फर्निचर एण्ड फर्निसिङ एसाेसिएसनकाे अायाेजनामा अाजबाट काठमाडाैंकाे भृकुटीमण्डपमा फर्निचर एक्स्पाे अायाेजना गर्न लागेकाे छ । असाेज ४ देखि ८ सम्म मेला सञ्चालन हुन लागेकाे छ । यसै सन्दर्भमा नेपालकाे फर्निचर व्यवसाय सम्बन्धमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीसँग कुराकानी गरेका थियाैं । पछिल्लाे समय नेपालमा फर्निचर क्षेत्रको दायरा निकै नै बढेको समेत बताउने गिरी राज्यले फर्निचर व्यवसायीले सिधै काठ चिर्न र टेण्डर गर्न पाउने व्यवस्था नगरिदिएको कारण यसबाट व्यवसायीहरुलाई अन्याय भएको बताउँछन् । साथै नेपाल सरकारको स्पष्ट नीतिको अभावको कारण नेपालमा आयातित फर्निचरको कारोबार बढिरहेको समेत उनले बताए ।
प्रस्तुत छ अध्यक्षसँगकाे विस्तृत कुराकानी ः

नेपालमा फर्निचर व्यवसाय कस्तो छ ?
नेपालमा फर्निचर व्यवसाय पछिल्लो समय निकै नै फस्टाइरहेको छ । नेपालमा उत्पादित फर्निचरजन्य वस्तुहरु निकै आकर्षित छन् । यद्यपि नेपालमा अहिले आवश्यक परिमाणमा काठ उपलब्ध भने हुन सकेको छैन । फर्निचर वनपैदावरमा आधारित व्यवसाय हो । तर नेपालको वनजङ्गलमा उपलब्ध काठको सही तवरले उपयोग भने हुन सकेको छैन ।
नेपालमा फर्निचरको निम्ति स्वदेशी उत्पादन र आयातको अवस्था कस्तो छ ?
नेपालमा आवश्यक फर्निचर मध्ये करिब आधा माग स्वदेशी फर्निचरबाट नै धानिँदै आएको छ भने आधा माग आयातित फर्निचरबाट धानिएको छ । नेपालमा फर्निचर व्यवसाय सम्बन्धमा राज्यको स्पष्ट नीतिको अभाव, औद्योगिक वातावरण बन्न नसक्नु लगायतको कारण नेपालमा आयात भइरहेको फर्निचरलाई रोक्न र नेपालमा नै उत्पादन बढाउन सकिएको छैन । नेपालको फर्निचर उद्योगलाई कसरी नयाँपन दिने भन्ने सम्बन्धमा अहिले सम्म राज्यले खासै चासो दिन नसक्दा यस्तो अवस्था आएको हो । नेपालमा भएको वनलाई राम्रो तवरले व्यवस्थित गर्दै वातावरण अनुकुल हुने गरी कारोवार गर्नु जरुरी छ । यसो हुनसके अझै केही समय हाम्रो माग नेपालमा उपलब्ध काठबाट नै धानिन सक्ने अवस्था छ ।
दक्ष जनशक्ति पाउन कत्तिको सजिलो छ ?नेपालमा अहिले यस क्षेत्रमा काम गर्ने जनशक्ति पाउन गाह्रो छ । नेपालमा भएका युवाहरु सामान्य कामको लागि पनि विदेश गइरहेका छन् । यद्यपि नेपालमा रहेर भने काम गर्ने प्रचलन निकै घटेको छ । अहिले पनि नेपालमा फर्निचर क्षेत्रमा ठूलो रोजगारी सृजना भएको छ ।
महासंघ स्थापनाको उद्धेश्य के हो ?
नेपालमा वि.सं. २०७० मा नेपाल फर्निचर व्यवसायी महासंघ स्थापना भएको हो । महासंघ व्यवसायीहरुका पीरमर्कालाई राज्य वा नियमनकारी निकायसँग पुर्याउने र व्यवसायीहरुलाई महासंघको दायरामा ल्याउने र सबै फर्निचर व्यवसायीहरुलाई राम्रो तवरले सञ्चालन गर्ने पहल हामीले गरिरहेका छौं । पछिल्लो समय नेपालमा फर्निचर व्यवसाय प्रति युवाहरुको आकर्षण बढिरहेको छ । साथै अहिले यस क्षेत्रको दायरा समेत निकै नै बढेको छ । यस्तो अवस्थामा हाम्रो महासंघले आफ्ना गतिविधिहरु अघी बढाइ नै रहेको छ ।
अहिले फर्निचरमा कस्ता–कस्ता व्यवसायीहरु संलग्न छन् ?
नेपालमा फर्निचर क्षेत्रमा काम गरिरहेका व्यवसायीहरु २ किसिमका छन् । एक किसिमका व्यक्तिहरु परम्परागत रुपमा नै यस क्षेत्रमा नै संलग्न छन् । अर्को थरी व्यक्तिहरु भने यस क्षेत्रमा नयाँ आएकाहरु पनि छन् । उनीहरुले लगानी र व्यवस्थापनको हिसाबले पृथक तवरले आएका व्यवसायीहरुले काम गरिरहेका छन् ।
नेपालमा फर्निचर व्यवसायमा नयाँ प्रविधिहरु भित्र्याउने तर्फ पनि केही सोच्नुभएको छ कि ?
हामी फर्निचर व्यवसायी संघ कास्कीको समन्वयनमा चीन भ्रमणमा गएका थियौं । चीनमा रहँदा हामीले अब नेपालमा चीनमा निर्माण भएका सामान निर्यात गर्ने नभई नेपालीहरुलाई नेपालमा नै उत्पादन कला सिकाउने बारे कुरा उठाएका थियौं । अर्थात हामीले चीनबाट नेपाललाई सीप र प्रविधि हस्तान्तरण गर्नुपर्ने र नेपालमा उत्पादित सामान चीनमा आयात गर्ने बारे आग्रह गर्दा चीनको सकारात्मक धारणा रहेको पाएनौं । ऊहाँहरुको धारणा थियो, ‘चीनमा नभई नेपालमा सामान उत्पादन गर्दा तपाईंहरुले नेपालमा उत्पादन गर्ने वस्तुहरुले मात्र हाम्रो आवश्यकता धानिन सक्दैन’ भन्ने कुरा गर्नुभयो । जसले गर्दा नेपालमा फर्निचर क्षेत्रमा आधुनिक सीप र प्रविधि हस्तान्तरण तथा लगानीमा विकासमा जान नसक्ने आशय हामीले पायौं ।
अहिले नेपालमा सञ्चालनमा रहेका फर्निचर उद्योगीहरुले काठ किन्ने क्रममा आफैंले टेण्डर हाल्न पाउने अवस्था छैन । साथै हामी आफैंले काठ चिरान गर्न पाउने अवस्था पनि छैन । यो हामी व्यवसायीहरुको निम्ति समस्या हो । नेपालमा राज्यको स्पष्ट नीति नभएको र व्यवसायीहरुले स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने अवस्था नभएको कारण यो व्यवसायले जुन तवरले काम गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन ।
अहिले हामी फर्निचर उत्पादनको हिसाबले हामी कुन अवस्थामा छौं ?
अहिलेको अवस्थामा हामी फर्निचर उत्पादनका परम्परागत मान्यताबाट अघी बढेका छौं । साथै हामी आधुनिक प्रविधिको प्रयोगमा समेत जान सकेका छैनौं । जसले गर्दा अहिले यो व्यवसाय प्रविधि विकासको हिसाबले सङ्क्रमणकालिन अवस्थामा छ । जसले गर्दा नेपालमा फर्निचर क्षेत्रमा ठूला आधुनिक प्रविधि भित्र्याउनको निम्ति पहल गर्ने कोसिस गरेका भएपनि त्यो सम्भव भएको छैन । यस्तो अवस्थामा अब हामी यस व्यवसायलाई कुन तवरले अघी बढाउने भन्ने बारे सोचिरहेका छौं ।
शैक्षिक कार्यक्रममा पनि फर्निचरजन्य क्षेत्रलाई समेट्नेबारे केही सोच्नुभएको छ ?
हो, अब हामीले विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि कार्पेन्टरी कोर्ष सञ्चालन गर्नु आवश्यक ठानेका छौं । यसबाट हाम्रो व्यवसायलाई नयाँ तवरले सञ्चालन गर्न सहज हुने अवस्था आउने थियो ।
अन्य केही पहल गर्नुपर्छ कि ?
नेपालमा अहिले बाहिरबाट आउने काठलाई रोक्ने बारे पनि विशेष पहल गर्नु जरुरी छ । यसो हुनसके नेपालमा बाहिरबाट आउने काठ मार्फत विदेशिने ठू्लो पुँजी रोक्न सकिने अवस्था छ । यसबाट रोजगारी सृजना र राजस्व लगायतबाट समेत ठूलो सहयोग पुग्नेछ ।
नेपालमा फर्निचर उद्योगका मुख्य समस्याहरु के के हुन् ?
अहिले नेपालमा सञ्चालनमा रहेका फर्निचर उद्योगीहरुले काठ किन्ने क्रममा आफैंले टेण्डर हाल्न पाउने अवस्था छैन । साथै हामी आफैंले काठ चिरान गर्न पाउने अवस्था पनि छैन । यो हामी व्यवसायीहरुको निम्ति समस्या हो । नेपालमा राज्यको स्पष्ट नीति नभएको र व्यवसायीहरुले स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउने अवस्था नभएको कारण यो व्यवसायले जुन तवरले काम गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन ।
नेपालमा अहिले फर्निचरजन्य क्षेत्रमा अर्बौं रकम लगानी भएको छ । तर यस क्षेत्रमा पुस्ता हस्तान्तरण समस्याको रुपमा देखिएको छ । हामी व्यवसायीहरु आफैंले पनि हाम्रा सन्तानहरुलाई यस क्षेत्रमा संलग्न गराउने बारे सोच्न सकेका छैनौं । विगत केही पहिले सम्म नेपालमा हामी व्यवसायीहरुले पनि काठ चिरान गर्न र टेण्डर लिन पाउने व्यवस्था रहेकोमा अहिले त्यसलाई परिमार्जन गरिएको कारण हामी यस व्यवस्थाबाट वञ्चित भएका छौं । यसै विषयलाई लिएर हामी मन्त्री लगायतसँग ज्ञापनपत्र पनि बुझाएका छौं ।
फर्निचर क्षेत्रको भविष्य कस्तो छ ?
अहिले नेपाल निर्माणको चरणमा नै छ । यस्तो अवस्थामा मुलुकका फर्निचरजन्य क्षेत्र फस्टाउनको निम्ति निकै राम्रो सम्भावना छ । निर्माणको निम्ति अहिले बाहिरिएको ठूलो धनराशी नेपालमा नै रोक्न हामी पनि प्रतिवद्ध छौं ।
फर्निचर क्षेत्रमा संलग्न व्यवसायीहरुको समग्र तथ्यांक के छ ?
अहिले सम्म तथ्यांक सङ्कलनको पहल भएको छैन । भर्खर मात्रै हामीले यस सम्बन्धमा अध्ययन गरिरहेका छौं । काठमाडौं उपत्यकामा मात्र नभएर देशका कुनाकन्दरामा फैलिएका व्यवसायीहरुको समग्र तथ्यांक सङ्कलन कार्य आफैंमा जटिल कार्य समेत हो ।
नेपालमा अहिले पनि थुप्रै व्यवसायीहरु बिना दर्ता सञ्चालनमा छन् । कतिपय छिमेकी मुलुकबाट आएका व्यक्तिहरुले विभिन्न तयारी सामाग्रीहरु बोकेर नै विभिन्न ठाऊँमा डुलेर व्यवसाय गरिरहेका छन् । कतिपय व्यक्तिहरुले घरायसी रुपमा व्यवसाय गरिरहेका छन् । उनीहरु सबैलाई समेट्ने गरी तथ्यांक सङ्कलन गर्नुपर्ने आवश्यक छ ।
यस व्यवसायमा अहिले स्पष्ट नीति नभएको कारण दायरा बाहिरका व्यवसायीहरुलाई समेट्न समेत समस्या उत्पन्न भएको छ । नेपालमा अहिले फर्निचर क्षेत्र मार्फत करिब ९० हजार व्यक्तिहरुलाई रोजगारी सृजना भएको एउटा तथ्यांकले देखाएको छ । हाल काठमाडौं उपत्यकामा फर्निचर व्यवसायमा करिब ९ सय व्यवसायीहरु संलग्न छन् । पोखरामा करिब ६ सय व्यवसायीहरु छन् । नेपालका सबै मुख्य शहरहरुमा गरी करिब १८–२० हजार व्यवसायीहरु यस क्षेत्रमा संलग्न भएको हुनुपर्छ ।
विगत र वर्तमानमा यो व्यवसाय कसरी परिवर्तन हुँदै आएको छ ?
विगतमा नेपालबाट यहाँ उत्पादित फर्निचर तथा कलाकौशलहरु विदेशमा समेत निर्यात भएको इतिहास छ । नेपालमा उत्पादित विभिन्न सामानहरु विगतमा पनि जापान, अमेरिका लगायतमा निर्यात हुँदै आएका थिए । तर अहिले भने नेपाल आयातमा निर्भर छ । यसो हुनुको मुख्य कारण भनेको हाम्रो नीतिगत व्यवस्थामा भएको कमजोरीले गर्दा नै हो ।
व्यवसायीहरुलाई केही भन्नु छ कि ?
हामी व्यवसायीहरु राप, ताप र अभाव बीच सञ्चालन भइरहेका छौं । अहिलेको अवस्था केही गाह्रो भएपनि आफू संलग्न क्षेत्रमा निरन्तर रुपमा लागिरहनु नै उपयुक्त हुन्छ । हामीसँग यस व्यवसाय बाहेक अन्य तरिकाहरु वा कार्यहरु गर्न सकिने अवस्था पनि छैन । यस्तो अवस्थामा यहाँ जस्तो अवस्था छ, त्यसैमा रहेर नै व्यवसायीहरुले कार्य गर्नु जरुरी रहन्छ ।
अबको समयमा नेपालमा नै उत्पादन हुने कच्चा पदार्थमा आधारित वस्तुहरुमा आधारित भएर सोही बमोजिम नयाँ उत्पादनहरुमा केन्द्रित हुनुपर्छ । यद्यपि अहिले सम्म भने नेपालमा फर्निचरजन्य सामान उत्पादन हुँदै आएका भएपनि प्रतिष्पर्धी बजारमा जान सक्ने गरी उत्पादन तथा बजारीकरणमा लाग्नु जरुरी छ ।
नेपालमा अहिले फर्निचर क्षेत्र मार्फत करिब ९० हजार व्यक्तिहरुलाई रोजगारी सृजना भएको एउटा तथ्यांकले देखाएको छ । हाल काठमाडौं उपत्यकामा फर्निचर व्यवसायमा करिब ९ सय व्यवसायीहरु संलग्न छन् । पोखरामा करिब ६ सय व्यवसायीहरु छन् । नेपालका सबै मुख्य शहरहरुमा गरी करिब १८–२० हजार व्यवसायीहरु यस क्षेत्रमा संलग्न भएको हुनुपर्छ ।
अन्त्यमा तपाईं केही भन्नुहुन्छ ?
नेपालमा अहिले भइरहेको लगानीलाई हेर्दा अनुत्पादक क्षेत्रमा लगानी वृद्धि भइरहेको पाइन्छ । यद्यपि अबका दिनमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने जरुरी छ । अहिले नेपालमा फर्निचर व्यवसायीहरुले मलेसियाबाट काठ किनेर १८–२० बर्ष सम्म व्याज तिरेर व्यवसाय गरिरहेका छन् । यस्तो हुँदा व्यवसाय सञ्चालन कार्य निकै चुनौतीपूर्ण बनेको छ ।
साथै नेपालका बैंकहरुले समेत उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा र फर्निचरको निम्ति मुख्य कच्चा पदार्थको रुपमा रहेको काठलाई व्यवस्थित गर्न नसक्दा व्यवसायीहरुले समस्या भोगिरहेका छन् । यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पनि परेको छ ।
अर्को महत्वपूर्ण कुरा जहाँ पुरानो घर भत्किएको छ, ती घरका काठ प्रयोग गर्न पाउने गरी व्यवस्था गरिनुपर्छ । विशेष गरी तराई क्षेत्रमा पुराना घरहरु भत्किए पश्चात् ती घरका काठहरु प्रयोग गर्न पाउने हो भने यसबाट सबै पक्षलाई लाभ मिल्ने थियो । तर विगत ४–५ बर्ष देखि नेपालमा यस्तो व्यवस्था रोकिएको छ । आखिर किन यस्तो भएको हो ? हामीले बुझिरहेका छैनौं । साथै यसबारेमा स्थानीय निकायहरुमा समेत हामीले पहल गरिरहेका छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij