२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

रेडपाण्डा र थार महोत्सवका सबै तयारी अन्तिम चरणमा

रेडपाण्डा र थार महोत्सवका सबै तयारी अन्तिम चरणमा

खोटाङ, २९ चैतः ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को अवसरमा खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ का लागि सबै तयारी लगभग पूरा भइसकेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा आयोजना हुने यो महोत्सवको मूल उद्देश्य लोपोन्मुख रेडपाण्डा र थार समुदायको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो।

महोत्सव मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङ क्षेत्रमा हुने छ। महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक परिकार, पोशाक, रहनसहन र स्थानिय उत्पादन प्रदर्शनी गरिने छ। साथै, स्थानीय स्रोतसाधनबाट बनेका सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर र भिडियोलाई प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत अभिनेता दयाहाङ राईको प्रमुख आतिथ्यमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ को औपचारिक शुभारम्भ गरिने कार्यक्रम तय गरिएको छ।

गत पुसदेखि सुरु गरिएको भ्रमण वर्षको क्रममा आन्तरिक तथा बाह्य गरी करिब एक लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ। किराती संस्कृति र परम्परासँग गाँसिएको यो ट्रेललाई सरकारले प्रमुख १०० पर्यटन गन्तव्यमध्ये एकको रूपमा सूचीकृत गरेको छ।

यही अवसर पारेर खोटाङ र भोजपुर जिल्लाका विभिन्न स्थानीय तह तथा संस्थाहरूले समेत आ–आफ्नो क्षेत्रका विशेषता झल्काउने विविध महोत्सव आयोजना गर्दैछन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा ‘हनी हन्टिङ तथा गोठस्टे महोत्सव’ र साकेला गाउँपालिकाले ‘उँधौली–उँभौली साकेला’ महोत्सवको तयारी गरेका छन्।

त्यस्तै, भोजपुर नगरपालिकामा अल्ट्राम्याराथन तथा माउन्टेन साइक्लिङ प्रतियोगिता, साल्पा सिलिछो गाउँपालिकामा ‘नाछोङ धामी साहित्यिक महोत्सव’, षडानन्द नगरपालिकामा ‘रुद्राक्ष महोत्सव’ र महाकुलुङ गाउँपालिकामा ‘चाकचाकुर महोत्सव’ आयोजना गरिनेछ।

मुन्दुम ट्रेल खोटाङ र भोजपुरको सीमामा पर्ने तीन हजार मिटरभन्दा माथिका भूभागहरू हुँदै विस्तार भएको छ। टेम्केडाँडा (३,१६५ मि.), साल्पा पोखरी (३,७५० मि.) र सिलिचुङ (४,१६५ मि.) सम्म पुग्ने यो ट्रेल पर्यटकहरूको लागि रोमाञ्चक गन्तव्य बन्दै गएको छ। विदेशी पर्यटकले करिब १३ दिन र नेपालीले करिब १० दिनमा ट्रेल पुरा गर्न सक्ने अध्यक्ष रमेश राईले बताउनुभयो।

महोत्सव र पर्यटन प्रवर्द्धनका यी प्रयासहरूले मुन्दुम ट्रेलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल बढाउँदै लोपोन्मुख जातजातिको पहिचान संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij