२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ, १७ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ ।

आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गर्नुभएको हो ।

अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बिमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो ।

मन्त्री पौडेलले स्वास्थ्य बिमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताउनुभयो ।

केही समयअघि सार्वजनिक गरिएको बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । स्वास्थ्य बिमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij