काठमाडौँ, २९ चैतः नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सुविधा नपुगेका गाउँपालिका र नगरपालिका क्षेत्रका वडामा उच्च गतिको ब्रोडब्यान्ड सेवा पुर्याउने तयारी गरेको छ। यसका लागि प्राधिकरणले सम्बन्धित वडाहरूको विस्तृत विवरण संकलन गर्ने प्रक्रिया सुरु गरेको छ।
बिहीबार प्रकाशित सूचनामा प्राधिकरणले गाउँ तथा नगरपालिकाका कार्यालयदेखि वडा कार्यालयसम्म अप्टिकल फाइबर, वायरलेस वा भीएस्याट प्रविधिको प्रयोग गरेर इन्टरनेट विस्तार गरिने जनाएको छ। सो कार्यका लागि ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरिनेछ।
यस परियोजनाअन्तर्गत पहिलेका योजनामा छुटेका, वा दुई वर्षको निःशुल्क सेवा अवधि समाप्त भएपछि निरन्तर सेवा नपाएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विवरण सङ्कलन भइरहेको छ।
विवरण प्राप्त भएपछि सेवा प्रदायक चयन प्रक्रिया अगाडि बढाइनेछ र त्यसपछि ती क्षेत्रहरूमा ब्रोडब्यान्ड सेवा विस्तार गरिनेछ। सूचना प्रविधिको उपयोग र डिजिटल रूपान्तरणलाई टेवा दिन यो परियोजना अघि बढाइएको प्राधिकरणले स्पष्ट पारेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij