
यसपटकको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार प्रदीप बिष्ट आफू राजनीतिमा रहँदै आएको फोहोर सफा गर्र्ने उद्धेश्यले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनावी मैदानमा होमिएको दावी गर्छन् ।
अहिले सम्म नेपालका स्थापित कहलिएका राजनीतिक दलहरुले जनताका आधारभूत आवश्यकतामा समेत उचित समाधान दिन नसकेको, भ्रष्टाचार मौलाउँदै गएको र दलहरुमा गुटबन्दी बढ्दै गएको कारण वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बिष्टको ठहर छ ।
विगत केही महिना पहिले मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी विगतका दलहरुका कमीकमजोरीलाई सही ट्रयाकमा ल्याइ जनताहरुलाई उचित समाधान र सुसुचित गर्न सक्षम रहने बिष्ट बताउँछन् ।
आफू संलग्न दलमा विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञ एवं अनुभवी व्यक्तिहरु र विभिन्न राजनीतिक दलका पुराना एवं असन्तुष्ट व्यक्तिहरुको अलावा उर्जाशिल युवाहरुको ठूलो संलग्नता, समर्थन र सहयोग रहेकोले उक्त दल अबको लागि नयाँ विकल्प बन्न सक्ने बिष्टको बुझाई छ ।
वि.सं २०४६ को जनआन्दोलनसँगै राजनीतिमा होमिएका बिष्ट लामो समय नेपाली काङ्ग्रेस निकट रही राजनीतिमा संलग्न भएका र राजनीतिलाई नजिकबाट बुझेका व्यक्ति हुन् । यद्यपि काङ्ग्रेस भित्रको गुटबन्दी र व्यक्तिवादी प्रवृत्तिले सदैव सँगै रहन सकेनन् । यसैकारण उनी उक्त पार्टीबाट असन्तुष्ट भई २०७४ वैशाख देखि काङ्ग्रेसका आफ्नाे समर्थनमा रहेका सबै महाधिवेसन प्रतिनिधिहरुले राजिनामा दिएसँगै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग रही राजनीतिबाट नै निष्क्रिय हुन पुगेका थिए ।
यसपटक रवि लामिछाने नेतृत्वमा नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई उचित लागेर उनी पुनः राजनीतिमा जोडिन पुगे र यही दलबाट प्रतिनिधिसभामा उम्मेदवारी समेत दिएका छन् ।
तरुण दलको नेतृत्व हुँदै विभिन्न चुनावहरुमा नेपाली काङ्ग्रेसलाई आफ्नो सक्रियतामा विजयी गराउँदै आएका बिष्ट पार्टी भित्रको गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति नसुध्रिई बढ्दै जाने स्थिति नै उक्त पार्टीबाट आफ्नो बाहिरिने मुख्य बाध्यता बन्न पुगेको बताउँछन् ।
स्वतस्फूर्तः व्यापक समर्थन छ, चुनाव जित्छौं
यसपटकको चुनावी माहोल आफूहरुको पक्षमा राम्रो रहेको बिष्ट बताउँछन् । काठमाडौं क्षेत्र नम्बर १० मा गरिएको प्रारम्भिक सर्वेक्षणले समेत यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको देखिएको बिष्ट बताउँछन् । काठमाडौंको क्षेत्र नम्बर १० मा ७६ हजार भन्दा बढी मतदाता रहेको क्षेत्र हो ।
यसपटकको निर्वाचनमा आफूहरुले जित्ने आधार प्रस्तुत गर्दै बिष्ट स्थानीय जनताहरु गठबन्धन र भागबण्डा गर्ने राजनीतिक दलहरुको प्रवृत्तिकोे अलावा जनताहरुलाई उचित समाधान दिन नसकेको स्थितिले आफूहरुको पक्षमा राम्रो माहोल बनाएको दावी गर्छन् ।
रवि लामिछाने नेतृत्वको अभियानमा युवाहरुको स्वतःस्फूर्त साथ सहयोग रहनुले आफूहरुलाई ठूलो उर्जा मिलेको समेत बिष्ट बताउँछन् ।
बिष्ट आफू पार्टीले सार्वजनिक गरेको वाचा पत्रलाई नै शिरोधार्य गरेर सोहीबमोजिमका क्रियाकलापमा निरन्तर अघी बढ्नेछन् । भ्रष्टाचार र वेथिति अन्त्यको लागि वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन सहितको समृद्धिलाई सार्थक बनाउने अभियानबाट कहिल्यै विश्राम नलिने समेत बिष्टको धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij