काठमाडौं, २३ माघः फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज होस् भन्ने उद्देश्यले कम्पनीले आफ्नो सेवा विस्तार गरेको हो ।
सुरुवातमा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुरको सानेपाबाट ४ किलोमिटरको क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् ।
फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले “हामी सधैँ आफ्ना ग्राहकहरूको जीवनलाई अझ सहज बनाउने उपायको खोजीमा छौँ । ललितपुरमा फुडमाण्डु वानमार्टको सेवा विस्तार गर्नु हाम्रो लागि थप अर्को एक सिढी हो जसले अब त्यस क्षेत्रका ग्राहकवर्गको दैनिक किनमेललाई पनि खाना अर्डर गरे जस्तै सजिलो बनाउनेछ” भन्नुभयो ।
यस विस्तारसँगै फुडमाण्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना रहेको बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij