मेरो नजरमा योग केवल शारीरिक व्यायाम मात्र होइन, यो सम्पूर्ण जीवन पद्धति र जीवन दर्शन हो । योगले मानिसलाई जीवन जिउने कला सिकाउँछ—आत्मानुशासन, आध्यात्मिक चेतना, रोगमुक्त शरीर र समाधियुक्त सफल जीवनतर्फ डो¥याउँछ । योगले व्यक्तिलाई बाहिरबाट मात्र होइन, भित्रबाट नै रूपान्तरण र विकास गराउँछ । त्यसैले योगलाई सामान्य व्यायामको रूपमा सीमित गर्नु यसको वास्तविक मूल्यलाई कम आँक्नु हो ।
योगले जीवन जिउने कला, ज्ञान र विज्ञानको गहिरो शिक्षा दिन्छ । यसले रोगको बाह्य उपचार मात्र होइन, रोगको मूल कारणलाई नै निर्मूल गर्दै शरीरलाई भित्रैबाट स्वस्थ बनाउँछ । वास्तवमा योग विज्ञान कुनै नयाँ आविष्कार होइन । औषधिको प्रादुर्भाव हुनुभन्दा धेरै अघि नै प्राचीन ऋषि–महात्माहरूले योग साधनाको माध्यमबाट निरोगी र दीर्घ जीवन प्राप्त गरेका थिए । नियमित रूपमा योग साधना गर्न सकियो भने धेरै रोग–व्याधिले मानिसलाई छुन सक्दैनन् ।
मानिस जन्मिएपछि एक दिन अवश्य मर्नुपर्छ । तर रोगी भएर परिवारलाई दुःख र कष्ट दिएर मर्नुभन्दा निरोगी भएर आनन्दपूर्वक जीवन बिताएर विदा हुनु उत्तम हो । यही योगको सार हो—स्वस्थ शरीर, शान्त मन र सन्तुलित जीवन ।
त्यसैगरी जीवनमा सकारात्मक सोच अत्यन्त आवश्यक छ । हामी जन्मँदा केही लिएर आएका हुँदैनौं र मृत्यु हुँदा पनि केही लिएर जाँदैनौं । नाङ्गै आएका हौं, नाङ्गै जान्छौं । जन्मँदा रोयौं, मृत्युमा अरू रोए—यही जीवनको सत्य हो । त्यसैले जीवनभर अहंकार, द्वेष र नकारात्मक सोच बोकेर हिँड्नुको कुनै अर्थ छैन ।
सकारात्मक र नकारात्मक सोच केवल मनको दृष्टिकोण हो । एउटै कुरा कसैलाई राम्रो लाग्न सक्छ, कसैलाई नराम्रो । यो वस्तु वा मानिसको दोष होइन, हेर्ने दृष्टिकोणको भिन्नता हो । सकारात्मक सोच भएको व्यक्तिले संसारलाई राम्रो देख्छ, अरूलाई पनि राम्रो दृष्टिले हेर्छ । तर नकारात्मक सोचले भरिएको मनले राम्रो कुरामा पनि दोष खोज्छ ।
कसैले हाम्रो निन्दा ग¥यो वा गाली ग¥यो भने त्यसलाई स्वीकार गर्ने वा नगर्ने अधिकार हाम्रो आफ्नै हो । अरूले दिएको नकारात्मक कुरा नलिए हामीलाई कुनै पीडा हुँदैन । उल्टै त्यसलाई फरक ढंगले बुझ्न सकिन्छ—“उसको चेतनाको स्तर त्यत्तिकै हो ।” यसरी सोच्दा मन शान्त रहन्छ । यही नै सकारात्मक सोच हो ।
संसारमा कसैको पनि सबै इच्छा पूरा भएको छैन । आनन्दको चाहना सधैं रहिरहन्छ, र जबसम्म इच्छाहरू बाँकी छन्, दुःख पनि साथमै रहनेछ । यही जीवन चक्र हो । यसलाई बुझेर त्याग, सहनशीलता र सदाचार अपनाउनु नै जीवनको सुन्दरता हो ।
सकारात्मक सोच भएका मानिसलाई संसार फूलझैँ देखिन्छ—उसका आँखाबाट शीतलता र करुणा बग्छ । तर नकारात्मक सोचले ग्रसित व्यक्तिलाई संसार काँडै काँडाले भरिएको देखिन्छ । जस्तै, कमलपित्त भएको आँखाले सबै कुरा पहेंलो देख्छ—दोष आँखामा हुन्छ, संसारमा होइन । त्यसैले हामीले फूलको सुन्दरता र सुगन्धमा ध्यान दिऊँ, काँडामा होइन ।
आफूलाई नभए पनि अरूको भलो गर्नु सकारात्मक सोच हो । अरूलाई दुःख दिनु, पीडा दिन रमाउनु नकारात्मक र दानवीय प्रवृत्ति हो । त्यसैले हामी सबै दानवीय सोचबाट टाढा रही मानवीय गुण—करुणा, प्रेम, सहअस्तित्व—लाई आत्मसात गर्दै अघि बढ्नुपर्छ ।
जीवन अनिश्चित छ—कहिले बिरामी पर्ने हो, कहिले मृत्यु हुने हो, कसैलाई थाहा छैन । जन्मको उद्देश्य के हो, जीवनको सार के हो—हामी आफैंले खोज्नुपर्ने प्रश्न हुन् । यस्तो अनिश्चित जीवनमा घमण्ड किन गर्ने? आफ्नै स्वार्थका लागि अरूलाई पीडा किन दिने?
त्यसैले नकारात्मक सोचलाई प्रश्रय नदिऊँ । काँडा नबनी फूल बनौं । फूलको सुन्दरता र सुगन्ध फैलाऔँ । साँचो अर्थमा योगी बनौं—शुद्ध, पवित्र र सकारात्मक मानव बनौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij