२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अर्थराजनीतिले अल्झाएको आर्थिकता

अर्थराजनीतिले अल्झाएको आर्थिकता

डा. के. बि. सम्राट
मुलुकमा राजनीतिकै असरले गर्दा आर्थिकभार थपिएको छ । यहि आर्थिकभारले गर्दा मुलुकमा अर्थको तहसनहस बन्न पुग्दै गरेको देखिन्छ । अर्थशास्त्रकाे अर्थमा अंग्रेजी शब्द ‘इकोनोमिक्स’ भन्ने  ग्रीस भाषाको ‘ओइकोनोमिया’बाट आएको हो । जसको अर्थ प्रबन्ध वा व्यवस्थापन गर्नु भन्ने हुन्छ । यसरी उत्पत्ति र शाब्दिक हिसाबले पनि अर्थशास्त्रको प्रमुख काम आर्थिक पक्षको व्यवस्थापन गर्नु हो भन्ने प्रस्ट हुन आउँछ । समग्रमा आर्थिक क्रियाकलापसँग सम्बन्धित विषयका बारेमा अध्ययन गर्ने विधा नै अर्थशास्त्र हो ।
पूर्वीय दर्शनमा यस शब्दको अर्थ खोज्दा ‘अर्थ’ले धन वा सम्पत्ति र ‘शास्त्र’ले यथार्थ वा वास्तविक ज्ञान भन्ने अर्थ दिन्छ । हाम्रो समाजमा अर्थशास्त्र बुझ्ने सवाललाई बडो कठिन र जटिल ढंगले भाष्य सिर्जना गरिएको छ ।
अर्थशास्त्र कहाँ जो–कोहीले बुझ्छ ? यो त अर्थशास्त्र पढेका, अझ पीएचडी गरेका वा अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेकाले मात्र बुझ्ने विषय हो । सर्वसाधारणले यसलाई बुझ्न सक्दैनन् र बुझ्न आवश्यक पनि छैन भन्ने बुझाइ समाजमा देखिन्छ । यस बुझाइलाई खण्डन गर्नु यस आलेखको प्रमुख उद्देश्य हो ।
मूलतः अर्थशास्त्रसँग राजनीति पनि जोडिएको हुन्छ र राजनीतिको केन्द्र भागमा नागरिक रहन्छन् । यसको मुख्य उद्देश्य विकास, समृद्धि, समानता, स्वतन्त्रताका माध्यमबाट मुलुकको अग्रगामी परिवर्तन गर्नु हो । सर्वसाधारणले अर्थशास्त्रलाई नबुझ्दा वा बुझ्ने कोसिस नगर्दा नै लुट र भ्रमको खेती गर्नेलाई सहज भइरहेको छ ।
अर्थशास्त्र नबुझ्ने कतिपय सर्वसाधारणले आर्थिक अभावलाई आफ्नो पूर्वजन्मको कर्मको फल ठान्ने समेत गर्छन् । उनीहरुले मुलुकको अर्थराजनीतिको दोष देख्दैनन् । यस आलेखमा केवल व्यवहारबाट बुझ्ने अर्थशास्त्रका बारेमा मात्र चर्चा गरिनेछ  । जुन सामान्य लेख–पढ गरेका किसान र मजदुरका लागि लाभदायक हुन सकोस् ।
मेरो बुझाइमा अर्थशास्त्रको करिब ६० प्रतिशत ज्ञान व्यवहार वा भोगाइबाट बुझ्न सकिन्छ । केवल ४० प्रतिशत मात्र विषयगत ज्ञान तथा सिद्धान्तको अध्ययनसँग सम्बन्धित हुन्छ । यस दृष्टिकोणबाट हेर्दा अर्थशास्त्रका ६० प्रतिशत विषयसँग सर्वसाधारण तथा प्राज्ञिक सर्टिफिकेट नभएका किसान र मजदुरले दैनिक जीवनमा पौँठेजोरी खेलिरहेका हुन्छन् । तर उनीहरूलाई थाहा हुँदैन यी अर्थशास्त्रसँग सम्बन्धित विषयवस्तु हुन् । यिनीहरूको व्यवस्थापन अर्थराजनीतिले गर्नुपर्छ भनेर ।
सर्वप्रथम अर्थशास्त्री रैगनार फ्रिसले सन् १९६९ मा अर्थशास्त्रलाई मुख्य गरी ‘माइक्रो’ र ‘म्याक्रो’ गरी दुई भागमा विभाजन गरे र यिनीहरूका विषयवस्तु समेत प्रस्ट पारे । जसले अर्थशास्त्रका क्षेत्रमा लोकप्रियता हासिल गर्नुको साथै अध्ययनलाई सरलीकरण समेत गरे ।
अर्थशास्त्री फ्रिसले दुवै शब्द भौतिक विज्ञानबाट सापटी लिएका थिए । यहाँनेर स्पष्ट पारौँ । अर्थशास्त्रका उत्पादन, उपभोग, वितरण, विनिमय, सार्वजनिक वित्तजस्ता विषयवस्तुबारे यहाँ चर्चा गरिनेछैन । यस्तै स्रोतको दुर्लभता, माग र आपूर्तिको नियम, सीमान्त उपयोगिता सिद्धान्त, श्रम विभाजन, प्रतिस्पर्धात्मक लाभको सिद्धान्त तथा आर्थिक स्वतन्त्रताको सिद्धान्तका बारेमा पनि यहाँ चर्चा गरिने छैन । पूर्वीय र पाश्चात्य अर्थशास्त्र; क्लासिकल र नवक्लासिकल अर्थशास्त्र; विकास, पर्यावरणीय, समाजवादी, पुँजीवादी र सामाजिक जस्ता अर्थशास्त्रका किसिमका बारेमा पनि चर्चा गरिनेछैन । जुन सैद्धान्तिक र शास्त्रीय विषय हुन् । यसबारे कुनै अर्काे प्रसंगमा गरौँला ।
‘माइक्रो’ अर्थशास्त्र अन्तर्गत व्यक्ति, घर–परिवार, व्यक्तिगत फर्महरू, वस्तु वा सेवाको मूल्य निर्धारण, माग र आपूर्ति, उपभोक्ताहरूको व्यवहार, बजारको संरचना तथा किसिम जस्ता साना–साना चलराशि वा एकाइका बारेमा अध्ययन गरिन्छ । मेरो बुझाइमा अर्थशास्त्रको करिब ६० प्रतिशत ज्ञान व्यवहार वा भोगाइबाट बुझ्न सकिन्छ । केवल ४० प्रतिशत मात्र विषयगत ज्ञान तथा सिद्धान्तको अध्ययनसँग सम्बन्धित हुन्छ । यस दृष्टिकोणबाट हेर्दा अर्थशास्त्रका ६० प्रतिशत विषयसँग सर्वसाधारण तथा प्राज्ञिक सर्टिफिकेट नभएका किसान र मजदुरले दैनिक जीवनमा पौँठेजोरी खेलिरहेका हुन्छन् ।
यस अन्तर्गत राष्ट्रिय आय, आर्थिक वृद्धि, मुद्रास्फिति, बेरोजगारी, मौद्रिक र वित्तीय नीतिहरू, कुल (माग, पूर्ति, उपभोग र लगानी) सरकारी खर्च तथा आयात–निर्यातजस्ता ठुल्ठुला आर्थिक मुद्दाका बारेमा अध्ययन गरिन्छ । अर्थशास्त्रका उल्लिखित साना र ठुला दुवै प्रकारका मुद्दाका बारेमा सर्वसाधारणलाई सैद्धान्तिक ज्ञान नभए पनि दैनिक जीवनमा भने दिनहुँ सामना गरिरहनुपर्छ । अझ हाम्रोजस्तो साक्षरता ७० प्रतिशतको हाराहारीमा रहेको मुलुकका सामान्य लेखपढ मात्र भएका खासगरी किसान र मजदुरले देहायका विषयसँग गर्नुपरेको सामनाले वा व्यवहारजन्य हिसाबले अर्थशास्त्रलाई बुझ्नुपर्छ ।
शिक्षा नागरिकको आधारभूत मौलिक अधिकार हो । तसर्थ उच्च तहसम्मको शिक्षा निःशुल्क हुनुपर्छ । साथै शिक्षामा विभेद हुनु हुँदैन । धनी र गरिबका सन्तानले पढ्ने शैक्षिक संस्था फरक प्रकृतिका हुनु हुँदैन । हामीकहाँ भने शिक्षामा माफियाकरण रहेको छ । निम्न मध्यम वर्गीय तथा सामान्य आय भएका किसान र मजदुरका सन्तानले महँगो शिक्षा हासिल गर्न सक्दैनन् । परिणामस्वरूप महँगो र गुणस्तीय शिक्षा हासिल गरेका सम्भ्रान्त वर्गका सन्तानसँग प्रतिस्पर्धा गर्न नसकेर अन्ततः खाडी मुलुक जान बाध्य हुन्छन् । हामीकहाँ भने स्वास्थ्यमा भएको माफियाकरणले चाहे उपचारमा होस्, चाहे स्वास्थ्यसम्बन्धी पढाइमा होस्, सर्वसाधारणले चियाउनै नसक्ने गरी महँगो छ ।
हामी कोबाट कसरी पीडित र प्रताडित रहेछौँ ? हाम्रा यावत् दुःख र अभाव पूर्वजन्मको फल रहेछ कि शासकको अकर्मण्यताको फल रहेछ ?
निम्न मध्यम वर्गका व्यक्तिले न आफू सन्तुष्ट हुने गरी उपचार गर्न सक्छ, न त सन्तानलाई डाक्टर पढाउन सक्छ । स्वास्थ्य सबैभन्दा संवेदनशील आधारभूत मौलिक अधिकार हो । जुन जीवन र मरणको सवालसँग सम्बन्धित छ । तसर्थ स्वास्थ्य निःशुल्क हुनुपर्छ । विश्वका धेरै मुलुकमा स्वास्थ्य र शिक्षा नागरिकलाई निःशुल्क उपलब्ध गराइन्छ । जस्तैः स्कान्डिनेभियन (नर्वे, स्विडेन र डेनमार्क) मुलुक ।
जहाँ पीएचडीभन्दा तलको शिक्षा र अधिकांश स्वास्थ्य सेवा निःशुल्क छ । करिब ५९ प्रतिशत ‘जनसांख्यिक लाभ’ (सक्रिय जनसंख्या बढी हुनु) रहेको हाम्रोजस्तो मुलुक बेरोजगारीका कारण युवाविहीन बन्दै गएको छ । लाज पचाउन रेमिट्यान्सको हवाला दिइए पनि समाजको चित्र कहालीलाग्दो छ । परिणामतः खेतीयोग्य जग्गा बाँझिएका छन् । वृद्ध आमाबुबाको रेखदेख त परै जाओस् बिमारी हुँदा उपचार गर्ने र मृत्यु हुँदा काजकिरिया गर्ने सन्तान घरमा छैन । अर्कोतिर बालबच्चाको पढाइमा यथोचित ध्यान पुग्न सकेको छैन ।
निम्न मध्यम वर्गीय मानिसको ढाड सेक्ने अर्काे कृत्रिम समस्या हो, चर्काे मूल्य वृद्धि र कालो बजार । यस्तो मूलतः नियामक निकायहरूको बेकम्मापनका कारणले वा उनीहरूकै अदृश्य संलग्नताका कारण हुन्छ । सरकारमा रहेकाको व्यापारमा अदृश्य लगानी हुने वा ठुलो मात्रामा चन्दा लिएका कारण हुने जानाजान अनदेखाले यस्तो समस्याको सिर्जना हुने गर्छ । रोजगार पनि नागरिकको नैसर्गिक अधिकार हो ।
मुलुकमा यथोचित औद्योगिकीकरण हुन नसक्नु नै बेरोजगारी समस्याको मुख्य कारण हो । मुलुकको चौतर्फी विकासका लागि पूर्वाधारको विकास पहिलो सर्त हो । यातायात, ऊर्जा, स्वास्थ्य, शिक्षा, सञ्चारजस्ता पूर्वाधारका विकासले मात्र मुलुकको विकास सम्भव छ । जसका लागि ठुलो लगानी चाहिन्छ । पूर्वाधारमा भएको विकासले रोजगारीको सिर्जना, राजस्वमा वृद्धि हुनुका साथै सुविधामा समेत वृद्धि हुन्छ ।
एआईको आधुनिक युगमा हाम्रो मुलुकको अवस्था निकै टिठलाग्दो छ । मुलुकमा यत्रतत्र सर्वत्र भ्रष्टाचार रहेको अख्तियारको प्रतिवेदनदेखि गिरिबन्धु–टी स्टेट, यति होल्डिङ्ग्स, ललिता निवास, प्रकरणजस्ता नीतिगत तहका र सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, वाइडबडी काण्ड सहकारी ठगीजस्ता भीमकाय काण्डहरूले घाम जत्तिकै छर्लङ्ग पारेको छ । जुन काण्डले एकातर्फ जघन्य मानवीय अपराध गरेको छ भने अर्कातर्फ राष्ट्रको आम्दानी मिलीभगतमा व्यक्तिको निजी सम्पत्ति बन्न पुगेको छ ।
मुलुक छिचोल्ने गरी रेलवे सेवाको विकास हुन नसक्नु, कमिसनको जगमा बनेका सडक यातायातबाट बर्सेनि हजारौँ मानिसले ज्यान गुमाउनु, जलस्रोतमा विश्वको दोस्रो धनी देश भएर पनि विदेशबाट बिजुली खरिद गर्नु, लोडसेडिङ हुनु, सबै ठाउँमा विद्युतीकरण हुन नसक्नु, कृषिप्रधान देशले ठुलो मात्रामा खाद्यान्न आयात गर्नु, सस्तोमा बहुमूल्य कच्चा पदार्थ निर्यात गर्नु र महँगोमा गुणस्तरहीन तयारी वस्तु आयात गरी ठुलो व्यापार घाटा बेहोर्नु, सोह्र सय लगानीकर्ता भेला गरेर सम्पन्न गरिएको लगानी सम्मेलन अन्नतः डिनर बैठक मात्र साबित हुनु, सरकारी स्तरबाट सञ्चालित स्वास्थ्य र शिक्षाजन्य निकायमा हुने राजनीतीकरणले ती संस्था धराशायी बन्दै जानु इत्यादि कारण हाम्रो देश आर्थिक गतिविधिमा पछाडि परेको छ ।
भ्रष्टाचारको मूल कारण दण्डहीनता हो । माथि उल्लिखित कुनै पनि काण्डका मूल नाइकेलाई हालसम्म कुनै कारबाही भएको छैन । बरु उल्लिखित सर्वदलीय भ्रष्टाचारलाई सर्वदलीय समझदारीका आधारमा विभिन्न बहानामा ढाकछोप गरिँदै छ । तथापि जनताको नजरमा भने डोकाले छोपेझैँ भएको छ ।
मुलुक करिब २६ खर्ब वैदेशिक ऋणको पासोमा फसेको छ । ऋणको किस्ता र साँवा–ब्याज भुक्तानीका लागि पुनः ऋण लिनुपर्ने अवस्था रहेको तथ्याङ्कहरूले पुष्टि गरेको छ । विगत लामो समयदेखि पुँजीगत खर्चभन्दा साधारण खर्चमा वृद्धि भएको छ । पुँजीगत खर्चको ठुलो हिस्सा कसिसनमा जाने तथ्यको पुष्टि पूर्वाधार विकास नहुनु, भएका पनि कमजोर गुणस्तरका हुनु र उच्च पदस्थ व्यक्तिहरूको स्रोत नखुल्ने सम्पत्तिले पुष्टि गर्छ ।
अर्थशास्त्रले समस्याको पहिचान गर्नुको साथै समाधानको उपाय पनि राजनीतिलाई सिफारिस गर्छ । तसर्थ यी यावत् विषय अर्थराजनीतिसँग सम्बन्धित विषय हुन् । जुन कुरा बुझ्नका लागि सर्वसाधारण नागरिकले अर्थशास्त्रको कुनै ठेली र सिद्धान्तहरूको अध्ययन गर्नुपर्दैन ।
अन्ततः अर्थराजनीति सुधार्ने नेतृत्व आवश्यक छ । जसले सिंगो मुलुक र आम नागरिकमाथि बारम्बार धोकाधडी गर्दै मुलुकलाई यो अवस्थामा पुर्याएको छ, तिनीहरूलाई कहिलेसम्म अनुमोदन गर्दै जाने ? खबरदारी गर्दै विकल्प खोज्ने ! छनोट तपाईं आमनागरिकको ? दैनिक जीवनको कष्टकर भोगाइ नै बुझ्नका लागि काफी छन् ।
हामी कोबाट कसरी पीडित र प्रताडित रहेछौँ ? हाम्रा यावत् दुःख र अभाव पूर्वजन्मको फल रहेछ कि शासकको अकर्मण्यताको फल रहेछ ? अब कसरी यस्ता बेथितिबाट मुक्त हुने ? आदि सवालमा दृष्टिकोण निर्माण गर्नका लागि अर्थराजनीति बुझ्न आवश्यक छ ।
(स्तम्भकार डा. सम्राट विश्व शान्ति ध्यान केन्द्रका कोषाध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij