२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चीनले भन्यो -दोक्लम चीनकै हिस्सा हो

चीनले भन्यो -दोक्लम चीनकै हिस्सा हो

चिनियाँ विदेश मन्त्रालयले दोक्लाम चीनकै हिस्सा भएको दोर्होयाउँदै उक्त क्षेत्रमा आफ्नो देशले सडक बनाउनु जायज भएको बताएको छ । बेइजिङमा एउटा पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता लू काङले त्यसबारे जानकारी गराएकी हुन् । केही सञ्चारमाध्यमहरूमा हालै प्रकाशित भूउपग्रह तस्वीर अनुसार चीनले विवादित भनिएको उक्त क्षेत्र नजिकै चीनले एउटा ठूलो सैन्य संरचनाको निर्माण गरिरहेको छ । चीनले सैन्य संरचनाको निर्माण गरिरहेको स्थान केही महिनाअघि भारतीय र चिनियाँ सेना आमुन्नेसामुन्ने भएको ठाउँदेखि नजिकै रहेको छ । हुन त औपचारिक रूपमा भारतीय विदेश मन्त्रालयले विवादित क्षेत्रमा त्यस्तो केही नभएको जनाएको छ। तर भारतका राजनीतिक दलहरूले त्यसप्रति चिन्ता व्यक्त गरिरहेका छन्। सैन्य संरचना निर्माणबारे पत्रकारको जिज्ञासामा प्रवक्ता लूले आफूले त्यसबारे रिपोर्ट हेरेको र त्यसबाट आश्चर्य लागेको बताइन् । दोक्लामबारे चिनियाँ धारणा राख्दै उनले दोक्लाम चीनको हिस्सा हो र सधैँ चिनियाँ क्षेत्राधिकारभित्र रहिआएको बताइन् । उनले सो क्षेत्रमा चीनले त्यहाँ बस्दै आएका सर्वसाधारण र सेनाका लागि सडक जस्ता पूर्वाधारको निर्माण गरिरहेको बताइन् । लूले भनिन् त्यो पूर्ण रूपमा वैध छ किनकि हामीले हाम्रो क्षेत्रमा सार्वभौमसत्ताको प्रयोग गरिरहेका छौँ। भारतले आफ्नो क्षेत्रमा कुनै निर्माण कार्य गरे हामीलाई कुनै आपत्ति हुनेछैन। र, आशा छ हाम्रो निर्माण कार्यप्रति कुनै अर्को देशले बेतुकको टिप्पणी गर्ने छैन। गत वर्षको अगष्टमा भारत र चीनले दोक्लामबाट आ–आफ्ना सेना फिर्ता बोलाएका थिए । त्यसअघि ७३ दिन जति दुई देशका सेनाबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो। गत जुनमा भुटानी सेनाले दोक्लाम क्षेत्रमा सडक निर्माण गर्न लाग्दा चिनियाँ सेनाले रोकेको थियो। त्यसपछि चीन र भारतले सिक्किम–भुटान–तिब्बतको सीमा जोडिएको क्षेत्रमा सेना तैनाथ गरेको विवरणहरू सार्वजनिक भए । करिब साढे दुई महिना लामो तनावपछि दुई देशले सेना फिर्ता बोलाउने सहमति गरेका थिए ।तर पछिल्ला केही दिनयता दोक्लाम मुद्दा फेरि चर्चामा आउन थालेको छ र फेरि दुई देशबीच तनाव उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरिँदैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij