२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्वरोजगारमूलक व्यवसायको रुपमा गार्मेन्ट, महिला संलग्नता बढ्दो

स्वरोजगारमूलक व्यवसायको रुपमा गार्मेन्ट, महिला संलग्नता बढ्दो

शुशिला श्रेष्ठ-सागर लामा, सञ्चालक, द क्लोथिङ गार्मेन्ट, (तारकेश्वर)

१ बर्ष पहिले देखि सञ्चालनमा आएको द क्लोथिङ गार्मेन्टले हाल विभिन्न आइटमका कपडाहरु उत्पादन गर्दै आएको छ । तारकेश्वरको शान्तिटोल नजिकै शिवमन्दिर छेऊमा कारखाना रहेको यस गार्मेन्टले यस बर्षको जाडो यामलाई लक्षित गरेर विभिन्न ज्याकेट लगायतका विभिन्न डिजाइनका कपडाहरु बजारमा ल्याइरहेको छ ।

हाल ६ जना कर्मचारी रहेको यो गार्मेन्ट १ बर्ष पहिले देखि सञ्चालनमा आएको हो । करिब १० लाख रकमको लगानीमा सञ्चालनमा आएको यस गार्मेन्टको सञ्चालन नुवाकोटका सागर लामा र उनकी श्रीमती शुशिला श्रेष्ठ दम्पत्तिले सञ्चालन गरेको हो । यस गार्मेन्टबाट उत्पादित सामानहरु काठमाडौंका न्यूरोड लगायतका मुख्य शहरी क्षेत्रबाट होलसेल बजारको माध्यमबाट बजारीकरण हुँदै आएको सञ्चालनक सागर थापा बताउँछन् । यसको साथै उनीहरुले तारकेश्वरकै लामबगरमा सडक छेउमा आफ्नै कपडा पसल समेत सञ्चालन गर्दै आएकाछन् ।

समय–समयमा कन्स्ट्रक्सनको काम समेत गर्दै आएका सागर अधिकांश समय बाह्य काममा नै व्यस्त हुने गर्छन् । जसले गर्दा घरपरिवार देखि फ्याक्ट्री र पसल सम्मको रेखदेख गर्ने मुख्य जिम्मेवारी श्रीमती शुशिलाकै हुने गर्छ ।

नेपालमा नै रहेर काम गर्ने मनसिकता हुने हो भने यहीँ नै काम गर्न सकिँदो रहेछ । सधैं परिस्थिति अनुकुल नभएपनि नेपालमा नै रहेर काम गर्दा केही चुनौती आउनु त सामान्य नै हो । यद्यपि परिवार सँगै रहने र दुखसुखमा साथ दिने अवस्था समेत हुने भएको कारण अहिले यो दम्पत्ति नेपालमा नै रहेर काम गर्ने वातावरण बनेकोमा सन्तुष्ट छ ।
नेपालमा नै अवसरहरु भएको तर अधिकांश नेपालीहरु नेपालका अवसरहरुलाई सदुपयोग गर्न नसकेको कारण विदेशमा नै गइरहेको परिस्थितिमा सागर र शुशिलाले जस्तै सानै लगानीबाट पनि कुनै इलम गर्ने हो भने नेपालमा आफ्नै देशमा नै रहेर राम्रो आय गर्न सकिने र परिवारको रेखदेख तथा पारिवारिक वातावरणमा नै रमाउँदै आफ्नो जीविकोपार्जनलाई सहज बनाउन सकिने कुरा अन्य युवा वर्गले समेत शुशिला र सागरबाट सिक्नु जरुरी छ ।

प्रतिष्पर्धी बजार ः
अहिलेको समय प्रतिष्पर्धी छ । प्रतिष्पर्धी बजारमा टिक्नको निम्ति आफू पनि त्यसरी नै बजारको माग बमोजिम नयाँपनको अभ्यासमा निरन्तर रुपमा लागि नै रहनुपर्छ । यसो हुन नसके बजारमा आफ्नो अवस्था अगाडि आउन सक्दैन ।
साथै सानो लगानीबाट गरेको व्यवसायलाई विस्तार गर्न र सबैको पहुँचमा पु¥याउन समेत आफ्नो व्यवसायमा निरन्तर रुपमा लगनशिलता र इमान्दारिता भने व्यवसाय विस्तारको क्रममा समेत पालना गर्नैपर्छ ।

लगानी ः
गार्मेन्ट उद्योग सञ्चालनको निम्ति सबैभन्दा पहिले आवश्यक पर्ने मुख्य उपकरण त सिलाई मेसिन नै हो । यसको अलावा ओभरटेक मेसिन लगायत अन्य सामानहरु समेत आवश्यक पर्ने हुन्छन् । आफूले कति सामान (कपडा) उत्पादन गर्ने हो, त्यसै आधारमा सामानहरु खरिद गर्नुपर्ने हुनाले लगानी पनि त्यही रुपमा नै हुने गर्छ । कपडा उत्पादनको निम्ति आवश्यक कच्चा पदार्थ नेपालमा उपलब्ध हुने अवस्था नरहेको कारण आयातित कपडाबाट नै तयारी वस्तु उत्पादन गरिनुपर्ने अवस्था छ ।

स्वरोजगारमूलक व्यवसाय ः
नेपालमा ठूला उद्योगहरुले प्रयाप्त रोजगारी दिन नसकेको, राज्यलेपनि रोजगारीको निम्ति पहल गर्न नसकेको, कतै जागिर वा रोजगारी गर्ने हो भने पनि उपयुक्त अवसरहरु नभएको अहिलेको अवस्थामा सिलाइबुनाई क्षेत्र स्वरोजगारको निम्ति नयाँ क्षेत्रको रुपमा विकास भएको छ । यस क्षेत्रमा हाल अधिकांश महिलाहरु नै आकर्षित भइरहेका छन् । खासगरी पछिल्लो समय विभिन्न संस्थाहरुले यस किसिमको तालिम निःशुल्क समेत उपलब्ध गराउँदै आएका छन् ।
निःशुल्क वा सामान्य शुल्कमा काम सिक्न सकिने र सानो लगानीबाट आफैं उद्यमी बन्न सकिने क्षेत्रको रुपमा विस्तार भएको यो क्षेत्र विगत भन्दा अहिले निकै नै परिष्कृत भइसकेको छ । कुनै जाती वा समुदायमा सीमित रहेको यस क्षेत्रलाई अहिले विभिन्न नामहरु दिन थालिएको छ । लगानी र प्रकृति अनुसार अनुसार सिलाइबुनाई क्षेत्रलार्ई गार्मेन्ट, बुटिक, टेलर्स लगायतका विभिन्न नामहरुले समेत चिनिने गरेको छ ।

सीपमूलक व्यवसाय भएको, ठूलो लगानीको आवश्यकता नपर्ने, एउटा मेसिन भए घरमा नै बसेर पनि काम गर्न सकिने, आफ्नो परिवार र नजिकका व्यक्तिहरुको आवश्यकता बमोजिम सामानहरु उत्पादन गर्ने लगायतको कारण अहिले नेपालमा गार्मेन्ट तथा सिलाइबुनाई क्षेत्र निकै नै विस्तार भइसकेको छ ।
जाडोलाई लक्षित ज्याकेटहरु बजारमा ः
अहिले जाडो मौसम शुरु भएको छ । त्यसैकारण अधिकांश गार्मेन्ट उद्योगहरुले जाडोलाई लक्षित ज्याकेट लगायतका सामानहरु उत्पादन गरिरहेका छन् । जाडोको निम्ति आवश्यक पर्ने सामानहरु बजारमा आइ नै रहेका छन् । त्यसरी नै उत्पादन समेत बढिरहेको छ । अहिले जाडो लक्षित विभिन्न स्तरका २५ सय देखि ४ हजार मूल्यका ज्याकेटहरु यस गार्मेन्टले पनि उत्पादन गर्दै आएको छ ।

शुशिलाको समय व्यवस्थापन ः
तारकेश्वर नगरपालिका वडा नम्बर ८ की वडा सदस्य समेत रहेकी शुशिलाको स्थानीय तहको निर्वाचन देखि दायित्व थपिएको छ । अहिले उनी एक व्यावसायीक महिलाको रुपमा मात्र सीमित छैनिन् । त्यसैकारण सधैं विहान १० बजे वडा प्रतिनिधिको हैसियतले वडा कार्यालय पुग्नैपर्छ । त्यसभन्दा पहिले पनि शुशिलाले आफ्नो फ्याक्ट्रीमा समय दिने गरेकी छिन् । पसल समेत सञ्चालनमा रहेको कारण पसल सञ्चालनको निम्ति अधिकांश समय उनी आफैंले नै दिने गरेकी छिन् । यद्यपि फ्याक्ट्री सञ्चालनको निम्ति शुशिलालाई आफ्नो भाईले सघाउँदै आएको कारण आफूलाई सहज भएको उनी बताउँछिन् । यसको साथै आफ्नो श्रीमानको समेत विशेष सहयोगमा व्यवसायमा होमिएकी शुशिला नेकपा (एमाले) निकट विभिन्न राजनीतिक गतिविधिहरुमा समेत आफूलाई संलग्न गराउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij