काठमाडौं । काठमाडौंका मुख्य भित्री शहरमा चार पांग्रे सवारीसाधन निषेध गरिने भएको छ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असन सहितको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गर्न लागिएको हो ।भित्री शहर पर्ने वडाका वडाध्यक्षहरुले महत्वपूर्ण मानिएका क्षेत्रमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय गरेका हुन् ।
भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबहाल, भेडासिंंह, नरदेवी, टेंगल, बाङ्गेमुढा, ठहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारी प्रवेश गर्न पाउनेछैनन् ।
यसका लागि आजै वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्कन लागेका छन् । भित्री शहरका सडक साँघुरा भएकाे र ती साँघुरा शहरको आफ्नै जीवन्तता रहेकाे बताउँदै ती क्षेत्रहरूमा सडक प्रवेश निशेष गरिएकाे हाे । 
यद्यपि निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना छ । बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवारीलाई प्रवेश दिइनेछ । यसले वर्षौंदेखि कोर एरियामा व्यवसाय गरिरहेका स्थानीय बासिन्दालाई पनि लाभ मिल्ने अपेक्षा गरिएको छ । तर आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारी लगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij