मानवीय जीवन जगतका दुई वर्ग नारी र पुरुष एक अर्काका अन्योन्याश्रित अङ्ग हुन् । मनुष्योचित सामाजिक संरचनाको अग्रगमनमा यी दुई वर्गको भूमिका उत्तिकै महत्वपूर्ण रूपमा रहेको हुन्छ । नारीमा मात्र हुने केही प्रकृतिसिद्ध गुणका कारण नारी पुरुष दुवै वर्गका निम्ति नारीको योगदान अतुलनीय रहन्छ । नारीमा हुने रजस्वला गर्भधारण र प्रसव वेदना जस्तो आङ्गिक भिन्नताले नै पुरुष वा स्त्रीरत्नदायिनी नारी नै बनेकी छिन् । यस्तो अनुपम शक्ति स्वरूपिनी नारी जातीलाई पुरुष भन्दा कमजोर ठान्नु विडम्बना हो भन्दै आजको संसारले महसुस गर्न थालेको छ । फलतः इ.सं. १९७५ मा संसारभर नारी वर्ष बनाउनका साथै नारी मान्यता र मूल्यलाई उजागर गर्न हरेक वर्ष मार्च ७ तारिख (फाल्गुण २४) गतेका दिन ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाउने प्रचलनले महिला उत्थानमा विशेष जोड दिनुका साथै महिला जागरणमा उल्लेख्य अवसर प्रदान गरेको छ ।
पूर्वीय शास्त्रले ‘यत्र नारी पूज्यन्ते रमन्ते तंत्र देवता’ भन्दै नारी जातीको सम्मानमा जोड दिएको छ । नारी शिक्षित र साक्षर भए उनका सन्तान मातृ संस्कारको ग्रहण गर्दै सुसंस्कृत र सक्षम नागरिक बन्दछन् । वैदिक कालीन महिला समाज शिक्षित थियो । उनीहरू राष्ट्र हितका निम्ति युद्धमा समेत सरिक हुन्थे । त्यतिखेर महिलाहरू प्रशासनिक र कूटनीतिक क्षेत्रमा पनि सफल थिए । सरमा नामकी महिला दूतको काम गर्थिन् भन्ने कुरा वैदिक मन्त्रबाट पुष्ट्याइँ भएको छ ।
त्यस्तै नारीले चुनावमा भाग लिने अधिकार पाएका थिए । देवलोकमा अनुशूया, गार्गी र मैत्रयी नारीहरूले बौद्धिक परामर्श दिएका तथ्यले पनि वैदिक वा दैविक परिवेशमा नारीको स्थान उच्च रहन्थ्यो भन्ने कुरा प्रमाणित हुन आउँछ ।
सृष्टिलाई निरन्तर रूपमा जीवन्तता दिने वर्ग नारी नै हुन् । त्यसैले पनि मानवीय समाजमा नारीको योगदान अतुलनीय मान्नु पर्ने हुन्छ । बाल्यकालदेखि नै सङ्घर्षपूर्ण जीवन बिताउने नारी कोमलाङ्गी, सरल, सहज, विवेकशील, भरणपोषणमा ख्याल राख्ने, सङ्घर्षशील एवम् कर्तव्यपरायण आदि गुणहरूले गर्दा समाजका हरेक क्रियाकलाप नारीको व्यवहार सामाजिक विकास र उन्नतिका निम्ति सार्थक ठहर्छ । भनिन्छ–‘त्यो घर, घर होइन जहाँ नारीको उपस्थिति रहँदैन’ । यस प्रसङ्गमा स्वसन्तान र घरपरिवारका समग्र पुरूषजनको हित र उन्नतिका निम्ति नारी नै प्रमुख पात्र ठहर्छिन् ।
विश्वका महान् साहित्यकारहरू प्लेटो, अरस्तु, होमर, विलियम वर्थवड, हड्सन, सेक्सपियर, इब्सन र नित्स्य तथा भरतमुनि, भामह, कालिदास, सागरनन्दी विश्वनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भानुभक्त आचार्यको जन्म आमाबाट नै भएको हो । त्यस्तै अल्बर्ट आइन्स्टाइन, डार्बिन विलियम हकिङ् आदि वैज्ञानिकको जन्म पनि आमा (नारी)बाट भएको र महान नेता वा समाज सुधारकको जन्मदाता पनि आमा नै हुन् । राम, कृष्ण, गौतम बुद्घ, गुरु नानक आदि देव अवतार पुरुष पनि आमाकै कोख वाट पैदा भएका हुन् । सुसंस्कृत र सभ्य नारीका पुरुष वा नारी जुन कुनै सन्तान हुन् । तिनीहरू निश्चित रूपमा सबल र सक्षम हुन्छन् भन्ने कुराको पुष्ट्याईं यी कुराहरूले प्रमाणित गरेको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आदर्श नारी सीता, कूटनीतिक ख्याति प्राप्त भृकुटी, कुशल शासक राजेन्द्रलक्ष्मी आदिको नाम अग्र पङ्क्तिमा आउँछ । त्यस्तै नारीमाथि हुने गरेको अन्याय र अत्याचारको अन्त्य गर्न भोजपुरमा (वि.सं. १९२४) जन्मेकी योगमायाले गरेको क्रान्तिका कारण वि.सं.१९८२ मा दास प्रथाको अन्त्य हुन पुग्यो र सति प्रथा पनि समाप्त भएको इतिहास ताजै छ ।
नेपाली साहित्य सिर्जनामा अमूल्य योगदान दिनुहुने गोमा, कुसुममञ्जरी देवी, कुर्ता शर्मा, सुष्मा आचार्य, इन्दिरा सप्राई, उषा शेरचन, विष्णु देवी (सुश्री पारिजात), भाद्रकुमारी घले, वेञ्जू शर्मा, बानिरा गिरी, पद्मावती सिंह, शारदा शर्मा, बाबा बस्नेत, सन्ध्या पहाडी, झमक घिमिरे, निलम कार्की हिरण्यकुमारी पाठक आदि दर्जनौँ वरिष्ठ महिला साहित्यकारहरूका महाकाव्य, खण्डकाव्य, गीत, गजल, कथा, उपन्यास जस्ता विविध साहित्यिक विधाले विशेषतः नारी प्रकृति, मनोदशा, पीडा, रोदन, चित्कार र नारी सौन्दर्य आदिलाई उजागर गर्न सफल भएका छन् । नारीमा रहेको तीव्र इच्छाशक्तिका कारण नै उनीहरूले अदम्य शाहसका साथ अतुलनीय कार्य गरेका छन् । यसैगरी क्यूरी, हेलेन किलर, मदर टेरेसा, तसलिना नसरिन जस्ता अदम्य शाहस र सिर्जनाका प्रतिमूर्तीहरू असङ्ख्य रूपमा रहेका छन् । नेपालमा पनि योगमाया, पासाङ ल्हामू शेर्पा आदि नारीको योगदानलाई स्वर्ण अक्षरले अभिलेख हुनु गौरवशाली उपलब्धि ठहर्छ ।
नेपालमा विगत केही दशकसम्म महिलालाई राज्यका यावत् अङ्गहरूमा उपस्थित रहन समान अवसर थिएन । तापनि उनीहरूको तीव्र इच्छाशक्तिले गर्दा ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’ भनेजस्तै उनीहरूको कला, विज्ञान, साहित्य आदि सिर्जनाहरू सिर्जित हुन सफल भएका हुन् । वर्तमान अवस्थामा महिला वर्गका निम्ति अनगिन्ती अवसरहरू पर्याप्त मात्रामा रहेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ र नेपालको संविधान, २०७२ को आगमन पश्चात् नारी जातीका लागि पुरुष सरह समान अवसर मात्र होइन, महिला आरक्षणको ऐन कानुन र नीति नियम निर्माण कार्यान्वयन तीव्र गतिमा भएबाट महिला जागरणमा उपलब्धिमूलक कार्यहरू शीघ्र रूपमा अगाडि बढेका छन् । फलतः वर्तमान अवस्थामा शिक्षा, स्वास्थ्य, प्रशासन, प्रहरी र सेना, वित्तीय सेवा, सार्वजनिक निर्माण एवं आयोजना र संघसंस्था, खेलकुद आदि क्षेत्रमा महिलाको सहभागिता द्रुत र वृद्धि हुँदै आएका र उदाहरणीय कार्य सम्पन्न हुने गरेका प्रमाणले आधा आकाश र आधा धर्तीका जिम्मेवार नागरिक नारीको स्थान प्रतिष्ठित रूपमा स्थापित भएको छ ।
वर्तमानको महिला सशक्तीकरणयुक्त समयमा तमाम महिलाहरूले प्राप्त अवसरलाई संयमपूर्वक स्वयोग्य, क्षमता र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, कला, साहित्य, संस्कृति आदि क्षेत्रमा स्वतः स्फूर्त रूपले सरिक हुँदै अधिकाधिक लाभ लिन सकेमा नारी जागरणमा तिव्रतर उपलब्धि हुनुका साथै समग्र नारी र पुरुषरूपी सामाजिक संरचनाको विकास हुने कुरा पनि निश्चित छ । भोक तिर्खा, आहार विहार, निद्रा, थकाइ, भावना र रुचि आदि विषय ‘नारी र पुरुष’ दुवैमा समान रहेतापनि जैविक महत्वपूर्ण विशेषता महिला वर्गमा मात्र सीमित रहेकाले ती प्रकृतिसिद्ध गुणहरूको विशेष रक्षा गर्दै महिला सशक्तीकरणमा तीव्रता प्रदान गर्नु आजको महत्वपूर्ण उपलब्धि पनि हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij