काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होली पर्वजस्ता चाडपर्वहरूले समुदायबीच आपसी मेलमिलाप र सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
पहाडी तथा हिमाली क्षेत्रमा आज र तराई-मधेसमा भोलि उल्लासपूर्वक मनाइने फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्ता चाडपर्वहरूले समाजलाई एकताबद्ध गर्ने उल्लेख गर्नुभएको छ।
उहाँले शुभकामना सन्देशमा विभिन्न भाषा, धर्म, तथा संस्कृतिका मान्यताहरूलाई संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्न प्रेरित गर्नुका साथै फरक जाति र समुदायको परम्परा तथा आत्मसम्मानको कदर गर्न जरुरी रहेको बताउनुभएको छ।
“रङहरूको पर्वका रूपमा प्रसिद्ध होली विभिन्न वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिका भावनालाई एकसाथ समेट्ने चाड हो,” उहाँले भन्नुभयो, “अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो। नेपालका हरेक जातजाति तथा धार्मिक समुदायका मौलिक परम्परा र पर्वहरूको आफ्नै विशेष महत्त्व छ, जसले हाम्रो सामाजिक एकता मजबुत बनाउँछ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij