काठमाडौं, २७ चैतः एशियाली विकास बैंक (ADB) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.४ प्रतिशत रहने अनुमान गरेको छ। गत वर्षको ३.९ प्रतिशत वृद्धिको तुलनामा यो सामान्य सुधार हो। आगामी वर्षमा भने आर्थिक वृद्धि दर अझै बढेर ५.१ प्रतिशत पुग्ने एडीबीले प्रक्षेपण गरेको छ।
एडीबीका नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनका अनुसार, अमेरिका र एसिया–प्रशान्त क्षेत्रबीचको व्यापारिक नीतिले क्षेत्रीय आर्थिक वृद्धि दरमा असर पारेको छ। अमेरिकी नीतिगत परिवर्तनहरूका कारण अनिश्चितता बढेको र त्यसले आर्थिक वृद्धिको अनुमान घटाएर ४.९ प्रतिशतमा झारेको उनले बताए।
ADB ले अमेरिकाको आर्थिक वृद्धि दर यो वर्ष २ प्रतिशतमा सीमित हुने र आगामी वर्ष थप घटेर १.९ प्रतिशतमा पुग्ने सम्भावना देखाएको छ। यस नीतिको असर चीनमा गहिरो पर्न सक्ने प्रक्षेपण गरिएको छ, किनभने चीन र अमेरिका गम्भीर व्यापारिक द्वन्द्वमा फसेका छन्।
यद्यपि, दक्षिण एशियाको आर्थिक वृद्धि भने गत वर्षको ५.८ प्रतिशतबाट बढेर ६ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ।
नेपालको सन्दर्भमा उत्पादनमूलक क्षेत्रमा विशेष सुधार हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा निर्माण क्षेत्रमा कर्जा प्रवाह ७.७ प्रतिशतले बढेको छ, जसले उद्योग क्षेत्रमा थप लगानीको सम्भावना बढाएको छ। नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काका अनुसार, ऊर्जा क्षेत्रले यस वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, चालु वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। मूल्यवृद्धिको दर यस आर्थिक वर्षमा ५.२ प्रतिशतमा सीमित रहनेछ भने आगामी वर्ष यो दर ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै, पर्यटन आगमनमा भएको वृद्धिले सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने देखिएको छ। साथै, व्यापार तथा पारवहन क्षेत्रको समेत राम्रो योगदान रहनेछ। हालै भएको कानूनी सुधारले पनि लगानीको वातावरण सुधार्ने र सेवा क्षेत्रको वृद्धिमा सहयोग पुग्ने एडीबीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij