काठमाण्डु – यातायात व्यवस्था कार्यालय सुकेधाराबाट जारी भएका करिब २ हजार सवारी चालक अनुमतीपत्र (लाइसेन्स) खारेज हुने भएका छन् । नक्कली कागजपत्रका आधारमा जारी भएका लाइसेन्स खारेज गर्न लागिएको हो ।
विदेशी लाइसेन्स नेपालीकरणका नाममा सुकेधाराबाट करिब २ हजार ६ सय लाइसेन्स जारी भएका थिए । विदेशस्थित नेपाली दूतावासहरुको नक्कली पत्रका आधारमा ती लाइसेन्स जारी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलिसकेको छ । ८० हजार रुपैयाँसम्म लिएर त्यसरी लाइसेन्स ‘बिक्री’ गरिएको थियो। आयोगले यातायात कार्यालयका ३ कर्मचारी र एक लेखापढी व्यवसायी विरुद्ध मुद्दा दायर गरिसकेको छ ।
यातायात व्यवस्था कार्यालय, सुकेधाराबाट एक वर्षमा करिब २ हजार ६ सय लाइसेन्स नेपालीकरण गरिएको थियो । विदेशमा लाइसेन्स लिएको खण्डमा पुष्टि गर्ने कागजपत्र भएमा नेपालमा ट्रायल दिनु नपर्ने प्रावधान छ । जसलाई लाइसेन्सको नेपालीकरण भनिन्छ । त्यही प्रावधानको दुरुपयोग गरी विदेश नै नगएका व्यक्तिहरुलाई समेत नक्कली कागजपत्रका आधारमा लाइसेन्स बनाइएको थियो ।
सम्बन्धित देशस्थित नेपाली दूतावासको पत्र तथा त्यो देशमा गएको भिसा लगायत प्रमाण पेश गर्नुपर्ने भएपनि नक्कली कागजपत्रका आधारमा लाइसेन्स जारी भएको थियो । त्यसरी जारी भएका सबै लाइसेन्स खारेज गर्ने विभागको तयारी छ । ठूला सवारी साधनको लाइसेन्स लिन कठिन भएकाले मोटो रकम खर्च गरेर नेपालीकरणका नाममा लाइसेन्स बिक्री भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij