एक विशेष समारोह बीच अाज तारकेश्वरको डाँडागाउँमा सञ्चालित ज्ञानभूमी स्कुलले अभिभावक दिवस मनाएको छ ।
तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर वोहोरा, तारकेश्वर शिक्षा विभाग प्रमुख बाबुराम कालाखेती, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको आजको कार्यक्रममा विद्यालय गुणस्तरीय शिक्षाको अलावा कला, साहित्य, मनोरञ्जन, खेलकुद लगायतका विविध गतिविधिहरुको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहँदै आएकोमा जोड दिइएको छ।
आज विद्यालयले ८० बर्ष माथिका ६ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । यसबाट ज्येष्ठ नागरिकहरुको कदर हुने र उहाँहरुले सम्मानको महसुस गर्न सक्ने तथा नयाँ पुस्ताको निम्ति ऊहाँहरुबाट सकारात्मक पे्ररणा लिन सहज हुने विश्वास गरिएको छ ।
यसैगरी विद्यालयले फुटबल, रिले दौड, बास्केटबल लगायतमा उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरष्कार वितरण गरेको छ ।
आजको कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल गोविन्द भट्टले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो उद्धेश्य पूरा गर्ने कार्यमा अभिभावकहरुको महत्वपूर्ण सहयोग प्राप्त भएको कुराको खुलेर प्रशंशा गर्नुभएको छ । साथै आफ्ना बाबुनानीलाई विद्यालयमा पठाएर मात्र आफ्नो जिम्मेवारी पूरा नहुने भन्दै अभिभावकहरुलाई उनीहरुको प्रगतिको बारेमा निरन्तर रुपमा जानकारी लिएर जिम्मेवार अभिभावकको भुमीका निर्वाह गर्न समेत आग्रह गर्नुभएको छ ।
छोराछोरी स्थायी सम्पत्ति भएको बताउँदै प्रिन्सिपलले भन्नुभयो, ‘अभिभावक ज्यूहरु, तपाईसँग घर हुन सक्छ, गाडी हुन सक्छ, तर त्यो स्थायी नहुन सक्छ । तर तपाईंका बाबुनानीहरु तपाईंका स्थायी सम्पत्ति हुन् । त्यसैकारण आफ्नो स्थायी सम्पत्ति रक्षाको निम्ति नियमित रुपमा विद्यालयसँग सहकार्य गर्नुस् । हाम्रो दैनिक कार्यसम्पादनको मूल्याङ्कन गरी हामीलाई सल्लाह र सुझावहरु दिनुहोस् । जसले हामीलाई थप शशक्त रुपमा हाम्रा गतिविधिहरु अघी बढाउन सहज हुनेछ ।’
साथै ऊहाँले शिक्षा प्रदान गर्ने क्रममा विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध निकै नै महत्वपूर्ण हुने कुरामा समेत जोड दिनुभयो । काम गर्नेलाई प्रोत्साहनको समेत आवश्यकता रहने बताउँदै उहाँले सबैलाई कर्मशिल बन्न आग्रह गर्नुभएको छ । आफू पनि निरन्तर प्रतिवद्धता, निश्चित लक्ष्य र निरन्तरको अभ्यासको साथ शिक्षा प्रदान गर्ने कार्यमा निरन्तर संलग्न रहँदै आएको कुरामा जोड दिनुभएको छ ।
आजको कार्यक्रमका सभापति केशवराज पाण्डेले आफू ४० बर्ष देखि शिक्षा क्षेत्रमा रहँदै आएको बताउँदै यति लामो यात्रा पार हुनुमा शिक्षा प्रदान गर्ने क्रममा शिक्षकले विद्यार्थी प्रति जति निकटतम सम्बन्ध स्थापना गर्न सकिन्छ, त्यत्ति नै सहज तवरले ज्ञान बाँड्न सहज हुने आफ्नो अनुभव प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रममा ग्रिनफिल्ड स्कुलका प्रिन्सिपल खडग बस्नेत, टाइम्स स्कुलका प्रिन्सिपल पदम आरडि, माउन्ट रेडियन्ट स्कुलका प्रिन्सिपल एकनारायण महर्जन, एनप्याब्सन काठमाडौंका सदस्य रामबाबु सेढाईं, पिसल्याण्ड एकेडेमीका प्रिन्सिपल बासुदेव भट्ट, विद्यालयका पूर्व भाइस प्रिन्सिपल (हाल क्यानडा) विनोद कुमार सुवेदी लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij