
काठमाण्डाै । शिखर पावर डेभलपमेन्ट कम्पनीले साधारण शेयर निष्कासनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रवन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे। कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य रु. १०० दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने सम्झौता पत्रमा उल्लेख छ।
२०७२ सालमा स्थापना भई २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको शिखर पावर डेभलपमेन्ट कार्यालय काठमााण्डौं जिल्लाको टोखा १०,महादेवटारमा अवस्थित छ।कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ। संस्थापक समूहको ७० प्रतिशत शेयर रहेको यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैयाँ बराबरको शेयर पूँजी चुक्ता भइसकेको छ।
कम्पनीले बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा “भिमखोला साना जलविद्युत आयोजना” निर्माण गरिरहेको छ। ४.९६ मेगावाटको उक्त आयोजनाको निर्माण झन्डै ६५ प्रतिशत सम्पन्न भइसकेको छ। कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना “लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना प्रवर्द्धन गरिरहेको छ। प्रवर्द्धित आयोजना ६.०५ मेगावाटको हुने छ।
भविष्यमा अरू पनि थप हाइड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्यको भनाई छ। कम्पनीमा मुख्य लगानीकर्ताका रुपमा शिक्षा,निर्माण व्यवसाय, बैंकिङ लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्याति प्राप्त व्यक्तिहरूको उपस्थिति छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij