२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

हराएका २० वटा सवारी साधन मालिकहरुलाई हस्तान्तरण

हराएका २० वटा सवारी साधन मालिकहरुलाई हस्तान्तरण

काठमाडौँ, २७ फागुनः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरेर तिनका वास्तविक मालिकहरुलाई आज हस्तान्तरण गरेको छ। रामशाहपथस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ वटा मोटरसाइकल र १४ वटा स्कुटर सवारीधनीलाई फिर्ता गराएका हुन्।

प्राप्त निवेदनका आधारमा सुरु गरिएको खोजीमा काठमाडौँका प्रमुख स्थानहरू—युएनपार्क, एयरपोर्ट, नयाँ बसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दीपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारमा ती सवारी साधन फेला परेका छन्। प्रहरीले सवारी साधनहरूलाई वास्तविक र नक्कली नम्बर प्लेट सहित खोजी गर्दै तिनको पहिचान गर्न सफल भएको जनाएको छ।

यसैगरी, चालु आर्थिक वर्षको अबधिमा काठमाडौँ ट्राफिक प्रहरीले ३३७ वटा हराएका सवारी साधन खोजेर तिनका मालिकलाई जिम्मा लगाइसकेको छ। साथै, ३६ वटा चोरी भएका सवारी साधन र तिनमा संलग्न ५३ जनालाई पक्राउ गरि आवश्यक कारबाही अघि बढाइएको छ।

सवारीधनीहरूले सवारी साधन फिर्ता पाएपछि ट्राफिक प्रहरीलाई कृतज्ञता व्यक्त गरेका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ४९९ र यस आर्थिक वर्षमा ४१७ वटा हराएका सवारी साधन खोजी गरेर मालिकलाई बुझाइएको छ।

सवारी साधन चोरी र हराउने घटनाबाट बच्नका लागि ट्राफिक प्रहरी उपरिक्षक दिपक गिरीले सुरक्षित पार्किङ र सुरक्षा उपायहरू अपनाउनका लागि सवारीधनीलाई सुझाव दिएका छन्। उनले ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरन जडान गरी सवारी साधनको सुरक्षा सुनिश्चित गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij