२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

यसरी हासिल गर्न सकिन्छ व्यावसायिक सफलता

यसरी हासिल गर्न सकिन्छ व्यावसायिक सफलता

Kalpana Aacharya, directer, hotel shiva tirupati

होटल व्यवसाय सञ्चालन गरी एक सफल महिला उद्यमी बन्नुपर्छ भन्ने सोच लामो समय देखि विकास गरेकी एक महिला पात्र हुन् कल्पना आचार्य । कमलादी स्थित निकै पहिले देखि सञ्चालनमा रहेको होटल शिव तिरुपतिको व्यवस्थापन जिम्मेवारी आफूले लिएपश्चात् उनको सपनाले साकार रुप लियो । चिनजानका साथीहरु पनि बढी मात्रामा नै होटल तथा पर्यटन क्षेत्रमा नै संलग्न रहँदै आएका हुनाले पनि यसै क्षेत्रमा संलग्न हुन उनलाई थप सहज भयो ।

व्यवसायमा सफल महिला पात्र 
अधिकांश महिला दिदीबहिनीहरु चुल्होचौकोमा अल्झिरहँदा कल्पना आचार्य अन्य महिलाहरुलाई पनि उद्यमशिल बन्नुपर्छ भन्ने बारे प्रेरणाकी पात्र बनेकी छिन् । घरपरिवारको साथ पाएकै कारण आफू अहिलेको अवस्थामा आउन सफल भएकी हुन् आचार्य । हाल उनी एक सफल महिला उद्यमीको रुपमा परिचित छिन् । लामो इतिहास बोकेको कमलादी स्थित तिरुपति होटल विगत ४ बर्ष देखि नयाँ व्यवस्थापनको रुपमा आफूले सम्हालेपछि आफ्नो होटलमा आउने सेवाग्र्राहीलाई कसरी उच्चस्तरीय सेवा प्रदान गर्दै आफ्ना सेवाहरुमा उत्कृष्टता ल्याउन सकिन्छ भन्नेमा निरन्तर विभिन्न योजनाहरु बुन्दै व्यावहारिक तवरले काम गर्दै आएकी छिन् ।

कल्पना आचार्य नेतृत्वमा सञ्चालित पर्यटक स्तरीय होटल शिव तिरुपतिले आफ्नो सेवाप्र्रवाहमा विशेष सचेतना अपनाउँदै आएको छ । जसले गर्दा सेवाग्राहीहरु निकै सन्तुष्ट छन् । हाल २४ घण्टा नै सञ्चालनमा रहँदै आएको यस होटलको व्यवस्थापनमा करिब ४८ जना व्यक्तिहरु विभिन्न भूमिकामा खटिँदै आएका छन् । काठमाडौंको मुटुको रुपमा रहेको कमलादी स्थित सञ्चालनमा रहेको यस होटलमा आउने अधिकांश पाहुनाहरु भारतीय रहने गरेका छन् । साथै यस होटलमा एकपटक आएका विदेशी पाहुनाहरु पुनः अर्को पटक काठमाडौं आउँदा समेत यसै होटललाई नै आफ्नो रोजाईमा पार्ने गरेका छन् ।

महिला उद्यमी आचार्यका रुचिका क्षेत्रहरु 
होटल व्यवसायमा अहिले कल्पना आचार्य निकै सन्तुष्ट छिन् । होटलको अलावा कलाकारिता अथवा व्युटीपार्लर क्षेत्र पनि उनको लागि औधी रुचिका क्षेत्रहरु हुन् । ‘होटल व्यवसायमा नजोडिएको भए मैले शायद व्युटी पार्लर वा कलाकारिता क्षेत्रलाई नै व्यावसायिक रुपमा अँगालेकी हुन्थेँ’ आचार्यले भनिन् । उनी आफू जुनसुकै क्षेत्रमा भएपनि ग्राहकलाई पूर्ण सन्तुष्ट बनाउन सकेमात्र आफुले पनि सन्तुष्टि महसुस गर्ने बताउँछिन् ।

नेपालमा रोजगारी सम्भावना 
नेपालमा अहिलेको अवस्थामा पनि विभिन्न व्यावसायिक क्षेत्रमा ठूलो परिमाणमा रोजगारीको लागि दक्ष जनशक्ति आवश्यकता छ । त्यस मध्ये एक हो होटल व्यवसाय । यद्यपि नेपाली युवाहरुमा अहिले पनि राम्रो दक्षता भने पाईंदैन । जसले गर्दा नेपाली होटल लगायत अन्य व्यवसायमा पनि एकातिर आवश्यकता बमोजिम दक्षता सहितका कर्मचारी पाउन गाह्रो छ भने नेपाली अदक्ष जनशक्ति रोजगारीको लागि विदेशिएको अवस्था छ । यस्तो अवस्थामा सम्भव भएसम्म कुनै सीप सिकेर आफ्नै देशमा नै रहेर काम गर्न काम गर्नुपर्ने सल्लाह दिने कल्पना आचार्य कामको निम्ति नेपालमा नै राम्रो वातावरण रहेको र नेपालमा नै काम गरेको खण्डमा यसबाट आफ्नो परिश्रमले राष्ट्रको विकासमा समेत योगदान दिन सकिने कुरामा समेत युवावर्गले सोच्नु जरुरी रहेको बताउँछिन् ।

विदेशमा गएर पनि काम त गर्नुपर्छ नै । बिना काम कहीँ पनि परिणाम हासिल गर्न नसकिने हुनाले जे सकिन्छ, स्वदेशमा नै रहेर काम गरेको खण्डमा त्यसले दिगो लाभ लिन सकिने आचार्यको धारणा छ ।

समस्या भित्रै भेटिन्छ समाधान 
नेपालमा अधिकांश मानिसहरुले वेरोजगारी ठूलो समस्याको रुपमा रहेको बताउँदै गर्दा केही उद्यमशिल व्यक्तिहरुले भने नेपालमा नै रहेर काम गरी आफू स्वरोजगार बनेका छन् भने ठूलो सङ्ख्यामा आफू मातहत रोजगारी समेत सृजना गर्न सफल छन् । उनीहरुले थुप्रै नेपाली युवाहरुलाई सीप सिकाएका छन् । हातमा सीप र काम गर्ने जाँगर हुने हो भने सामान्य मानिसहरुको लागि असम्भव लाग्ने काम सहजै सम्भव बनाउन सकिन्छ भन्ने मान्यतालाई सही सावित गराएका छन् । यसैमध्ये एक महिला पात्र हुन् कल्पना आचार्य । जसले नेपाल जस्तो पुरुषप्रधान देशमा अधिकांश महिलाहरु चुल्होचौकोमा नै आफूलाई सीमित राखी श्रीमानको कमाईको आधारमा आफ्नो जीविकोपार्जन गर्दै आइरहेको अवस्थामा पनि सफल महिला उद्यमीको पंक्तिमा आफुलाई उभ्याएकी छिन् । आँट गर्ने र जाँगर एवं प्रतिवद्धता हुने हो भने व्यावसायिक क्षेत्रमा महिलाहरुको नेतृत्व पनि सफल हुँदो रहेछ । उनको अनुभवले यही बताउँछ ।

सफलताको लागि स्पष्ट योजना 
स्पष्ट योजना र कार्यदिशा सहित अघी बढेको खण्डमा सफलता धेरै टाढा नरहने आचार्यको अनुभवले बताउँछ । बाल्यकाल काठमाडौं भित्रकै तत्कालिन ग्रामीण परिवेशमा सामान्य रुपमा नै बिताएकी आचार्य समयानुकुल बदलिएको परिस्थिति बमोजिम नै अहिलेको अवस्थामा आउन सफल भएकी हुन् । काठमाडौंको व्यस्त क्षेत्रमा आफ्नै स्वामित्वको भवनमा अर्को होटल सञ्चालन गर्ने आफ्नो योजना रहेको बताइन् । होटल व्यवसाय स्वदेशी तथा विदेशी पाहुनाहरुसँग प्रत्यक्ष जोडिने व्यवसाय भएको र आफूले अहिले सम्म आइपुग्दा यस क्षेत्रको बारेमा धेरै सिकेको कारण यसै क्षेत्रमा नै सेवा विस्तार गर्दै जाने उनको चाहना छ ।

सफलताका आधारहरु 
कुनै पनि व्यवसायमा रहेर काम गर्ने क्रममा सेवाप्रदायकको बोलिचालि, व्यवहार र प्रवाह गर्ने सेवाको उत्कृष्टता निकै महत्वपूर्ण रहने गर्छन् । यी कुराहरुमा नै व्यावसायिक सफलता समेत जोडिने गर्छन् ।

महिलाहरुलाई सन्देश 
व्यावसायिक सफलताको अलावा अन्य महिलाहरुको लागि उत्प्रेरणाकी स्रोत समेत बनेकी कल्पना अहिले पनि अधिकांश महिलाहरु आफूले केही गर्न सक्दिन भन्ने मानसिकतामा रहेको र आँट गरेर कुनै महत्वपूर्ण काम गर्नेमा अग्रसर नभएको कारण आफ्नो क्षमतालाई खुम्च्याइरहेको बताउँछिन् । कोही व्यक्ति पनि जन्मँदै उत्कृष्ट सीप हासिल गरेर नजन्मने बरु आफ्नो रुचि, जाँगर, तालिम तथा आत्मविश्वास लगायतका गुणहरुले संलग्न क्षेत्रमा निपुण बनाउँदै लैजाने भएकोले आफूलाई रुचि भएको क्षेत्रलाई अँगाल्नु जरुरी रहन्छ । साथै त्यस क्षेत्रमा आउन सक्ने समस्या र चुनौतीहरुलाई पहिले नै बुझी आवश्यक परे त्यस क्षेत्र सँग सम्बन्धित अध्ययन, तालिम तथा व्यावसायिक अनुभव सहित आफूलाई मन पर्ने क्षेत्र छनौट गरी सोही क्षेत्रमा संलग्न हुन सकेको खण्डमा सफल हुन सकिने धारणा प्रस्तुत गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij