२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

प्रदेश ३ को मुख्यमन्त्री को, अष्टलक्ष्मी कि राजेन्द्र ?

प्रदेश ३ को मुख्यमन्त्री को, अष्टलक्ष्मी कि राजेन्द्र ?

मुलुककै सवैभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएको प्रदेश ३ को पहिलो बैठक बिहीबार हेटौंडामा बसेको छ । यतिखेर मुलुकको राजधानी समेत रहेको प्रदेश नम्बर ३ मा मुख्यमन्त्री को बन्ने भन्ने विषयले सर्वत्र चर्चा भइरहेको छ । राजधानीसहित १३ जिल्ला समेटिएको प्रदेश नं. ३ को मुख्यमन्त्रीमा अन्य थुप्रै दावेदार देखिएपनि मुख्यत अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेको नाम बढी चर्चामा रहेको छ । आफूलाई तीन तीन पटक मुख्यमन्त्री बन्ने हैसियत भएको शाक्य स्वयंले बताएकी भन्दै आएका पाण्डेले खुल्ले आम आफू मुख्यमन्त्री हुनपर्ने दावी गर्दै आएका छन भने अष्टलक्ष्मी शाक्यले भने आफू सर्वसम्मत मुख्यमन्त्री हुने र सर्वसम्मत नभएमा निर्वाचनमा जाने बताएकी छिन् ।

यसरी काठमाडौँ क्षेत्र नम्बर ८ ‘ख’ बाट सांसद बनेकी एमाले उपाध्यक्ष शाक्य मुख्य दाबेदार रहेकी छिन् भने राजेन्द्र पाण्डेलाई उनी पछिको दावेदारको रुपमा लिइएको छ । धादिङ क्षेत्र नम्बर १ ‘क’ बाट विजयी पाण्डे लाई मुख्यमन्त्री हुनकै लागि गुटपरिवर्तन गरेको आरोप समेत लागि रहेको छ । शाक्य र पाण्डे दुवै माधव नेपाल गुटका हुन् ।

राजेन्द्र पाण्डे पनि मुख्यमन्त्रीका लागि योग्य छन तर पार्टीका लागि पाण्डे र शाक्यमध्ये एकलाई छान्न निकै अप्ठेरो पर्ने पार्टीका एक नेताले बताएका छन् । महिला एवम जनजाती र पार्टीको वरिष्ठताको आधारमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन सबैतिरबाट दवाव आइसकेको समेत बताएका छन् । उनी एक मात्र महिला दाबेदार भएकाले पनि अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनुपर्ने लविङ भइरहेको ती नेताले बताएका छन् । पार्टीभित्र पनि ७ प्रदेश मध्ये कम्तिमा एक प्रदेशमा महिला मुख्यमन्त्री बनाउनु पर्ने दवाव परेको छ ।

पछिल्लो समय ओली पक्षमा रहेका महिला नेताहरु पनि खुलेरै शाक्यको पक्षमा लागेका छन् । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाव पनि शाक्यलाई बनाउनुपर्ने रहेको छ । ‘महिलालाई हरेक निकाय ३३ प्रतिशत भन्ने अनि एक मुख्यमन्त्री पनि नदिने हुन्छ । अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनै पर्छ’ एमालेका एक नेताले भने ।

यस बिषयमा ओलीले भने अहिलेसम्म मुख खोलेका छैनन् । पार्टीमा त्यो तहको नेता अरु नभएकाले पनि उनको पक्षमा बल देखिन्छ । तर पाण्डेले पनि आफु उपाध्यक्षको उम्मेदवार भएकाले कमजोर नभएको तर्क पेश गरेका छन् । एकजना महिलालाई मुख्यमन्त्री बनाउनै पर्ने दवालले पनि बल अष्टलक्ष्मीको पक्षमा देखिन्छ ।

११० सदस्यीय प्रदेश सभामा एमालेको ५८ सिट छ । संस्थापनले कम्तीमा ३४ र नेपाल पक्षले २४ सांसद आफ्नो पक्षका रहेको हिसाब गरेको छ । पार्टी उपाध्यक्ष रहेकी, महिला, जनजातिका साथै पार्टीको प्रदेश सचिवालयले मुख्यमन्त्रीमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेकाले शाक्यका लागि निर्वाचन सहज पनि हुन सक्ने आँकलन पनि भइरहेको छ ।

यसरी शाक्य कि पाण्डे भनिरहंदा पहिलो बैठकसम्म आइपुग्दा आकांक्षी थपिने क्रम पनि जारी छ । एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाई, पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य कैलाश ढुंगेल, काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित, हेटौँडा नगरपालिकाका पूर्व प्रमुख तथा ज्येष्ठ सदस्य डोरमणि पौडेलसम्मले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् ।

यसरी आकांक्षी बढ्दै जांदा प्रदेश नं ३ को मुख्यमन्त्री को बन्ने भन्ने बिषय झनै अलमलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij