देशलाई स्थिर बनाउने संकल्प लिएर म यतिबेला चुनावी मैदानमा होमिएको छु । बारम्बार सरकार बदलिने अवस्थाले हाम्रो विकास रोकेको छ, योजना अधुरा बनाएको छ, युवाको भविष्य अन्योलमा पारेको छ। अब यो अवस्था बदल्नैपर्छ भन्ने विश्वासका साथ म चुनावी मैदानमा उत्रिएको छु।
देशलाई अहिले सबैभन्दा आवश्यक रहेको कुरा भनेको राजनीतिक स्थायित्व हो । स्थिर सरकार बिना विकास सम्भव हुँदैन रहेछ हामीले अनुभव गरिसक्यौं । हामीले सडक, शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारीका धेरै योजना बनायौँ, तर अस्थिरताले ती सबै रोकिए अर्थात् पूर्णता पाउन सकेनन् । त्यसैले यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, देशको दिशा तय गर्ने अवसर बन्नुपर्छ ।

म भक्तपुरलाई नमुना विकास क्षेत्र बनाउने लक्ष्य लिएर चुनावी अभियानमा अघि बढेको छु । यहाँ आधुनिक पूर्वाधार, व्यवस्थित शहर, गुणस्तरीय शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न चाहन्छु। मेरा लागि विकास भनेको केवल भवन बनाउनु होइन, युवाको भविष्य सुरक्षित बनाउनु पनि हो । म चाहन्छु — यहाँका युवा विदेश जान बाध्य नहोउन्, आफ्नै ठाउँमा सम्मानजनक अवसर पाउन सकुन् ।
म विश्वास गर्छु, देश परिवर्तन गर्ने शक्ति युवा नै हुन् । त्यसैले म युवालाई निराशा होइन, नेतृत्वमा देख्न चाहन्छु । राजनीतिलाई गाली गर्ने होइन, सुधार गर्ने जिम्मेवारी हाम्रो पुस्ताले लिनुपर्छ भन्ने मेरो धारणा छ । म संविधान, लोकतन्त्र र जनताको अधिकारलाई बलियो बनाउने पक्षमा छु।

हामीले संघर्ष गरेर प्राप्त गरेको व्यवस्था कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन दिनुहुँदैन । म तपाईंहरूसँग केवल मत मागिरहेको छैन, म साथ मागिरहेको छु — स्थिर, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणको यात्राका लागि । तपाईंहरूको विश्वास नै मेरो शक्ति हो, र त्यो विश्वासलाई विकास र काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गदर्छु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij