तारकेश्वरको शान्तिटोलमा सञ्चालन हुँदै आएको मेगा पब्लिक स्कुलले फागुन २३ मा ‘एनुअल स्पोर्ट्स मिट’ गर्ने भएको छ । स्पोर्टस मिट ३ दिन सम्म चल्ने छ । स्पोर्टस विकको उद्घाटन जुडो प्रशिक्षक विरेन्द्र रञ्जितबाट हुने भएको छ । यसैबीच विद्यालयले नारी दिवसको अवसर पारेर नगर स्तरीय हाजिरीजवाफ कार्यक्रम समेत सञ्चालक गर्ने भएको छ ।
विद्यालयले २६ गते वृहद रुपमा अभिभावक दिवस समेत मनाउन लागेको छ । उक्त कार्यक्रममा अभिभावकहरुको व्यापक उपस्थिति रहने विद्यालय प्रशासनले बताएको छ । अभिभावक, विद्यार्थी र शिक्षक बीच निकै सुमधुर सम्बन्ध आवश्यक पर्ने तर सधैं सबै अभिभावक र शिक्षकहरु भेटघाटको लागि अनुकुलता नमिल्ने अवस्थाबारे सचेत रहँदै सबै अभिभावकहरुलाई अनिवार्य सहभागिताको निम्ति आग्रह गरिएको छ ।
Innovate to learn, Learn to innovate नाराको साथ सञ्चालन हुँदै आएको यस मेगा पब्लिक स्कुलले स्पोर्टस् मिटको अवसरमा उपस्थित विद्यार्थी, अभिभावक तथा अतिथिहरुलाई लक्षित गर्दै टेलिस्कोप प्रदर्शनी, रोवोर्ट तथा ड्रोन प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, नाचगान तथा विद्यार्थीका विविध क्षमताहरुमा आधारित प्रस्तुतीहरु तथा पुरष्कार वितरण लगायतका कार्यक्रमहरु तय गरेको छ । यसको अलावा विभिन्न खेलकुद कार्यक्रमहरु समेत स्पोर्टस मिटको अवसरमा अवलोकन गर्न पाइनेछ ।
स्पोर्टस मिटको अवसरमा ब्याडमिन्टन, फुट्सल, घैटो फुटाउने, बेलुन फुटाउने, क्यारेमवोर्ड, चेस, चम्चा दौड, सियोधागो, तातो आलु, टेवलटेनिस, खोखो, लुडो, म्याराथुन, रिले दौड लगायतका थुप्रै कार्यक्रमहरु विद्यालय प्राङ्गणमा नै हुन लागेको विद्यालयका प्रिन्सिपल अमृत भण्डारीले सेतोघर डट कम सँगको कुराकानीको क्रममा बताउनुभएको छ ।
नियमित शैक्षिक गतिविधिहरुको अलावा विद्यार्थीहरुको अतिरिक्त क्षमता विकासमा विशेष जोड दिँदै आएको यस विद्यालयले विद्यार्थीको क्षमता विस्तारको निम्ति अन्य विविध गतिविधिहरु समेत गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij