-राजन प्रसाद पाेखरेल
प्रतिपक्षमा हुँदा अथवा चुनावमा जनता समक्ष भोट माग्दा चर्का चर्का भाषण सुनिन्थ्यो, “हजारौं लाखौं युवाहरू कामको खोजीमा खाडी मुलुकमा जान र त्यहाँको ४५/५० डिग्रीको तातोमा पोलिएर काम गर्न विवश छन्, दैनिक २०,०००/- (बीस हजार) को हाराहारीमा युवाहरू पासपोर्ट बनाउने लाइनमा उभिएको देखिन्छ । यो अवस्थाको अन्त्य कहिले हुने ? यस्तो दुखद् अवस्थाबाट मुक्त गर्नका लागि हामी (कम्युनिस्ट पार्टी)लाई आफ्नो अमूल्य मत दिनुहोस् । हामी यसको अन्त्य गर्छौं ।” यसरी गरिएको भाषणलाई गुल्मी दिगामका चन्द्रबहादुरको मृत्युले गिज्याइ रहेको प्रतीत भयो ।
चन्द्रबहादुर परियार भारतको दिल्ली नोयडामा पुगेको र त्यहाँ दुई महिनासम्म काम नपाएर भौंतारिए । उनको वास्तविक अवस्था अनि काम नपाएपछि एक पेट भर्नकै निम्ति कति तड्पिनु परेहोला । सहजै अनुमान गर्न सकिन्छ तर यहाँ शव्दमा व्यक्त गर्न निकै कठिन ।
विचरा ! चन्द्रबहादुर साहूको ऋणले आजित भएको एउटा परिवारको मुख्य मान्छे । साहूको ऋण तिरिन्छ कि भन्ने आशमा, परिवारलाई दुई छाक भरपेट खुवाउन सकिन्छ कि भन्ने आशमा, चाडपर्वमा छोराछोरी बेखुसी नहोउन् भन्ने आशमा, आफूले नपढे पनि छोराछोरीलाई दुई चार अक्षर पढाउन सकिन्छ कि भन्ने आशमा घरपरिवारलाई अभिभावकबिहीन बनाइ मुग्लान जान्छ । महिनौं काम पाउँदैन र निराश भएर कसैको सहयोगमा घरसम्म आइपुग्छ अनि विचराले घरको हालत देख्छ । मुग्लान जाँदा भनेका कुराहरू सम्झिन्छ । छोराछोरी बाबा आउनुभयो, के ल्याइदिनुभयो ? भनेर हात र खुट्टामा समातेर झुन्डिएको सम्झन्छ ।
मुग्लान जाँदा बाटाखर्च भनेर प्रसस्त कमाएर फर्किन्छु भन्ने विश्वासमा श्रीमतीको कानको फुली बेचेको सम्झिन्छ अनि कुन मानसिकताले रित्तो हात त्यस्तो अवस्थामा घरमा सहज फर्कन सक्छ होला ? यस्तो हालत भएको छ; चन्द्रबहादुर परियारको ।

घरबाट श्रीमतीसँग कहिलेकाहीँ फोन हुँदा चन्द्रबहादुरले भन्ने गरेको उनकी श्रीमतीले यसरी सम्झिन्छिन् – ‘राम्रै सञ्चै छु भन्नु हुनुहुन्थ्यो, दुई महिना देखि कतै काम नपाएर मेरी बहिनी लक्ष्मीको कोठामा एक महिना सम्म बस्नु भएछ, उसैले भाडा खर्च दिएर आउनु भएको थियो रे, दिउँसो म गएकी थिएँ धेरै बोल्नु भएन, साँझ म घर आएपछि त्यस्तो कुरा सुनें ।’ सधैं गरिबी, विवशता र बाध्यताले साहूको ऋणमा डुबेको चन्द्रबहादुर पनि विश्वव्यापी रूपमा आएको कोरोनाको मारमा परे । कमाइ पनि नभएको र त्यहाँ बसेर केही हुने आशा पनि नदेखेका उनी जे-जस्तो होला होला भनी हिम्मत जुटाएर अर्कैले दिएको बाटाखर्चबाट गुल्मी जिल्लाको दिगामस्थित आफ्नो घर रहेको ठाउँसम्म आइपुगे । आइतबार बिहान उनी गुल्मी आइपुगेका थिए । स्वयमसेवकहररूले उनलाई स्कुलको क्वारेन्टाईनमा लगेर राखेका थिए । उनी सोही गाउँपालिका वडा नम्वर ४ दिगामका हुन् । विहान भारतको दिल्ली स्थित नोयडाबाट तीन दिनमा घर आएका आइपुगेका हुन् ।
कोरोनाबाट बाँच्न भन्दै भारतबाट गाउँ आइपुगे चन्द्रबहादुर, तर घरपरिवारसँग भेट्न नपाइ प्राण त्यागे । आज यी गुल्मी दिगामका चन्द्रबहादुर मात्रै होइन, बाँकेका हस्तबहादुर खोलामा हाम फाल्न विवश हुन्छन् ! कञ्चनपुरका पुड्कबहादुर महाकालीमा ज्यानको बाजि राखेर फाल हाल्न बाध्य हुन्छन् ! सर्लाहीका हरिबहादुरले पटनाको रेलको लिगमा ज्यान गुमाउनु परेको छ ! अर्घाखाँचीका श्यामप्रसाद दुबईमा काम गर्दागर्दै बिहोस भएर ज्यान गयो । मलेसियामा भेडा चराउँदै गर्दा स्याङ्जाका पदमबहादुरलाई के भयो ? चार वर्षदेखि अत्तोपत्तो छैन ! यी केही प्रतिनिधि घटना हुन् ।
ए सरकार तिमी के गर्दै छौ ? कहाँ गए तिम्रा ती वाचाहरू ? तिम्रा चुनावी नारालाई कुन नदीले बगाइदियो ? जनता, श्रमिक, श्रमजीवी जनताको पक्षमा भनेर तिमीले घोक्रो फुल्लाइ फुल्लाइ घाँटी सुकुन्जेल चिच्याएर गरेका भाषणको प्रतिबिम्ब अहिलेसम्म पनि गाउँघरका पाखा पखेराहरूमा घन्किरहेको छ । हिजो चुनावी भाषणमा के-के भनियो भनियो भन्नेमा हो भने अर्कै कुरा, होइन भने यसमा तिम्रो केही जिम्मेवारी हुँदैन ? कि पुग्यो र सत्ताको संवाद ? जनताले तिम्रा काम, विचार र व्यवहारलाई पत्याएर दुई तिहाइ दिएर सत्तामा पुर्याए । के यही दिन देख्न र यसरी नै मर्न बाध्य हुनका निम्ति जनताले तिमीलाई सत्तामा पुर्याएका हुन् ?
खोइ ? कहाँ छन् श्रमजीवी जनताका श्रम मन्त्री ? तिनको नाम के हो ? काम के हो ? के मन्त्री भएर झण्डाबाल गाडीमा हात हल्लाउँदै बालुवाटार छिर्नु र लाटो जस्तै भएर भुँडी फुल्याउनु मात्रै हो ? पिच बाटोमा पान खाँदा आएको थुकलाई पिच्च पिच्छ पार्दै हिँड्ने मात्रै हो ? कि मेनपावर कम्पनीका मालिकहरूसँग रात दिन बार्गेनिङमै व्यस्त हो ? यी केही पनि होइनन् भने कुन दुलोभित्र पस्यौ कि तिमीलाई त्यहाँबाट निस्कनै गाह्राे भयो ?
आफ्नै तलबबाट कट्टी भएको सामाजिक सुरक्षा भत्ताका नाममा जम्मा भएको रकम यो अवस्थामा दिन नसक्नेले के मुख देखाएर दैनिक ज्यालादारीमा बाँच्न विवश जनतालाई राहतको कुरा गर्दैछौ ? सरकार तिमीलाई गाह्राे परेको छ; जनता बुझिरहेका छन् ।
कोरोना महामारी आयो; जनतालाई थाहा छ तर जनताले बुझेका छन् भनेर, जनता संयमित छन् भनेर, जनता बोलेनन् भनेर तिमी यति नालायक बन्न सुहाउँदैन सरकार ! जब धैर्यताको बाँध फुट्छ नि, जनताको पावरले तिमीलाई यसरी सत्तामा उघ्राएर बस्न त पक्कै नदेलान् नि त । जनताको मर्कालाई समयमै बुझ्ने कोसिस गर सरकार ।
कम्युनिस्टको नामको यो सरकारले जनपक्षीय काम पक्कै गर्नेछ भन्ने आम जनतालाई अहिलेसम्म भरोसा छँदैछ । जनताको विवशता बुझ्ने गर । कोरोना महामारीले संकट सँगसँगै अवसर पनि लिएर आएको छ । विदेशबाट फर्किएका नेपालीलाई उचित काम देऊ । यतै कामको अवसर पाए भने अहिले विदेशबाट फर्किएका ६०% जनतालाई नेपालमै रोक्न सकिनेछ । अरू विदेश भएकालाई पनि देश फर्कन आह्वान गर । कृषि क्षेत्रलाई आत्मनिर्भर गराउन सकिने, श्रमिकलाई रोजगारी दिन सकिने क्षेत्रका रूपमा विकास गर । यो महामारीलाई अवसरको रूपमा उपयोग गर्न सक्ने हो भने सरकारको पनि हाइ हाइ हुने । हस्तबहादुर, पुड्कबहादुर, श्यामप्रसाद अनि चन्द्रबहादुरजस्ता नेपाली हाँसी खुसी नेपालमै बसेर परिवारका साथमा रोजगार हुन सक्नेछन् अनि आगामी पुस्तालाई सही मार्गमा दिशानिर्देश गर्नेछ ।