काठमाडौँ, ३ चैत्र: जर्मनीस्थित मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले नेपालको लागि आफ्नो अधिकृत जीएसए (जनरल सेल्स एजेन्ट) प्रतिनिधि कम्पनीको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको छ। लुफ्थान्सा ग्रुपअन्तर्गतका तीन प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स— लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेशनल एयरलाइन्स, र अस्ट्रियन एयरलाइन्सका लागि नेपालमा जीएसएको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज जिम्मेवारी वहन गर्नेछ।
सम्झौताअनुसार, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले नेपालमा लुफ्थान्सा ग्रुपको रणनीतिक साझेदारको रूपमा काम गर्नेछ। यसले नवीनतम प्रविधिमा आधारित समाधानहरूमार्फत बिक्री तथा मार्केटिङ रणनीतिहरूलाई मजबुत बनाउनेछ। साथै, नेपालको बजारमा पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी समेत सोसाइटी इन्टरनेशनलले निर्वाह गर्नेछ।
लुफ्थान्सा ग्रुप, भारतकी जेनेरल सेल्स म्यानेजर संगिता शर्माले यसबारे आफ्नो धारणा राख्दै भन्नुभयो, “सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नेपालका लागि हाम्रो नयाँ जीएसए नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ। दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने उद्देश्यका साथ, हामी यस साझेदारीमार्फत नेपालमा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। सोसाइटी इन्टरनेशनलको उत्कृष्ट ट्र्याक रेकर्ड तथा सशक्त नेटवर्कका कारण हामीले यसलाई नेपालको जीएसए प्रतिनिधिका रूपमा चयन गरेका हौँ। यो सहकार्यले नेपालको बढ्दो बजारमा लुफ्थान्साको उपस्थितिलाई मजबुत बनाउनुका साथै हाम्रो ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो लक्ष्यलाई साकार पार्नेछ।”
आर.आर. ग्रुप अफ कम्पनीअन्तर्गत संचालित सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रबी चन्द्र सिंहले लुफ्थान्सा ग्रुपको नेपालस्थित अफलाइन जीएसए नियुक्त हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो। वहाँले भन्नुभयो, “हाम्रो नियुक्ति, नेपालको पर्यटन तथा यात्रा क्षेत्रमा हाम्रो अनुभव, सञ्जाल तथा सेवा स्तरको प्रमाण हो। लुफ्थान्सा ग्रुप जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय एयरलाइन्स समूहसँगको सहकार्यले हामीलाई नेपालमा अन्तर्राष्ट्रिय यात्रा अनुभवलाई अझ सहज र उन्नत बनाउन सहयोग गर्नेछ।”
लुफ्थान्सा ग्रुपको नेपालस्थित टिकट बिक्री पुनः सञ्चालनमा आउनु मुलुकको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि हुने सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनाएको छ। यसले नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि थप यात्रा विकल्पहरू उपलब्ध गराउँदै, अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाललाई विस्तार गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij