२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

चोरी भई अमेरिका पुगेका २१ पुरातात्विक वस्तु नेपाल फिर्ता

चोरी भई अमेरिका पुगेका २१ पुरातात्विक वस्तु नेपाल फिर्ता

 

काठमाडौँ, १७ चैतः विगतमा चोरी भएर अमेरिका लगिएका २१ वटा पुरातात्विक महत्वका सांस्कृतिक धरोहर नेपालमा पुनः फिर्ता भएका छन्। फिर्ता गरिएका वस्तुहरूमध्ये तीनवटा पौवा चित्र (१५–१८ औँ शताब्दी) विसं २०३७ मा काठमाडौँको इटुम्बहालबाट हराएका थिए।

त्यस्तै, नवौँ शताब्दीमा निर्मित स्थानक बुद्धको प्रस्तर मूर्ति बुङ्मतीको मच्छिन्द्रबहाल परिसरबाट चोरी भएको थियो। यस्तै, आर्ट इन्स्टिच्युट अफ सिकागोबाट फिर्ता गरिएको पाटनको गुइत टोलमा रहेको गुइत चैत्यको मुछलिन्द बुद्धको प्रस्तर मूर्ति (१२÷१३ औँ शताब्दी) पनि यस सूचिमा सामेल छ। साथै, अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औँ शताब्दी) नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुर्‍याइएका थिए।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित घरबास सुरक्षा अनुसन्धान विभाग र म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयको पहलमा यी सांस्कृतिक वस्तुहरू फेला पारिएको नेपाल पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो।

फागुन १६ गते, न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई यी कलात्मक वस्तु हस्तान्तरण गरिएको थियो। नेपाल पुरातत्व विभागले यी वस्तुहरूको उत्पत्तिस्थल नेपाल भएको प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुनअनुसार ती वस्तु नेपाल फिर्ता भएका हुन्।

पुरातात्विक वस्तुहरू फिर्ता गराउन नेपाल सम्पदा पुनःस्थापना अभियान, आर्ट इन्स्टिच्युट अफ सिकागो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल प्रहरी (इन्टरपोल शाखा), नेपालस्थित अमेरिकी राजदूतावास, लस्ट आर्ट्स अफ नेपाल, केशचन्द्र महाविहार संरक्षण समाज, इटुम्बहाल र अन्य संघसंस्थाले महत्वपूर्ण भूमिका खेलेका छन्। साथै, न्यूयोर्कस्थित नेवाः गुठीले यी वस्तु नेपालसम्म ल्याउन आर्थिक सहयोग प्रदान गरेको छ। यस योगदानका लागि पुरातत्व विभागले नेवाः गुठीलाई धन्यवादसहित प्रशंसा पत्र प्रदान गरेको छ।

नेपाल प्राचीन कालदेखि नै समृद्ध सांस्कृतिक सम्पदाहरूको धनी मुलुक हो। यहाँका लिच्छवि तथा मध्यकालीन कलाकृतिहरू विशिष्ट र विश्वप्रसिद्ध छन्। विगतदेखि नै यस्ता कलाकृति चोरी भएर विदेश पुर्‍याउने क्रम चल्दै आएको देखिन्छ। सन् १९५० पछि नेपालबाट विभिन्न सांस्कृतिक सम्पदा बाहिरिएको भए पनि त्यसको यथार्थ अभिलेख छैन।

सन् १९५० पछि सांस्कृतिक सम्पदाहरूको चोरीनिकासी तीव्र भएको थियो। समयक्रमसँगै यी मूर्तिहरूको धार्मिक तथा सांस्कृतिक महत्वका कारण तिनलाई पुनः मूल स्थानमा प्रतिस्थापन गर्नुपर्ने विश्वव्यापी मान्यता विकसित भएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूले चोरी गरिएका सांस्कृतिक सम्पदाहरूलाई मूल देशमा फिर्ता गर्नुपर्ने व्यवस्था गरेका छन्।

सन् १९८६ बाट नेपालले हराएका पुरातात्विक तथा कलात्मक वस्तु फिर्ता ल्याउने प्रक्रिया थालेको हो। अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट १७७ थान पुरातात्विक महत्वका मूर्ति तथा कलाकृति नेपाल फर्किसकेका छन्।

हाल नेपाल सरकार अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलिया लगायतका देशहरूसँग थप सांस्कृतिक सम्पदा फिर्ता ल्याउने कूटनीतिक पहल गरिरहेको छ। अमेरिका मात्रबाट फिर्ता गरिएका पुरातात्विक वस्तुको संख्या १०४ पुगेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij