
नेपालमा व्यवस्थित शहरीकरण आवश्यक छ भन्नेमा दृढ रहँदै आएका रामवीर मानन्धरको नाम शहरी विकास मन्त्रालयको निम्ति चर्चामा छ । यसपटक काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा निर्वाचित भएसँगै उनको नाम शहरी विकास मन्त्रीको रुपमा चर्चामा आउन थालेको हो ।
यद्यपि के रामवीर साँच्चै शहरी विकास मन्त्रालयको निम्ति उपयुक्त हुन सक्छन् त ? व्यवस्थित शहरीकरणको निम्ति उनका योजनाहरु के छन् ? भन्ने सम्बन्धमा नेपालीहरुबीच प्रश्न उठ्न थालेको अवस्थामा नेपालमा व्यवस्थित शहरीकरण सम्बन्धमा मानन्धरले यसै सेतोघर डट कम अनलाईन मार्फत आफ्नो विगतको पहल र भाव योजनाहरु सार्वजनिक गरेका छन् ।
अहिले व्यवस्थित रुपमा शहरीकरण गरिएको नयाँबजार टाउनप्लानिङको काम आफू गाविस अध्यक्ष भएकै समयमा अघी बढेको जानकारी दिँदै आगामी दिनमा स्मार्ट सिटी र स्याटेलाइट सिटी लगायतका अवधारणामा आधारित भई शहरी विकासका कामहरु आफ्ना योजनामा रहेको उनले बताए ।
नेपालका सबै क्षेत्रका राजधानीहरु निर्माण गर्ने क्रममा पानी र पूर्वपश्चिम सडकलाई विशेष रुपमा ध्यान दिन सके आगामी दिनमा मुलुकले छिट्टै नयाँ स्वरुप पाउन सक्ने उनको दावी छ ।
अहिलेका पहलहरु ः
काठमाडौं क्षेत्र नम्बर ७ को सांसदको रुपमा यस पटक प्रतिनिधिसभामा दोस्रो पटक निर्वाचित रामवीर मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ को वडा नम्बर १८ मा रहेको डुम्ब चोकमा हाउसपुलिङको अभियान अघी बढिसकेको र यसलाई व्यवस्थित तवरले अघी बढाउनको निम्ति निरन्तर सक्रिय रहेको बताउँछन् ।
स्मार्ट सिटी र स्याटेलाइटको योजना ः
स्मार्ट सिटी र स्याटेलाइट सिटीलाई व्यवस्थित रुपमा अघी बढाउनुपर्ने योजनामा छन् मानन्धर । व्यवस्थित र दिगो विकास निर्माणलाई अघी बढाउनको निम्ति सबै भन्दा पहिले पूर्वाधार निर्माण नै पहिलो सर्त हुनुपर्नेे भन्दै उनले अहिले काठमाडौंको २६ किलोमिटर लामो रिङरोड साँघुरो भएको कारण काठमाडौंको स्वरुप नै बिग्रिएको अवस्थामा यसलाई बढाएर ८ लेनको बनाउनुपर्ने बताए । सडक विस्तार त्यति सहज नभए पनि भविष्यलाई हेरेर केही जोखिम लिएर भएपनि अबको विकासकार्य अघी बढाउने आफ्नो योजना भएको उनले बताए । अहिलेको राजधानीलाई साँच्चीको राजधानी बनाई नयाँ स्वरुप दिनको निम्ति उक्त पहल आवश्यक रहेको समेत उनले बताए । जसबाट काठमाडौंमा मोनोरेल लगायतका अन्य विभिन्न योजनाहरु ल्याउन सहज हुने उनको धारणा छ ।
विकासप्रेमी नेता रामवीर मानन्धर नेपालमा पर्यटन, जलस्रोत, चलचित्र, कृषि, वन, खानी, जडिबुटी लगायतका अनेकौं सम्भावना हुँदाहुँदै पनि नेपालमा अहिले सम्म अस्थिर राजनीतिको कारण विकासले गति लिन नसकेकोमा मानन्धर चिन्तित छन् । राजनीतिक वातावरण राम्रो बन्न सकेको खण्डमा मुलुक समृद्ध बन्नको निम्ति लामो समय नलाग्ने बताउँदै अहिलेको बामगठबन्धन समृद्ध मुलुकको निम्ति अबकाे समय निकै महत्वपूर्ण कोशेढुङ्गा सावित हुने उनी बताउँछन् ।
काठमाडौंका नदीहरुको व्यवस्थापन ः
अहिले काठमाडौंका बाग्मती र विष्णुमती क्षेत्र ढलमय बनेका छन् । जुन आफ्नो बाल्यकालमा निकै स्वच्छ भएको उनी सम्झन्छन् । राम्रो तवरले व्यवस्थापन गर्ने योजना ल्याउन सके ती नदीहरुलाई पूर्ण स्वच्छ र नदी किनारलाई हराभरा बनाउन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने बताउँदै हामीले दीर्घकालिन अवधारणा बमोजिम ती काम अघी बढाउनुपर्ने उनी बताउँछन् ।
नदी किनारबाट व्यवस्थित तवरले ढलको निकास ः
अहिले प्रदुषित भइसकेका नदीहरुलाई पूर्ण स्वच्छ बनाउनको निम्ति सबैभन्दा पहिले नदीको किनारमा करिडोर बनाइ ढल नदीको किनारबाट व्यवस्थित तवरले विसर्जन गर्ने योजना ल्याउन आवश्यक रहन्छ । यसको साथै ट्रिटमेन्ट प्लान्ट लगाई केही हद सम्म पानी शुद्धिकरण गर्नु पनि त्यत्ति नै आवश्यक रहनेछ । यसो उपत्यकाको निम्ति आवश्यक खानेपानी व्यवस्थापनको निम्ति पनि महत्वपूर्ण योगदान पुग्ने मानन्धरको बुझाइ छ ।
यस्तो ट्रिटमेन्ट प्लान्टबाट काठमाडौंको चोभार भन्दा मुनिको क्षेत्रमा रहेका वस्तीहरुको निम्ति आवश्यक पर्ने पनी मध्ये पिउन र पकाउन बाहेकका अरु सबैजसो कामको लागि उक्त पानीलाई उपयोग गर्न सकिनेछ ।
फास्ट ट्रयाक र व्यवस्थित औद्योगिकीकरण ः
नेपालमा अहिले फास्ट ट्रयाक पनि निकै चर्चामा छ । फास्ट ट्रयाक निर्माण पश्चात् नेपालको आर्थिक विकासको निम्ति उक्त ट्रयाक निकै महत्वपूर्ण रहने अपेक्षा लिन सकिन्छ ।
फास्ट ट्रयाक निर्माणसँगै काठमाडौंको औद्योगिक क्षेत्रलाई अहिलेको बालाजु क्षेत्रबाट फास्ट ट्रयाक रहेको निजगढ क्षेत्रमा सार्नु उपयुक्त हुने, निजगढ सँगै अर्को निर्माणको क्रममा रहेको अर्को निजगढ विमानस्थलबाट प्रयाप्त लाभ लिन सकिने र यसबाट शहरीकरणमा पनि विशेष योगदान पुग्ने र सोही बमोजिम आफ्ना योजनाहरु तय हुने मानन्धरले बताएका छन् । यसको अलावा काठमाडौंबाट अघी बढाइएको काठमाडौं कुलेखानी हेटौंडा सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्न सके ३ नम्बर क्षेत्रको राजधानी हेटौंडामा बनाउन उपयुक्त हुने समेत उनले बताए ।
यसकारण मकवानपुर क्षेत्रमा ३ नम्बर प्रदेशको राजधानी ः
नारायणी र राप्ती क्षेत्र बीचको ७० किलोमिटर दूरीमा ३ नम्बर क्षेत्रको राजधानी शहर स्थापना गर्नु उपयुक्त हुनेछ । उक्त क्षेत्रमा रहेको पानीलाई व्यवस्थित तवरले प्रयोगमा ल्याउने मान्यता बमोजिम त्यस किसिमले शहरीकरणको निम्ति विशेष पहल गर्नुपर्ने मान्यतामा मानन्धर छन् । यी २ नदीहरुको बीचमा राजधानी बनाउन उपयुक्त हुने र यसबाट उक्त क्षेत्रलाई पूर्व–पश्चिम जोड्ने उपयुक्त ट्रान्जिट पोइन्ट बनाउन सकिनेमा समेत मानन्धर विश्वस्त छन् ।
२ नम्बर क्षेत्रको राजधानी जनकपुरमा ः
‘२ नम्बर क्षेत्रको राजधानी शहर जनकपुर नै उपयुक्त हुन्छ । यसको विकल्प खोज्नुपर्ने अवस्था नै छैन । वीरगञ्ज आफैंमा सानो छ । जुन भारतीय नाकाको निकट समेत छ । यसरी नै १ नम्बर क्षेत्रको राजधानी दमक क्षेत्रमा बनाउनु उपयुक्त हुन्छ । उक्त क्षेत्रमा अहिले पनि जग्गा खालि नै भएको कारण व्यवस्थित तवरले शहरीकरण गर्न सकिने राम्रो सम्भावना छ’ मानन्धरले बताए । साथै उनले अबको दिनमा विकासको निम्ति आफ्नो घरको निकटता मात्र नहेरी त्यसको दिगो विकासलाई पनि महत्वलाई रुपले हेर्नुपर्ने आवश्यकता औंल्याउँछन् ।
नयाँ शहर निर्माणको क्रममा आउन सक्ने समस्यालाई पहिले नै आँकलन गर्नुपर्नेमा उनको जोड छ । समय, आर्थिक व्यवस्थापन, प्राविधिक पक्ष लगायत सबैलाई व्यवस्थिजत तवरले अघी बढाउन सके शहरी विकास समयमा नै राम्रो तवरले टुंग्याउन सकिने उनको धारणा छ ।
सुर्खेतमा शहर निर्माणमा लामो समय लागेको बताउँदै उनले भने, ‘हामीले सुर्खेतमा हेर्ने हो भने त्यहाँ निकै नयाँ स्वरुपमा ठूलो व्यवस्थित शहर निर्माण भइरहेको छ । यद्यपि हामीले आँकलन गरे भन्दा बढी समय लागेको छ ।’
यसकारण स्याटेलाइट सिटी आवश्यक ः
हामीले नेपालमा कुन ठाउँलाई कुन क्षेत्रको रुपमा चिनाउने भन्ने किसिमले अबको विकासलाई जोड दिनु जरुरी छ । धार्मिक पर्यटन, अस्पताल क्षेत्र, शिक्षा, बैंकिङ, उद्योग, अटोमोबाइल, व्यापार लगायतको निम्ति शहरमा छुट्टाछुट्टै क्षेत्र तोकिनु जरुरी रहन्छ ।
जसरी चीन अहिले पनि ‘वन सिटी’ अवधारणा बमोजिम अघी बढेको छ । नेपालमा पनि त्यसरी पनि सबै किसिमका क्षेत्रहरु छुट्याउनु आवश्यक रहन्छ ।
नेपालमा व्यवस्थित पहल हुन नसक्दा अहिले नेपालको राजधानी क्षेत्रमा पनि शहर व्यवस्थित तवरले बन्न सकेको छैन । एउटै पसलमा सबै सामानहरु उपलब्ध छन् । यसलाई व्यवस्थित गर्नु जरुरी छ । त्यसरी नै हामीले स्मार्ट सिटी अवधारणा बमोजिम पूर्ण व्यवस्थित शहर स्थापना गर्नु आवश्यक छ ।
हाउजिङ र अपार्टमेन्ट ः
नेपालमा अहिले सञ्चालनमा आएका सबै भवनहरु प्राविधिक रुपमा पूर्ण स्वीकृत भएर मात्र निर्माण भएका छैनन् । यसकारण अबका दिनमा ती निर्माण सही तवरले निर्माण भएका छन् कि छैनन् भन्ने सम्बन्धमा पनि हामीले अध्ययन गर्नु जरुरी छ ।
हामीले प्राविधिक दृष्टिकोणले ती सबै भवनहरु उपयुक्त तवरले निर्माण भएका छन् कि छैनन् ? हाम्रो कमजोरी कहाँ रह्यो ? भन्ने सम्बन्धमा पनि हामीले विशेष तवरले अध्ययन गर्नु जरुरी छ ।
अहिले साँघुरो क्षेत्रको सानो जगमा असनमा ठूला अग्ला घरहरु बनाइएको छ । यसको व्यवस्थापन निकै कमजोर छ । प्राविधिकहरुले त्यसको व्यवस्थापन कसरी अघी बढाइएको छ भन्ने सम्बन्धमा अघी बढाउनु पनि त्यतिनै आवश्यक छ ।
नेपालमा अहिले अपार्टमेन्टको क्षेत्रमा करिब ४२ अर्ब बराबरको रकम लगानी भएको छ । उक्त लगानी निकै ठूलो लगानी हो । यस्तो अवस्थामा नेपालमा अपार्टमेन्टमा भएको लगानीलाई थप व्यवस्थापन गर्नु जरुरी छ ।
कार्यालय र आवसको लागि छुट्टै भवन योजना आवश्यक ः
मानन्धर भन्छन्, ‘विश्वमा चर्चित ट्विन टावरमा अहिले पनि मानिसहरु रातीको समयमा बस्दैनन् । नेपालमा पनि यस्ता ठूला अपार्टमेन्टहरुलाई मानिस बस्नको निम्ति नभई कार्यालय व्यवस्थापनको निम्ति मात्र प्रयोगमा ल्याउने कि ? कसरी उपयुक्त तवरले ती भवनहरुलाई व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि हामीले विचार गर्नु जरुरी छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij