२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

चीन बसार्इंकाे क्रममा समेटेकाे एक नेपालीकाे राेमाञ्चक अनुभव

चीन बसार्इंकाे क्रममा समेटेकाे एक नेपालीकाे राेमाञ्चक अनुभव

नेपाल र चीनबीचकाे विकास तुलना

यतिबेला नेपालमा हिन्दुहरुको महान पर्व बडादशंै सकिएको छ । म दशैको मुखैमा हाम्रो उत्तरी छिमेकि राष्ट्र चीनतिर हान्निएको हुनाले मैले यस बर्ष नेपालमा रहेर दशैं मनाउन पाईन । चीनमा पनि यति नै बेला राष्ट्रिय पर्व भएकाले एक साता सार्वजनीक विदा भएको छ र यो विदालाई सदुपयोग गर्दै नजिक–नजिक घुमघाम गर्नुका साथै मेरो चीन बसाई र भोगाईबारे एउटा लेख लेख्ने जमर्को गरीरहेको छु ।

विकास गिरी अधिवक्ता (हाल ः चीनमा अध्ययनरत)

यतिबेला म, चीनको व्यापारीक तथा आधुनिक शहर सांघाईमा छु । नदी किनारमा अवस्थित छान्जिङ्ग जिल्लामा पर्ने ‘ईस्ट चाईना युनिभर्सिटी पोलिटिकल साईन्स एण्ड ल’मा अध्ययनरत छु । मेरा लागि सांघाई नयाँ भएपनि चीन भने नयाँ होईन । यस अघि पनि म थोरै समयको लागि भएपनि मैले चीन घुमेर बिताएको छु । गत बर्ष जेठ ६ गते देखि १३ गते सम्म मैले छिमेकि राष्ट्र चीनको ७ दिने भ्रमण गर्ने अवसर पाएको थिएँ । मेरो त्यो पहिलो चीन भ्रमण लामो थिएन र त्यस बर्ष व्यापारीक शहर सांघाई भ्रमण तालिकामा परेको पनि थिएन । तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलको नेतृत्वको ५० सदस्यीय टोलीमा सहभागी भइ चीनको युनान प्रान्तको कुन्मिङ्ग डाली र चीनको राजधानी बेइजिङ्ग भ्रमण गर्ने अवसर मिलेको थियो । जसमा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायत विभिन्न युवा संगठनका र अन्य विभिन्न क्षेत्रका ४० बर्ष उमेर नकाटेका युवा साथिहरु सहभागी हुुनुहुन्थ्यो । त्यो भ्रमण मेरो जिवनकै बिल्कुलै पहिलो विदेश यात्रा थियो ।

मैले टेलिभिजनमा हेरेको र किताबहरुमा पढेको नजिकको छिमेकि मुलुक चिनलाई यात्राका क्रममा मैले नजिकबाट नियाल्ने मौका पाएको थिए । र प्रत्यक्ष अनुभूती गर्ने अबसर पाएको थिए । कतै कसैले भनेको , अरु मार्फत सुनेको, पढेका, समाचार र लेख मार्फत लेखेका कुराहरुलाई मैले आखै अगाडी प्रत्यक्ष रुपमा जाँच्ने र साक्षत्कार गर्ने मौका पाएको थिए । तर यो पटक म केहि सिक्ने र करीब १० महिना यतै बस्ने गरी चिनको सांघाई आएको छु । यसपटक पढनका लागि चिन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा चिन आएको महिना दिन बितिसकेको छ र यसबिचमा मैले देखेका र भोगेका थोरै कुरा लेख्ने जमर्को गरेको छु ।
सांघाईतर्फको यात्राको दिन देखिकै प्रशंग शुरु गरुम गरुम लागेको छ । चीन यात्राकोे दिन काठमाडांैबाट म र मसँगै सोहि युनिर्भसिटीमै एउटै बिषय अध्ययन गर्न जान लाग्नुभएकी अखिलकी पूर्व नेत्री, एक नेपाली साथी कमला बोहोरा हुनुहुन्थ्यो । हामी दुई साथसाथै ११ः४० मा उडेका थियौं । करीब ४ घण्टाको प्लेनको यात्रा भएपनि नेपालको भन्दा २ घण्टा १० मिनेट अघि चीनियाँ समय भएकाले यहॉको ६ः२० बजे मात्र हामी गोन्जाउ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेका थियौं । त्यसपछि डोमेस्टिक ट्रान्सफर मार्फत हामि सांघाईका लागि ८ बजे गोन्जाउबाट उडेका थियौं । झण्डै २ घण्टाको हवाई यात्रापछि हामी सांघाई विमानस्थलमा उत्रिएका थियौं । हामीलाई लिन दुई जना चिनिया मित्र एयरपोर्टमा खडा नै रहेछन् । एकजना एन्जी र अर्का ड्राईभर । एन्जी राम्रै अंग्रेजी बोल्दि रैछिन्, जुन क्षमता उनका समकालीन युवापुस्ताले राख्दैन । उनलाई आफ्नोबारे खुल्न पनि कुनै समस्या थिएन । चिनियाँबाहेक अंग्रेजी भाषा बोल्न सक्ने उनी जस्ता धेरै कम मान्छे मात्रै भेटीन्छन्, यो आधुनिक र व्यापारीक शहर सांघाईमा । आम चिनीयाँहरुले अग्रेजी भाषा बिल्कुलै बुझ्दैनन । अरु त हरु हामी पढ्ने बिश्वविद्यालयमा पनि विभिन्न बिषय पढिरहेका धेरै चिनीयाँ विद्यार्थीहरु पनि त्यस्तै छन् । यहाँ ऐच्छिक बिषय मात्रै अङ्ग्रेजी हुँदो रहेछ । हाम्रोमा जस्तो अङ्ग्रेजी भाषालाई अनिवार्य गरिएको रहेन रहेछ ।

कुराकानीका दौरान मैले एक जना अङ्ग्रेजी बोल्न सक्ने चेङ्ग नाम गरेको विद्यार्थीलाई सोधेँ, के तिमीहरु चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता हौ ? उनले भनिन्, हैन म त केवल एक बिद्यार्थी हँु तर म कम्युनिजममा भने विश्वास गर्छु । अध्यक्ष माओ र माक्र्सलाई मान्छु म ।’ तर कतिपय बिद्यार्थीहरु चै कम्युनिस्ट पार्टीको कार्यकर्ता पनि छन् । कत्ति चाहिँ यस्ता कुराहरु थाहा नै छैन भन्ने उत्तर दिन्छन् । जेरीङ्ग नाम गरेकी अर्की एक विद्यार्थी, जो अंग्रेजी भाषा सिक्छिन् र राम्रो सँग बोल्न पनि सक्छिन् । उनी भन्छिन ‘हाम्रो देश अहिलेको अवस्थामा पुर्याउन अध्यक्ष माओ र देङ सियाओ पिङको निकै ठूलो देन छ’ । हामी अहिले बिश्वमा दोश्रो ठूलो अर्थतन्त्र भईसकेका छौं । अब हामी चाँडै पहिलो हुनेछौं । किनकी हाम्रा नेता राम्रा छन् र उनीहरुले देश र जनताका लागि दिनरात नभनी काम गरीरहेका छन् । प्रायः सबै चिनियाँ विद्यार्थीहरु यस्तै एकै प्रकारका जवाफ दिन्छन् । चीनको प्रगतिमा वास्तवमा उनीहरु धेरै नै खुसी छन् । अमेरीकालाई आफुहरुको प्रतिस्पर्धी ठान्ने रैछन् । त्यसकारण उनीहरु जे मा पनि अमेरिकाको नाम लिँदा रहेछन् । हो, त्यसका लागि धेरै मेहनत गर्नुपर्छ र हामी गरीरहेका छाैं, भन्छन् । वास्तवमा भन्ने हो भने चिनियाँहरु कामप्रति त्यतिकै प्रतिबद्ध छन् । एकाबिहानै देखि काममा कुद्ने रहेछन् उनीहरु ।
सांघाइको छान्जिङ्ग, मैले अध्ययन गरीरहेको युनिर्भसिटी । म अहिले यहि युनिर्भसिटीको गेस्ट हाउसमा बसिरहेको छु । बिहान ८ः ३० र दिउँसो १ः३० को ३–३ घण्टे नियमित क्लास बाहेक बिहान मनिङ्गवाकका लागि ६ बजेतिर जोनसनपार्क निस्कनु र साँझ ६ बजेतिर बजार निस्कने नियमित तालिका बनेको छ मेरो । युनिर्भसिटीको मुल गेटमै ट्रलि बसपार्क छ । जहाँ कमसेकम तीनबटा ट्रलीबस लामबद्घ भई निस्कने समय कुरेर बसेका हुन्छन् । ती प्रत्येक १०–१० मिनेटमा छुट्छन् । आधुनिक खालका ती ट्रलीबस देख्ने बित्तिकै म हाम्रो देशमा सिध्याईसकेको ट्रलिबस सम्झेर भावविह्वल हुन्छु र निजीकरणका नाममा सरकारी संरचना ध्वस्त पार्ने नेपाली कांग्रेसको नीति र तत्तत् नेतालाई धिक्कार्छु । अहिले पनि काठमाडांैको सडक मेलम्चीको बहानामा त्यत्तिकै धुलाम्मे नै होलान् तर यता यहाँका सडक यति सफा र चौडा छन् कि कति लेनको होला भनेर गन्न मन लाग्न छोडिसक्यो । यहाँका सडक त्यत्तिकै वातावरणमैत्रि पनि देखिन्छन् । सहरमा एकरत्ति धुलो र प्रदूषण छैन । फोक्सो फुलाएर सास फेर्न पाइने अवस्था छ । ट्राफिक सिस्टम स्वचालीत छ । ड्राईभरहरु त्यस्तै अनुशासित छन् । सहर त्यस्तै सफा छ । बिल्कुलै धुलो छैन । सडक खुल्ला देखिन्छ तर मेट्रो ट्रेन र सबवेमा भने भिड लाग्ने रहेछ । विमानस्थलमा पनि विमान जाम चाहिँ चीनको ठूलै समस्या रहेछ । बिशेषगरी सांघाई र बेइजिङतिर । सडकमा हर्नका आवाज भने कतै सुनिँदैनन् । बेईजिङ्गमा भने ट्राफिक जामको समस्या थियो तर यता भने त्यस्तो समस्या पनि रैनरैछ । सबै काम स्वचालित भईरहेको छ । सिसि क्यामेरा जतासुकै देखिन्छ । बन्द कोठामा हुनसक्ने बदमासीलाई छाडेर अरु सबै सिसि क्यामेराको पहुँचभित्र रहेछ ।

हामीलाई त जे देखेपनि अचम्म लाग्दोरहेछ, हुँदा हुँदा रात्रिमा पनि शहरको उज्यालोले रात पनि दिन झैं भान हुने । म यता आईकन एक सेकेण्ड पनि बिजुली बत्ति गएको देख्न पाएको छैन । यता सम्भव भएसम्म प्रत्येक वस्तुलाई अर्थोपार्जनमा लगाएको देखिन्छ । चीनमा २२ सय वर्ष पुराना दरबार, पर्खाल कलाकृति र चार हजार वर्षअघि देखिका विभिन्न अभिलेख र सांस्कृतिक वस्तु पूरै सुरक्षित रूपमा भेटिन्छन् । आधुनिकताको विकाससँगै सांस्कृतिक र ऐतिहासिक सम्पदाको सुरक्षा र संरक्षणमा पनि सम्भवतः चीनलाई अरू कुनै मुलुकले भेट्टाउन सक्तैन रहेछ जस्तो लाग्दैछ । हाम्रोमा जस्तो चोकचोकमा ट्राफिक प्रहरी छैनन् र सडक जामले गर्दा हुने गाडिको ताँती पनि देखिन्न । वास्तवमै ब्यबस्थित , अनुशासित र स्वचालीत प्रणालीमा चलेको छ चीन हाम्रो नजिकको छिमेकि राष्ट्र चीन ।

मैले नजिकबाट नियालेर हेर्दा चीनको सांघाई सहर विश्वका सबभन्दा आधुनिक र सुन्दर शहर मध्ये एक देखे‘ । त्यसो त पूरानो शहर भएपनि बेईजिङ्ग पनि कम थिएन । वास्तवमा भन्ने हो यहाँ मात्रै हैन, चीनका अन्य विभिन्न प्रान्तहरूमा विकास र प्रगतिको तीव्र होड देखिन्छ । सबै प्रान्तलाई नियाल्ने अवसर नपाएपनि जुन–जुन ठाँउमा घुमेको छु, ती शहरहरु नियाल्दा के देखिन्छ भने चीनले विकासमा तीब्रता देखाएको छ । साथसाथै कला र संस्कृती जोगाउँदै पर्यावरण सुधार र हरीयाली विकासको क्षेत्रमा चीनले गरिरहेको अद्वितीय प्रगतिबाट म सबभन्दा बढी प्रभावित भएँ । हरेक सडक, घरवरिपरि हरियाली देख्न पाइने । यहाँ आकाश छुने घर निमार्णको होडवाजी छ । फुसका छाप्रामा बस्ने चिनियाँहरू कहीँ पनि देखिँदैनन् । सबैतिर उस्तै–उस्तै सुन्दर घर छन् । यहाँ मजदुर, किसान र कर्मचारीहरू पनि दशौं तल्ला देखि पचासौँ तले घरहरुमा फ्याटमा बस्छन् । यहाँका सडकहरु कति फराकिलो, सडकमा ट्राफिक पुलिसको आवश्यकता देखिन्न, सबैजना नियममा चलिरहेका छन् । बसोबास जति व्यवस्थित छ , खेतिपाती पनि त्यत्तिकै व्यबस्थित देखिन्छ । सुनिन्छ, अफ्रिकामा जमिन लिजमा लिएर चीनले खेति गरेको छ । त्यो बाहेक चीनले हाईब्रिड विधि अपनाएर आफ्नै खेतिले पनि १ अर्ब ४० करोड जनसंख्यालाई खाद्यान्न पु¥याएको छ । हुन पनि हो जस्तो लाग्छ, हरेक खद्यान्नका स्वरुप ठूला ठूला । वास्तवमै चीनमा आएपछि र नजिकबाट चीन देखेपछी असम्भव भन्ने कुरा छैन । केहि पनि नहुँदोरहेछ जस्तो लाग्छ ।
आजभन्दा ७० बर्ष पहिले चीन पनि नेपाल जस्तै अविकसित देश थियो रे । भन्छन् जान्ने बुझ्नेहरु । सुनिन्थ्यो चीन अर्धमरुभूमि र विकट देश हो तर अर्धमरुभूमि स्थिति अहिले सघन हरियालीभित्र ढाकिइरहेको छ । चीनमा पेट्रोलबाट चल्ने मोटरसाइकल कहीँ देखिएन । साइकल र ब्याट्री चार्ज गरी चढ्ने स्कुटर र मोटरसाइकल चलेका छन् । साईकलको प्रयोग पनि अत्याधिक देखिन्छ । अचम्म लाग्छ, कहिँ कतै धूलो–धुवाँको गुञ्जायस छैन । हरेक बस्ती र सडक बगंैचा सहित वातावरणमैत्री बनाइएका छन । प्रतिकूल हावापानी, भौगोलिक विकटता तथा कठिनाईका बावजुद् चीनियाहरुले खाद्यान्नमा आत्मनिर्भरता कायम गरेका नै रहेछन । यद्यपि खाद्यान्नमा आत्मनिर्भर हुँदै गर्दा सबै खाद्यान्नलाई हाइब्रिड गरेर धेरै ठूलो बनाउन गरेका प्रयास पनि आफंैमा सराहनीय लाग्दालाग्दै पनि तिख्खर स्वाद भने पाउन नसकेकाले खै किन हो खाँदा चै चित्त नै नबुझ्ने अवस्था छ । चीनमा बाहिरी भूमी भन्दा पनि जमिन भित्रको भूमिलाई ब्यापक प्रयोग गरेको देखिन्छ । चाहे त्यो शहर होस् वा गाउँ । शहरमा ठूला र लामा लामा सबवेहरु ब्यापक निर्माण गरिएका र विद्युतीय फास्ट मेट्रो ट्रेन चल्दा रहेछन् । उता गाउँतिर पहाडभित्रबाट सुरुङ्ग निर्माण गरि यातायात सेवा संचालन गरेको देख्दा चीनले आधुनिक प्रविधिको प्रयोगमार्फत विकास प्रक्रियालाई आत्मसात गरेको पाएँ । सडक वारी र पारीको जग्गालाइ कहिँ पनि खालि छोडीएको छैन । त्यहॉ ठाउ‘ अनुसार विभिन्न फलफूल तथा रुखबिरुवा लगाइएको छ । त्यहि सडकको माथि पिलर उठाएर सडकहरु निर्माण गरीएका छन भने फेरी त्यहि मुल सडकका मुनी लामा लामा सबवेहरु निर्माण गरीएका छन् । जसमा सपिङ्गका लागि सबै थोक उपलब्ध छ । यो देख्दा ईच्छाशक्ति हृुने हो भने सबै काम सम्भव रहेछ भन्ने पनि लाग्छ । हुनपनि यहाँको उक्ति नै रैछ, चीनमा असम्भव भन्ने कुरा केहि हुन्न रे । मेरो एउटै निष्कर्ष हो, अनुशासनको जगमा अडिएको घना आवादी भएको देश चीन चुस्त व्यवस्थापनले गर्दा नै अथाह प्रगतिको लामो यात्राामा छ ।
दुई ठूला देशको बीचमा बस्ने हामी नेपालीहरूका लागि भौगोलिक सुगमता र हामीले सहजै बुझिने हिन्दी भाषा र खुल्ला बोर्डरले दक्षिणी छिमेकी भारत पानी पँधेरोजस्तै छ । तर हिमाली पर्खाल र तिब्बतको विकट यातायातले अहिलेसम्म पनि बहुसंख्यक नेपालीका लागि चीन एकादेशको कथाजस्तै छ । हजारौं वर्षदेखि नेपाली व्यापारीहरूले तिब्बतमा व्यवसाय गर्दै आइरहेका छन् । हिमाली क्षेत्रका बासिन्दा अनेकौँ नाका पार गरी तिब्बत आउने–जाने गर्दछन् तर गत सालको बैशाखमा आएको भूकम्पले व्यावसायीक प्रमुख नाका तातोपानी अबरुद्ध छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछी बिकल्पमा रसुवाको केरुङ्ग नाका सञ्चालनमा आएको छ । अन्य नयॉ नाका खुल्ने क्रममा छन् । नेपालमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपि शर्मा ओली माओवादी पार्टीको समेत समर्थनमा प्रधानमन्त्री बनेका थिए । र त्यस बखत ओलीको चीन भ्रमणका दौरान दुइ देश बिचमा भएको स्वतन्त्र र पारवहन सम्झौतालाई चीनियाँहरु महत्वपूर्ण उपलब्धि मान्दा रहेछन् । त्यसैले उनीहरु हामीसँगको भेटमा त्यो प्रसंग निकाल्छन् । नेपालले चिनसँगको सम्बन्धबाट लाभ लिन सकोस् भनेर कामना पनि गर्दा रहेछन् । साथै दुइ देशको सम्बन्ध अमर रहोस् भनेर हरेक चिनीया कामना गर्ने गर्दछन् । तर आम चिनीयालाई दुई देशको बिशिष्ट सम्बन्धबारे थाह नै नहुँदो रहेछ ।
चीनबारे पुस्तकमा पढ्ने आम नेपालीको संख्या ज्यादै पातलो छ । चीनीया भाषा सिक्नेहरु त सायद सजिलै गणनामा आउ‘छन् । हुनत जो कला, संस्कृति, इतिहास र आर्थिक व्यवसायमा रुचि राख्छन्, उनीहरुका लागि चीन धेरै पहिलेदेखि नै आकर्षणको विषय थियोे । पछील्ला बर्षहरुमा चीनका विभिन्न विश्वविद्यालयमा गइ छात्रवृत्ति र आफनो निजी खर्चमा मेडिसिन र इन्जिनियरीङ्ग बिषय पढ्नेहरुको संख्या उल्लेख्य त छ । तर किन हो कुन्नी उनीहरुको भूमिका उल्लेख्य भने देखिन्न । सांस्कृतिक क्रान्तिका दिनहरूलाई सिङ्गो चीनका जनताहरुले कसरी सम्झँदा होलान् ? चीनमा कम्युनिस्ट पार्टीका अतिरिक्त केही आठ स–साना पार्टीहरू भए पनि औपचरिक रूपमा प्रतिस्पर्धी बहुदलीय व्यवस्था नभएकाले त्यसप्रति आम जनताको राय के होला ? कम्युनिष्ट शासन व्यवस्थाप्रति आकर्षण वा विकर्षण कस्तो होला ? आर्थिक नीति र व्यापक विकासप्रति त्यहाँका जनताका धारणा के कस्ता होलान् ? लगायतका अनेकौँ प्रश्नहरु मेरो मनमा उब्जिएको छ । मेरा अगाडि तेर्सिएका अनेकांै खुल्दुलीहरु मेट्न म लालायित पनि छु । तर यति नै बेला मेरो लेखमा समेट्न नसकेपनि आगामी दिनमा निश्चयपनि ती प्रश्नहरुको उत्तर खोज्ने नै छु । यद्यपी हालसम्म मैले भेटे सम्मका चीनिया विद्यार्थीहरुसँगको कुराकानीबाट थाहा भो कि उनीहरुका नेताहरुप्रति सबैको साझा मत रहेछ, आजको समृद्ध चीन निर्माण गर्न दुई नेताको योगदान छ – चेयरमेन माओ र देङ सियाओ पिङको । त्यसपछीका सबै राष्ट्रप्रमुखहरुको योगदान राम्रो रहेको र हालका राष्ट्रपति सि जिङ्ग पिङ्गको लक्ष्य भनेको संसारको एक नम्बर देश बनाउनु नै हो भन्ने ठान्दा रहेछन् आम विद्यार्थीहरु । नेताप्रति कस्तो आस्था र कत्रो विश्वास । हुन पनि चीनियाहरुको महत्वकांक्षा नै हेरांै न, अब त चीन विश्वबजार कब्जा गर्र्न ‘वन रोड वन बेल्ट’ (एकै बाटो एकै पाटो) नीतिअनुसार ‘सिल्क रोड’ आर्थिक क्षेत्र बनाउन लागिपरेको छ । विश्व भरका विद्यार्थीलाई छात्रवृत्ति दिएर पढाईरहेको छ, चीन सरकारले । अन्ततोगत्वा त्यसको उद्घेश्य व्यापार प्रर्बद्धन नै हो । राष्ट्र हितको दिर्घकालिन रणनीति, हाम्रो नेता, कर्मचारी, बौद्धिक सर्कल र हामी आम नेपालीले यस्तो सोच्ने चै कहिले देखि होला, बरु म यस्तै आफनै प्रश्नमा अनुत्तरीत रहिरहेको छु ।
वास्तबमा भन्ने हो भने चीन भूभागका हिसाबले रुस, क्यानडा र अमेरिका भन्दा सानो छ तर जनसंख्याका हिसाबले भने यो विश्वकै सबैभन्दा ठूलो देश हो । अर्थतन्त्रका हिसाबले यो अमेरिकापछि दोस्रो स्थानमा पुगीसकेको छ । चीन आएको महिना दिनपछि लाग्दैछ, व्यवस्थापन र अनुशासनका हिसाबले पनि यो देश अब्बल रहेछ । हाम्रो जस्तै भौगोलिक विकटता हु‘दाहँुदै पनी चीनले हरेक क्षेत्रमा लोभलाग्दो प्रगती गरेको छ । तसर्थ हाम्रा नेता र कर्मचारीले चीनले गरेको तीव्र विकासलाई नजिकबाट नियाल्नै पर्छ । र यहाँबाट पनि सिप, प्रविधिको सहायता लिँदै दृढ ईच्छाशक्ति राखेर हामीले हाम्रो देशमा आर्थिक क्रान्ति गर्न अब पछी पर्नुहुँदैन । आर्थिक विकासका दृष्टिले हामी गरिबी र पछौटेपनबाट मुक्त हुन नसक्नुका कारण बेलैमा पहिचान गरी उन्नत भविष्यको मार्गचित्र कोर्न हामीले अब कत्ति पनि ढिला गर्न हुँदैन । अन्यथा भावी सन्ततिले केवल नेताजी र कर्मचारीतन्त्रलाई मात्रै हैन, हामी सबै सचेत जनलाई धिक्कार्ने छन् ।

सांघाई , चीन

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij