२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वैदिक संस्कार माथि गरिएका वैज्ञानिक खोजका उपलब्धि महत्वपूर्ण छन्

वैदिक संस्कार माथि गरिएका वैज्ञानिक खोजका उपलब्धि महत्वपूर्ण छन्

जान्नुहाेस्, वैदिक संस्कार, मानवीय स्वास्थ्य र आर्थिक समृद्धिको अन्तरसम्बन्ध कस्ताे रहन्छ

दिपक प्रकाश बास्कोटा, अध्यक्ष, नेपाल महर्षि वैदिक फाउण्डेसन

भारतीय महान सन्त महेश योगीले पूर्वीय दर्शनको धरातलको रुपमा चिनिने वेदमाथि जीवनपर्यन्त अध्ययन गरी त्यसबाट आफूले पाएको ज्ञान विश्वभर बाँड्ने कार्यमा आफूलाई संलग्न गराउनुभयो । ज्योतिर्मठका जगत्गुरु सङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीको प्रमुख शिष्यको रुपमा रही वेदलाई सरलीकरण गरी वैज्ञानिक तवरले त्यसको व्याख्या गरी पश्चिमी समुदाय माझ व्याख्या विस्तार गर्ने निर्देशन उहाँले प्राप्त गर्नुभयो ।

सोही निर्देशन बमोजिम विभिन्न पश्चिमी देशहरुमा उहाँ भ्रमणको लागि जानुभयो । ज्ञान बाँड्दै घुमफिर गर्ने क्रममा उहाँले हल्याण्डलाई आफ्नो कर्मथलो बनाएर बस्नुभयो । उहाँ आफूले ज्ञान बाँड्ने क्रममा सृजना भएको दर्शन जुन पछि ‘ग्लोबल कन्ट्रि अफ वल्र्ड पिस’को रुपमा चर्चित हुन गयो । जुन कुरालाई वेदमा ‘वसुदैव कुटुम्बकम्’को नाममा उल्लेख गरिएको छ । संसारलाई नै एउटै परिवारको रुपमा अपनत्व अनुभुति गराउनु यसको उद्देश्य रहेको छ । त्यही मान्यता सहित सन्त महेश योगीले पनि संसारलाई नै सीमा रहित राष्ट्रको रुपमा विकास गराई मानव कल्याणको लागि ठूलो उपलब्धि प्रदान गर्नुभयो ।

पाश्चात्य साहित्यबाट विकास भएर विज्ञान र प्रविधि मार्फत संसारलाई भौतिक उपलब्धिको शिखरमा पुर्याइरहेका विश्वका महान् वैज्ञानिकहरुबीच पूर्वीय वैदिक संस्कारलाई पुर्याएर यस संस्कारको खोजमा होमिने वातावरण समेत तयार पार्नुभयो । पाश्चात्य वैज्ञानिकहरुको खोजबाट हाम्रा वैदिक ग्रन्थहरुमा व्यावहारिक एवं प्रयोगात्मक गहन विधिहरु रहेको पत्ता लाग्यो । जसले मानवीय जीवनलाई सहज, सुखद बनाई प्रेमभाव जागृत गराउन सक्छ ।

अहिले त्यही वैदिक संस्कार र ज्ञानको अनुसन्धानबाट प्राप्त उपलब्धिहरुको कार्यान्वयनको लागि विश्वव्यापी रुपमा सञ्जाल विस्तार भएको छ । यो अभियान महाऋषि वैदिक (महेश योगी) अभियानको रुपमा विश्वभर प्रचारप्रसार हुने क्रममा छ । यस अभियानमा अहिले विश्वभरबाट गहन खोज र अध्ययन कार्यमा जीवन समर्पित गर्न चाहने वैज्ञानिक, अनुसन्धाता, विद्यार्थी, शिक्षाविद् लगायत जोडिएर काम गरिरहेका छन् । यस महत्वपूर्ण अनुसन्धानबाट प्राप्त निचोडले वेदमा आधारित पूर्वीय ज्ञानलाई वैदिक विज्ञानको रुपमा समेत परिचित गराएको छ ।

नेपालमा महर्षि वैदिक फाउण्डेसनले महेश योगीले आफूले प्राप्त गरेको ज्ञान एवं वैज्ञानिकहरुसँगको पूर्ण अनुसन्धानबाट प्राप्त उपलब्धिलाई दिगो शान्ति र समृद्धिको लागि नेपालभर विस्तार गर्ने कार्यमा आफूलाई संलग्न गराउँदै आएको छ ।

अहिले यस फाउण्डेसन अन्तरगत संयुक्त राष्ट्र संघमा आवद्ध सबै सदस्य देशहरुमा यस किसिमको कार्यक्रम विस्तार हुँदै गइरहेको छ ।

नेपालमा विभिन्न योग, ध्यान, कर्मकाण्ड, यज्ञ लगायत आयोजना गर्दै आएको यस संस्थाले भावातित ध्यानलाई विशेष रुपमा प्रचार गर्दै आएको छ । साथै योग र यज्ञको माध्यमबाट नै हरेक समस्याको समाधान खोज्न सकिन्छ भन्ने कुरालाई व्यावहारिक अभ्यासबाट प्रमाणित गर्न यो कार्यक्रम विश्वभर सफल छ ।

हाल यस अभियानमा कुनै धर्म विशेषका व्यक्तिहरु मात्र नभई सबै जाती र धर्मका व्यक्तिहरु जोडिएर स्वतन्त्र रुपमा शाकाहार वैदिक जीवनशैली बाँचेर खुसी, शान्ति, आरोेग्यता र समृद्धि हासिल गरिरहेका छन् ।

सबै कार्यमा वैदिक प्रणाली सम्भव छ
वेदलाई ज्ञानको महासमुद्र मान्न सकिन्छ । जहाँ हामीले जे खोज्यौं त्यो चीज प्राप्त गर्न सकिन्छ । हामीले समाजलाई सच्चरित्रवान् बनाउने उद्धेश्यले नयाँ कुराको खोजी गर्नको लागि सबैभन्दा पहिले आफैंमा वैदिक ज्ञान हुनु जरुरी रहन्छ । त्यसको लागि वैदिक शिक्षा आवश्यक रहन्छ । चेतनामा आधारित शिक्षालाई वैदिक शिक्षा मान्ने गरिन्छ ।

वैदिक शिक्षा र संस्कारलाई हामीले जीवनशैलीको रुपमा अपनाउन सक्यौं भने मात्र हामीले खुसी र शान्ति प्राप्त गर्न सक्छौं । यसको दायरा असीमित छ । हामीले खाने खाना, पलपलमा लिने स्वास, विरामी हुँदा स्वास्थ्य लाभको लागि प्रकृतिमा आधारित जडिबुटीको प्रयोग र हाम्रो बानी व्यवहारमा परिवर्तनको माध्यमबाट मात्र हामीले चाहेको वास्तविक सुख प्राप्त गर्न सक्छौं ।

चेतना जागरणलाई मुख्य आधार बनाएर शिक्षा लिन सकेको खण्डमा त्यस्तो शिक्षा हाम्रो लागि बढी प्रभावकारी हुन सक्छ । जसबाट हाम्रो मष्तिष्कको सोच्ने दायरा अझ फराकिलो बन्न सकोस् ।

वैदिक कृषि प्रणाली
वैदिक कृषि प्रणाली पूर्वीय वैदिक दर्शनमा आधारित नेपालको लागि नयाँ विधि होइन । हाम्रो परम्परागत कृषि विधि पनि वैदिक प्राङ्गारिक नै थियो । यस किसिमको विधिलाई उत्पादन बढाउने नाममा ओझेलमा पारिएको छ । आधुनिक प्रविधिको नाममा भित्रिएका विषादी एवं रासायनिक पदार्थहरुले अहिले मानवीय स्वास्थ्यलाई निकै कमजोर बनाएको छ । यस्तो अवस्थामा हामी भित्र देखि नै सचेत बन्नुको कुनै विकल्प रहँदैन । बाह्य रसायन प्रयोग नगरिएको खाद्यान्नले मात्रै हामीलाई स्वस्थ बनाउँछ भन्ने सम्बन्धमा हामी सबैको ध्यान जान सकेको खण्डमा मात्र हामीले बाह्य औषधीको प्रयोग बिना नै स्वस्थ जीवनशैली व्यतीत गर्न सक्छौं । हाम्रो पृथ्वीले पनः प्राकृतिक स्वरुप पाउन सक्छ ।

यस्तो किन र कहिले सम्म ?
अहिले हामीले मातृभूमिलाई बिष खुवाएर उत्पादन राम्रो भएन भनेर एकले अर्कोले आरोप लगाउने अवस्था आएको छ । साँच्ची समाधान खोज्ने हो भने यसको लागि प्राङ्गारिक वैदिक कृषि प्रणाली अपनाउनुको विकल्प नै रहँदैन । जहाँ एक पक्षले अर्को पक्षलाई कुनै नोक्सानी नपुर्याई हाम्रो उत्पादकत्व बढ्न सक्छ भने हामीले स्वस्थ जीवनशैली समेत जिउन सक्छौं ।

वैदिक स्वास्थ्य

आयुर्वेदिक एवं प्राकृतिक उपचार विधि मार्फत सकभर मानवीय शरीरमा कुनै रोग नै लाग्न नदिने, रोग लागिहालेमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने, वैदिक आर्किटेक्ट भन्नाले भवन शिक्षा आर्जन, राजनीति, प्रशासन सञ्चालनको लागि निर्माण गरिने भवन वास्तु अनुसार निर्माण हुनुपर्छ, जसलाई वातावरणले साथ दिने किसिमको हुन्छ । जसले गर्दा समाजलाई शान्ति र समृद्धिको दिशामा हिँडाउँछ भन्ने मान्यता वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

वैदिक प्रशासन, वैदिक आर्थिक व्यवस्थापन, वैदिक सञ्चार प्रविधि लगायतका १२ ओटा विधा महर्षि महेश योगीबाट अघी बढाइएका कार्यक्रमहरु छन् । नेपालमा वैदिक जीवनशैली अन्तरगतका योग, ध्यान, प्राकृतिक शुद्ध भोजन लगायतका उपयोगी कार्यक्रमहरु अहिले नेपालमा नेपालमा पनि शुरु भएका छन् । यसरी ज्योतिष शास्त्रको ज्ञान पनि मानवीय जीवनमा निकै महत्वपूर्ण रहन्छ । जसले हाम्रो भविष्य बारे पहिले नै दिशानिर्देश गर्न सहयोग पुर्याउँछ ।

प्राङ्गारिक अभियान र वैदिक ज्ञान विस्तार सँगसँगै
प्राङ्गारिक अभियानमा बास्कोटा निकै लामो समय देखि संलग्न रहँदै आउनुभएको छ । जैविक विधिबाट चिया उत्पादन कार्य गर्दै आउनुभएका बास्कोटालाई योगी महर्षिसँगको भेटले नयाँ ऊर्जा दियो । आफूले प्राङ्गारिक खेती अपनाएको बताएसँगै योगीले नेपालमा आएर पुनः अझ उत्साहपूर्वक पहिले देखि नै गर्दै आएको कामलाई सञ्चालन गर्नको लागि आशिर्वाद दिनुभयो । करिब २० बर्ष पहिले योगीसँग भेट भएर नेपाल फर्किएर जैविक जीवनशैली अपनाउँदै व्यावसायिक क्रियाकलापहरुमा संलग्न रहने क्रममा बास्कोटा पहिले भन्दा अझ बढी स्वस्थ हुँदै जानुभयो । महर्षिसँग भेट हुनुभन्दा पहिले मुटुको बिरामी भई मुटु अपरेसन गराउनुभएका बास्कोटाको अहिले जीवनशैली बदलिएसँगै अहिले शरीरबाट रोगहरु पनि भागेका छन् । अहिले उहाँले नियमित रुपमा योग ध्यान गर्नुहुन्छ । आफैंले उत्पादन गरेको ग्रिन टी खानुहुन्छ ।

महर्षिसँगको भेटको प्रभाव
विश्वलाई वैदिक विश्व बनाउनुपर्छ र राज्यलाई राम राज्य बनाउनुपर्छ । माटोलाई आफ्नै प्राकृतिक स्वरुपमा फर्काउनुपर्छ । हाम्रो कन्चनजंगा टि स्टेट सोही मान्यता बमोजिम नै स्थापना भएको हो । उक्त कम्पनी सञ्चालनसँगै विश्वभरका अर्गानिक सर्टिफिकेसन कार्यमा संलग्न संस्थाहरुसँग हाम्र्रो सहकार्य भयो । नासा अष्टे«लिया जस्ता ठूला कम्पनीहरुबाट अर्गानिक सर्टिफिकेसन लिएर प्राङ्गारिक अभियानमा लागिरहेकै समयमा महर्षिज्यूसँग संयोगवश भएको भेटलाई मैले भगवानको कृपाको रुपमा लिएको छ । महर्षिज्यूसँगको भेटघाट पश्चात् हाम्रो कम्पनीका गतिविधिहरु अझ तीव्र रुपमा विस्तार भए । अहिले हामीले नेपालमा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने, प्राङ्गारिक खेतीमा संलग्न व्यक्तिहरुलाई संगठित गर्ने, वैदिक संस्कारबारे सचेतना विस्तार गर्ने लगायतका कामहरु एकै पटकमा अघी बढाएका छौं । छोटो समयमा नै नेपालमा पनि महर्षि फाउण्डेसनमा ठूलो सङ्ख्यामा चेतनशिल व्यक्तिहरु जोडिनुभएको छ । यो हामी सबैको लागि गौरवको विषय हो । हामीले आत्मसन्तुष्टिलाई नै ठूलो उपलब्धिको रुपमा लिएका छौं ।

रासायनिक मल कारखाना खोल्नु अनुचित कार्य
नेपाल सरकारको अहिलेको नेतृत्वले थुप्रै राम्रा कामहरु गरेको छ । राम्रा कामको सराहना गर्ने संस्कार हामी सबैले बसाउनुपर्छ । म जुनसुकै दलले अघी सारेपनि राम्रा कामहरुको प्रसंशक हुँ । यद्यपि अहिले नेपालमा रासायनिक मल उत्पादनको लागि कारखाना खोल्ने निर्णय नेपाल सरकारले गरेको कुरा प्रकाशनमा आएको छ । जुन कार्य नेपालको लागि घातक छ । अहिले संसार भरका ठूला रासायनिक मल उद्योगहरु हटाईंदैछ । अन्य देशहरुले प्राङ्गारिक जैविक विधिबाट खेतीपाती गर्ने प्रचलन विकास गरिरहेका छन् । नेपालमा भने रासायनिक मल उत्पादक कम्पनी खोल्ने तर्फ हामी अघी बढेका छौं । नेपालको लागि अनावश्यक र नसुहाउने कार्य हुँदाहुँदै पनि विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले यस कार्यलाई अघी बढाउन दबाब दिइरहेका छन् । यद्यपि सरकारले कोही कसैबाट प्रभावित भई गलत दिशा लिनुहुँदैन ।

नेपाल सरकारले यो पनि बुझ्नुपर्छ कि रासायनिक मल खोल्नको लागि आवश्यक पर्ने रकमको आधा मात्र रकम जैविक खेतीको लागि लगानी गर्ने हो भने त्यसबाट नेपालले तुलनात्मक रुपमा निकै ठूलो लाभ हासिल गर्न सक्छ ।

जसरी अहिले प्राङ्गारिक खेतीमा जापान, भुटान, हिमाञ्चल लगायत सफल भएका छन् । त्यसरी नै हामी पनि सफल हुन नसक्ने भन्ने छैन । हाम्रो छिमेकी मुलुक चीनले लाखौं हेक्टर जग्गामा जैविक खेती गरिरहेको छ । हाम्रो हावापानी प्राकृतिक र स्वस्थ छ । साथै संसारभर जैविक खेतीको लहर चलिरहेको बेला हामी किन उल्टो दिशामा हिँड्न खोजिरहेका छौं त ? प्रश्न अनुत्तरित छ । हामी सबैको चाहना हो कि हामी स्वस्थ र खुसी रहन सकौं । हामीलाई राम्रो स्वास्थ्य बिषादीरहित खाद्यान्न र हावापानीबाट प्राप्त हुन्छ ।

पर्यटन प्रवद्र्धनको लागि जैविक विधि
जैविक खेतीसँगै नेपाललाई प्राङ्गारिक नेपालको रुपमा घोषणा गर्न सकेको खण्डमा नेपालमा स्वभाविक रुपमा पर्यटकीय आवागमन बढाउन सकिन्छ । नेपालको संस्कार पनि पर्यटनमैत्री छ । यसो हुन सकेको खण्डमा कुनै विशेष बर्षलाई पर्यटन बर्षको रुपमा मनाइरहनु पर्दैन । हरेक बर्ष पर्यटकको आगमन नेपालमा ठूलो परिमाणमा हुनेछ । यसो हुन सकेको खण्डमा नेपालको पर्यटन व्यवसाय सिङ्गापुरमा जसरी नै तीव्र रुपमा अघी बढ्न सक्छ । हामीले अब दिगो विकास सम्बन्धमा सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij