परवानीपुर–१ बाराका शन्तोष पटेल नामका हिटलर दैनिक, पर्साका संवाददाताले प्रेस काउन्सिल नेपालबाट बाराका विभिन्न पत्रपत्रिकाको अभिलेख लिएको भनी काउन्सिलको लेटरप्याड, लोगो, स्ट्याम्प, सूचना अधिकारीको हस्ताक्षरसमेत कीर्ते गरी, नक्कली चलानी नम्बर राखी बारा जिल्लाभरि गलत पत्राचार गरेको भन्दै प्रेस काउन्सिल नेपालको आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति निकालेको छ ।

यस्तो जानकारी प्राप्त भएसँगै काउन्सिलको बोर्ड बैठक बसेर यस सम्बन्धमा गम्भीर छलफल भई यस्तो कार्य फौजदारी अपराध नै भएकाले कीर्तेमा कानूनी कारबाही अगाडि बढाउनुपर्ने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
काउन्सिलको प्रारम्भिक अनुसन्धानबाट स्थानीय केही गलत पत्रकारबीचको अस्वस्थ प्रतिस्पर्धामा काउन्सिललाई दुरुपयोग गरिएको हुन सक्ने जनाइएको छ ।
पत्रपत्रिका वर्गीकरणमा तल–माथि परिने भयले एउटा समूहले काउन्सिललाई नै घुमाउरो धम्की दिन खोजेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो नामसमेत शुद्ध लेख्न नजान्ने शन्तोष पटेल नामका व्यक्तिले कीर्ते पत्रमा गलत सन्देश दिएबमोजिम २०७४-०८-०८ मा काउन्सिलमा कुनै पत्र दर्ता गराएको र २०७४ पुस ४ गते काउन्सिलबाट निजले कुनै सूचना लिएको रेकर्ड भने काउन्सिलमा देखिएको छैन ।
साथै निज पटेलले कुनै पनि मितिमा काउन्सिलमा कुनै सूचना नमागेको र उनको नामबाट प्रचार गरिएको पत्रमा उल्लिखित काउन्सिलसँग सम्बन्धित सबै विवरण पूरै झूट भएको समेत आमपत्रकार, जनसमुदाय तथा सरोकावालाहरूलाई सम्बोधन गर्दै जनाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij