितरण केन्द्रहरुमा त्यस्ता स्टेसन स्थापना गर्न सकिने प्रारम्भिक आकलन छ । ‘प्राधिकरणकै जग्गामा स्थापना गर्न सकिनेबारे अध्ययन थालेका छौं,’ घिसिङ भन्छन्, ‘त्यसबाहेकका स्थान पनि छनोट गर्नेछौं ।’
लोडसेडिङ हटाएर चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सफल भएका घिसिङले भविष्यमा उत्पादित विद्युत् खपतका नयाँ क्षेत्र पहिचानलाई प्राथमिकतामा राखेका छन् । उनका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वषर्ायाममा मागभन्दा बढी बिजुली उपलब्ध हुनेछ । खासगरी, राति बढी हुने ऊर्जाको प्रयोगबाट विद्युतीय सवारी साधन प्रबर्द्धनको योजनामा छन्, घिसिङ ।
खेर जाने बिजुलीलाई विद्युतीय सवारी साधन चार्जिङमा लगाउन सके व्यापार घाटा घटाउन पनि योगदान पुग्ने देखिन्छ । खासगरी, भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थाबाट मुलुकलाई त्राण दिलाउने घिसिङको सोच छ । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको संख्या बढ्दै जाँदा व्यापार घाटा पनि दिनप्रतिदिन फराकिलो बन्दै गएको छ । त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुको विकल्प नभएको घिसिङ बताउँछन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को ६ महिनामा पेट्रोलियम पदार्थ, मेसिनरी, पार्टपूर्जा, सवारी साधन, सुन र पोलिथिन आयात बढेको छ । मेसिनरी पार्टपूर्जाको आयात घटाउन तत्काल सम्भव नभए पनि विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन आयात घटाउन सकिने सम्भावना छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij