२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मानवीय मष्तिष्कः जे खोज्यो त्यही पाईन्छ (प्रमाणित आधार सहित)

मानवीय मष्तिष्कः जे खोज्यो त्यही पाईन्छ (प्रमाणित आधार सहित)

 

संसारमा सबैभन्दा बढी शक्ति यदि कसैमा छ भने त्यो हाम्रो मष्तिष्क नै हो । मष्तिष्कमा सृजना हुने विचारकै कारण कल्पना गर्नै नसकिने कार्यलाई समेत मानिसले सम्भव बनाएका छौं । जसरी आणविक शक्ति, विद्युतीय शक्ति र चुम्बकीय शक्तिको रुपमा बदलिनु भन्दा पहिले बारुद, ढुङ्गा, पानी र फलाम लगायतका वस्तुहरु सामान्य स्थितिमा (भौतिक स्वरुपमा कम शक्तिशाली) देखिन्छन्, ती वस्तुमा त्यस स्वरुपमा रहँदा सुषुप्त शक्तिको हामीले अनुमान लगाउनै सक्दैनौं । ती वस्तुहरुलाई बाह्य तत्वको प्रयोगले ऊर्जा स्वरुपमा बदल्दा त्यहाँबाट अकल्पनीय शक्ति प्राप्ति गर्न सकिन्छ । यसरी नै हामीले मष्तिष्कलाई ऊर्जाशिल बनाउन सक्यौं भने यसबाट अकल्पनीय परिणाम हात पार्न सकिन्छ ।

ऊर्जामय स्थितिका २ किसिमका स्वरुप हुने गर्दछन् । एउटा सकारात्मक र अर्को नकारात्मक । हामीले हाम्रो मष्तिष्कलाई रचनात्मक र सामाजिक कल्याणको लागि उपयोगमा ल्याउन सक्यौं भने त्यो सकारात्मक शक्तिमा बदलिन जान्छ । यसरी नै कुनै विध्वंश मच्चाउनको लागि मष्तिष्कलाई उपयोगमा ल्यायौं भने त्यो नकारात्मक शक्तिमा बदलिन्छ ।

सुषुप्त (निद्रा) स्वरुपमा रहेको मष्तिष्कलाई जागृत गराउनको निम्ति हामीले केही प्रयत्न अवश्य गर्नुपर्छ । जसरी साधारण किसानले बाँझो बनेर झारपात उम्रिएको अनुपयोगी जग्गा (खेतबारी)लाई व्यवस्थित तवरले खनजोत गरेर, बिऊमलको प्रबन्ध मिलाएर, सिँचाई एवं पटक–पटक गोडमेल गरेर उत्पादन लिन्छ, त्यसरी नै हामीले पनि हाम्रो मष्तिष्कलाई सही तवरले उपयोगमा ल्याउन पहल अवश्य गर्नुपर्छ । यसको लागि मष्तिष्कका नियम र कार्यप्रणाली बारे अवश्य जानकारी हासिल गर्नुपर्छ ।

हामी जन्मँदा नै अनन्त शक्ति लिएर जन्मिएका छौं । हामीसँग सोच्ने शक्ति छ । कल्पना गर्ने शक्ति छ । हरेक कुरा रचना गर्न सक्ने शक्ति छ । सही र गलत छुट्याउन सक्ने शक्ति छ । यी क्षमतालाई सही तवरले व्यवस्थापन गर्न सकेको खण्डमा हामीले हाम्रा हरेक चाहनालाई वास्तविक उपलब्धिमा बदल्न सक्छौं ।

हामी जन्मँदा शक्तिशाली सम्भावना बोकेर जन्मिएपनि हामीले पाएको विचार एवं कल्पनारुपी मष्तिष्क र कार्यरुपी शरीरको शक्तिको बारेमा आफैंले पत्तो पाउन सकेनौं । हामीले बुझ्न सक्छौं कि, मेसिन जति ठूलो, गह्रौं र शक्तिशाली भएपनि त्यसलाई राम्रोसँग चलाउन सकिएन भने कि त काम नै लिन सकिँदैन, कि त दुर्घटना निम्तिन्छ । यो पनि बुझ्नु जरुरी हुन्छ कि ठूलो मेसिनलाई चलाउने ड्राइभर मेसिनको तुलनामा त्यति नै ठूलो स्वरुपको हुनुपर्ने जरुरी पर्दैन । बुद्धि, इच्छाशक्ति, तालिम र अनुभवको बलमा निकै सानो स्वरुपको मानिसले हवाइजहाज, पानीजहाज, रकेट जस्ता यन्त्रहरु चलाएको हुन्छ । हाम्रो मष्तिष्क पनि यस्तै हो । हाम्रो चेतन (बायाँ) मष्तिष्क कम शक्तिशाली हुँदाहुँदै पनि सही र गलत छुट्याउने बुद्धि एवं रिमोट कन्ट्रोल आफैंसँग राखेको छ । हाम्रो दायाँ (अवचेतन) मष्तिष्क अत्यन्तै शक्तिशाली हुँदाहुँदै पनि चेतन मष्तिष्कको अनुमति बिना एक्लैले नयाँ विचार एवं कार्य केही पनि गर्न सक्दैन । यो त महासागर हो । हामीले जे खोज्छौं, त्यही मात्रै भेट्टाउँछौं । यस भित्र के–के छन् ? यसको फैलावट, उचाई र गहिराई कति छ ? भन्ने कुरा कसैले अनुमान सम्म पनि लगाउन सकेका छैनन् । यसै अवचेतन मष्तिष्कको अध्ययनमा केन्द्रित छन् माथिल्लो तहका वैज्ञानिक, दार्शनिक, मनोवैज्ञानिक एवं योगीमहात्माहरु । अहिले सम्म हरेक क्षेत्रका प्रतिभाशालि सफल व्यक्तिहरुले यति सम्म पत्ता लगाएका छन् कि हाम्रो अवचेतन मष्तिष्कको क्षमता अनन्त छ, जहाँबाट हामीले जे चाहन्छौं इच्छा र सङ्कल्प बल अनुसार त्यो अवश्य पाउन सक्छौं । यद्यपि महासागरबाट कुनै वस्तु उत्खनन् गर्नको निम्ति हामीले मनस्थितिलाई अत्यन्तै शक्तिशाली बनाएर कर्मपथमा भने निरन्तर होमिनैपर्छ । अविचलित रुपमा हरेक परिस्थितिलाई सामना गर्न तयार हुनुपर्छ ।

आन्तरिक कार्यक्रमको प्रतिबिम्ब हो भौतिक प्रकटीकरण

जुन–जुन वस्तुहरु भौतिक रुपमा प्रकट हुँदै आएका छन् । ती सबै अदृष्य तत्व अर्थात बिज / सूत्रबाट उत्पत्ति भएका हुन्छन् । साथै हर क्षण आणविक रुपमा चलायमान समेत भइरहेका हुन्छन् । हाम्रो चर्मचक्षुले अदृष्य रुपमा हुने क्रिया प्रतिक्रियाहरुलाई अवलोकन एवं महसुस गर्न सक्दैन । भौतिक रुपमा जे बाहिर प्रकट हुन्छ, त्यसलाई मात्रै हामीले देख्न र अनुभव गर्न सक्छौं । भौतिक स्वरुप विलय भएपछि हरेक वस्तु अदृष्य (ऊर्जा) स्वरुपमा बदलिने गर्दछन् ।

मानिस लगायत जीवित प्राणीमा समेत जे–जति कुराहरु बाहिर प्रकट हुन्छन्, ती सबै अदृष्य शक्तिका छाया जस्ता मात्रै हुन् । हामीले गर्ने व्यवहार एवं हरेक क्रियाकलाप हाम्रो भित्री कार्यक्रमकै प्रतिबिम्ब हुन् । मानिसका विचार, भावना र कर्मलाई निर्देशित गर्ने मुख्य स्रोत हाम्रो अवचेतन (दायाँ) मष्तिष्क हो, जहाँ पहिले नै ब्लुप्रिन्ट (नक्सा) बनिसकेको छ । हामी त्यही नक्साको आधारमा निर्धारित भइरहन्छौं ।

हामी आफ्नो बुद्धिरुपी चालकले मनरुपी घोडालाई आवश्यक लगाम लगाएर निर्धरित दिशामा निश्चित् उद्देश्य सहित अघी बढाउन सकेको खण्डमा आफूलाई जतिसुकै टाढाको गञ्तव्यमा पुर्याउन सक्छौं । हामी आफैंमा विश्वस्त हुनुपर्छ कि हाम्रो मष्तिष्कले सोच्न सक्ने हरेक कुरा यस ब्रह्माण्डमा पहिले नै उपलब्ध छन् ।

अन्य जीव एवं अचेत वस्तुहरु भन्दा मानिसमा यो फरक छ कि हामीले जन्मँदा आफैंसँग रिमोट/साँचो समेत सँगै लिएर जन्मिएका छौं । जसको प्रयोगबाट जीवनलाई सही दिशामा निर्देशित र नियन्त्रण गर्न सकिन्छ । यति हुँदाहुँदै पनि समस्या यो रह्यो कि या त हामीले आफूले पाएको रिमोट-साँचो सम्बन्धमा जानकारी नै हासिल गरेनौं र प्रयोग गर्ने अवसरबाट वञ्चित भयौं या त गलत तवरले यसको प्रयोग गर्यौं ।

हामीले यसरी पनि बुझ्न सक्छौं कि जसरी सफ्टवेयर अर्थात भित्री कार्यक्रममा बदलाव नल्याई बाहिरबाट मात्र जति प्रयाश गरेपनि इलेक्ट्रोनिक्स डिभाइस (मोबाइल, कम्प्युटर, टेलिभिजनहरु)को स्क्रिनमा आउने प्रस्तुतीलाई बदल्न सक्दैनौं, त्यसरी नै हामीले हाम्रो आन्तरिक नक्साङ्कन (भित्री कार्यक्रम)लाई नबदलिकन परिणाम बदल्न सक्दैनौं । यस किसिमको शिक्षा विद्यालय तहबाट नै सबै बालबालिकाहरुको पहुँचमा हुने गरी प्रदान गरिनुपथ्र्यो । जसले हामीलाई साहश र प्रेरणाको नयाँ उचाईमा उठाउन सक्थ्यो । जुन हाम्रो जीवनलाई सही अर्थमा सफल बनाउने आधार बन्न सक्थ्यो ।

एउटा रुखमा जमीन भन्दा बाहिर जे–जति हाँगाबिँगा, काण्ड र पातहरु देखिन्छन्, त्यो भन्दा धेरै टाढाको दूरी सम्म अदृश्य जराहरु फैलिएका हुन्छन् । विरुवालाई हुर्काउन बढाउनको लागि रुखको जरामा नै मलजल गरिन्छ । यसरी मानिसलाई चरित्रवान् बनाउनको लागि पनि हाम्रो मष्तिष्कीय भित्री कार्यक्रमलाई नै प्रभावित पार्ने विधिहरुको अभ्यास गराइनुपर्ने थियो । त्यो हुन सकेन, हामीले यस्तो शिक्षा पाउन सकेनौं, दिन सकेनौं । समस्या यहीँ भयो ।

नतिजा प्राप्तिको लागि फ्रिक्वेन्सीमा तालमेल मिल्नुपर्छ

रेडियो, टेलिभिजन, मोबाइल लगायतका इलेक्ट्रोनिक्स डिभाइसमा हुने सम्पर्क २ डिभाइसमा भएको समान फ्रिक्वेन्सीको तालमेलबाट सम्भव भएको हुन्छ । फ्रिक्वेन्सीको सन्तुलन मिल्न सकेको कारण रेडियोको स्टेसन र रेडियो सेट जति टाढा भएपनि स्टेसनको आवाज स्पष्टसँग रेडियो सेट सम्म पुग्न सक्छ । अमेरिका र नेपालमा टेलिफोन एवं इन्टरनेटको माध्यमबाट समयको अन्तर बिना सम्पर्क गर्न सकिने भएको छ । जुन कार्य वैज्ञानिकहरुको गहन सोचाई, कल्पनाशिलता र विश्वासकै कारण सम्भव भएको हो । वास्तवमा के यस्तो सम्पर्क रहस्यमय छैन ? हामीलाई बानी परिसकेको कारण यो अहिले हामीलाई रहस्यमयी नलागेको हो । गहन रुपमा सोच्न प्रयाश गर्यौं भने साधारण बुद्धिबाट यसको उत्तर भेट्टाउन सकिँदैन । यस्ता थुप्रै प्रश्नहरु अहिले पनि अनुत्तरित छन् । जसको समाधान खोज्नको लागि वैज्ञानिक, दार्शनिक र आध्यात्मिक व्यक्तित्वहरु निरन्तर खोजमा लागिरहेका छन् ।

बुद्धि र कल्पनाको कारण सम्भव हुन्छन् हरेक उपलब्धि

हामी आफ्नो बुद्धिरुपी चालकले मनरुपी घोडालाई आवश्यक लगाम लगाएर निर्धरित दिशामा निश्चित् उद्देश्य सहित अघी बढाउन सकेको खण्डमा आफूलाई जतिसुकै टाढाको गञ्तव्यमा पुर्याउन सक्छौं । हामी आफैंमा विश्वस्त हुनुपर्छ कि हाम्रो मष्तिष्कले सोच्न सक्ने हरेक कुरा यस ब्रह्माण्डमा पहिले नै उपलब्ध छन् । ती वस्तु/ उपलब्धि कहाँ छन् र कुन स्वरुपमा छन् ? भन्ने कुराको यकिन हाम्रो चेतन (बौद्धिक) मष्तिष्कको दायरा भन्दा बाहिर हुन सक्छ ।

आकर्षणको नियमले कसरी काम गर्छ ? यस्तो छ वैज्ञानिक प्रमाण

विज्ञान (क्वान्टम फिजिक्स)ले समेत प्रमाणित गरेको छ कि हरेक वस्तुका २ स्वरुपहरु हुने गर्दछन् । एउटा भौतिक स्वरुप हो भने अर्को ऊर्जामय स्वरुप । यो तथ्य विज्ञानको साधारण नियम भन्दा फरक छ । संसारका हरेक वस्तुहरुलाई सूक्ष्मतम रुपमा अवलोकन गर्ने हो भने इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन अर्थात अणु र परमाणुमय  (ऊर्जा) स्वरुपमा देख्न सकिन्छ । हरेक अणुमा इलेक्ट्रोन नकारात्मक चार्जको रुपमा वरीपरि घुमिरहेको हुन्छ । प्रोटोन सकारात्मक चार्जको रुपमा स्थिर रहन्छ । एक अणुमा उत्पन्न हुने कम्पनको धक्का अर्को अणुलाई पनि पर्ने गर्दछ । यस्ता करोडौं अणुहरु मिलेर एउटा ठोस वस्तु निर्माण भएको हुन्छ । हरेक वस्तुहरु अदृष्य रुपमा ऊर्जामय स्वरुपमा हुने भएकोले प्रयाप्त कम्पनमय स्थितिमा आपसमा हलचल गरिरहेका हुन्छन् । साथै समान वस्तु आपसमा आकर्षित समेत भइरहेका हुन्छन् । जुन न्यूटनको तेस्रो नियमसँग मिल्दोजुल्दो छ ।

ठूलो उपलब्धि हासिल गर्न नसक्नुमा मष्तिष्कको नियमलाई बुझ्न नसक्नु पनि मुख्य कारण हो भन्ने कुरा अधिकांशले अहिले सम्म पनि महसुस गर्न सकेनौं । हामीले जन्मँदा नै निकै शक्तिशाली उपकरण त पायौं । तर यसलाई कसरी चलाउने भन्ने निर्देशिका पुस्तिका (म्यानुअल) भने पाउन सकेनौं ।

न्यूटनको तेस्रो नियमले भन्छ कि हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया उत्पन्न हुने गर्दछ । यसरी प्रत्येक अणुहरुको भित्री चालको कारण बाहिर स्थिर देखिने वस्तुहरु वास्तवमा स्थिर हुँदैनन् । हरेक वस्तुहरु चलायमान हुन्छन् । बाहिर देखिने वस्तुहरु ठोस, तरल र बाष्पमय स्वरुपमा हुन्छन् । अर्को स्वरुप ऊर्जा हो । जसको कमै चर्चा हुने गरेको पाइन्छ । ठोस वस्तुमा इलेक्ट्रोनहरुको चाल तुलनात्मक रुपमा तरल र बाष्प भन्दा न्यून हुन्छ भने ग्यासको अधिक हुने गर्दछ ।

मष्तिष्कीय तरङ्ग र आकर्षणको नियम

हाम्रो मष्तिष्कले पनि नियमित रुपमा कम्पन उत्पन्न गरिरहेको हुन्छ । हामीले कुनै वस्तु प्राप्तिको लागि सोच वा कल्पना गर्दा हाम्रो सोच र चाहना अनुसार न्यून वा अधिक विद्युत चुम्बकीय क्षेत्र निर्माण हुने गर्दछ । त्यस बेला सोचेको र कल्पना गरेको वस्तुको आकार, रङ र स्वरुप अनुसारको वस्तु तर्फ मष्तिष्कले तरङ्गहरु पठाउने गर्दछ । हामीले जति स्पष्ट र विश्वासपूर्वक कल्पना गर्न सक्छौंं, त्यति नै बढी तरङ्ग मष्तिष्कबाट निस्कन्छन् । त्यसैको आधारमा हामीले चाहेको नतिजा प्राप्ति ढिलो वा छिटो हुन सक्दछ । आकर्षणको नियमले भन्छ, ‘एउटा वस्तुले स्वभाव मिल्दो अर्को समान वस्तुलाई आफू तर्फ आकर्षित गर्दछ ।’

आकर्षणको नियमले त्यति बेला नतिजा दिन्छ, जब हामी त्यो लक्षित वस्तु वा उपलब्धि प्राप्ति हुनेमा पूर्णतः विश्वस्त हुन्छौं । साथै आफूलाई त्यस उपलब्धिको लागि स्वभाविक रुपमा तयार/योग्य समेत बनाउँछौं । विश्वासमा ठूलो शक्ति छ ।

आफैं प्रति विश्वस्त हुनुको अर्थ के हो ?

हामी आफैं प्रति विश्वस्त हुनु भनेको दायाँ मष्तिष्क (अवचेतन मन) र बायाँ मष्तिष्क (चेतन मन) बीचको तालमेल मिलाउनु हो । यसलाई सपना (कल्पना) र विपना (यथार्थ)को तालमेल मिलाउनु समेत भन्न सकिन्छ । त्यही तालमेलको आधारमा नै हाम्रो मष्तिष्कीय नक्सा बन्ने गर्दछ । हाम्रो स्वभाव र हाम्रा कामहरु त्यही नक्सा अनुसार नै चल्ने हुन् ।

निर्देशिका पुस्तिकाको अभाव

हामीले ठूलो उपलब्धि हासिल गर्न नसक्नुमा मष्तिष्कको नियमलाई बुझ्न नसक्नु पनि मुख्य कारण हो भन्ने कुरा अधिकांशले अहिले सम्म पनि महसुस गर्न सकेनौं । हामीले जन्मँदा नै निकै शक्तिशाली उपकरण त पायौं । तर यसलाई कसरी चलाउने भन्ने निर्देशिका पुस्तिका (म्यानुअल) भने पाउन सकेनौं । समस्या यसै कारण सृजना भयो ।

उपलब्धि हात पार्नको लागि मेहनत अर्थात कर्म त अवश्य आवश्यक पर्छ नै । यसमा सन्देश छैन । यद्यपि हामीले सही विचार र भावना बिना गरेको काम परिणाममुखी नबन्न सक्छ । सही योजना, उच्च महत्वाकाङ्क्षा, सङ्कल्प, कर्म र विश्वासको संयुक्त जोडबलबाट हामीले उपलब्धि हासिल गर्ने हो । समस्या यो भयो कि हामी मध्ये कोही कर्ममा त होमियौं, सिद्धान्त, विधि प्रक्रिया र उपलब्धि बारे सचेत रहेनौं । कोही विधि प्रक्रिया र उपलब्धि बारे त सचेत रह्यौं तर कर्ममा होमिने आँट नै गर्न सकेनौं । जसले उच्च महत्वकाङ्क्षा सहित सही तवरले कर्म र विवेकको संयोग मिलाएका छन्, ती अवश्य सफल भएका छन् ।

मष्तिष्कीय नक्साङ्कन बदलौं, हरेक सोचाई पूरा हुनेछन् 

अहिलेको समयमा हामीले सफलताको त्यो उचाई हामी अवश्य हासिल गर्न सक्छौं, जुन उचाईको नक्सा हाम्रो मष्तिष्कमा बनेको छ । समस्या यो पनि भयो कि हामीले मष्तिष्कमा ठूलो उपलब्धि प्राप्तिको नक्सा नै कोर्न सकेनौं । हामी सानोतिनो उपलब्धिमा नै रमाइरह्यौं । हामीले आफ्नो पृष्ठभूमि कमजोर रहेको, आफ्ना निकटस्थहरुको तुलनामा आफू कमजोर नरहेको, धेरै उचाइमा पुग्ने कार्य जोखिमपूर्ण रहेको जस्ता दर्जनौं अवरोधक भ्रामक कारणहरु हामी आफैंले सृजना गर्यौं । हाम्रा निम्ति सयौं हजारौं कारणहरु खुसीयालिको निम्ति रहँदारहँदै पनि केही नराम्रा अवरोधक कारणहरु पहिचान गर्नमै हामी अल्मलिइरह्यौं । समस्या यहीँ भयो । साथै यदि हामी बदलिन चाह्यौं भने अवश्य बदलिन सक्छौं । राम्रो काम शुरुवातको निम्ति साँच्चै तत्पर रह्यौं भने त्यो हरक्षण शुभ मूहुर्त बन्न सक्छ । यसकारण सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो सोचाई र दृष्टिकोण बदलौं । आफैंलाई नजिकबाट बुझौं । आफूलाई महत्वपूर्ण लाग्ने हरेक कुराहरुलाई नजिकबाट बुझौं । सफलता, खुसी, प्रेम, शिक्षा, यौन, स्वास्थ्य, सम्बन्ध लगायत प्रतिको हाम्रो धारणा के छ भन्ने कुरा गहन तवरले आत्मनिरीक्षण गरौं । भनिएको छ कि ‘हामीले माग्यौं भने अवश्य पाउनेछौं । खोज्यौं भने अवश्य भेट्टाउनेछौं । ढोका ढक्ढक्यायौं भने अवश्य उघारिनेछ ।’

कर्म अनुसारको फल अवश्य मिल्छ  

आफूलाई बदल्नको लागि सङ्कल्प नै अत्यन्तै महत्वपूर्ण शक्ति हो, जुन बिना हाम्रा कुनै पनि योजना सही सावित हुन सक्दैनन् । यसकारण साँच्ची बदलिन चाहन्छौं भने आफैंसँग प्रतिज्ञा गर्नुपर्छ । स्वभाव र बानीलाई बदल्ने संकल्प त्यति सहजै अवश्य पूरा हुन सक्दैन । यसर्थ साना–साना संकल्प लिएर ती संकल्पलाई सार्थक बनाउँदै त्यो भन्दा केही ठूलो संकल्प सार्थक बनाउँदै लैजान सकिन्छ ।

यदि राम्रो बानीको विकास वा नराम्रो बानीको त्यागको लागि एकैपटकमा सदाको लागि संकल्प लिन सकिँदैन भने शुरुवाती चरणमा केही हप्ता, महिना वा त्यो सम्भव नभए १ दिनको लागि त संकल्प गर्न लिन सकिन्छ नि । त्यस संकल्प अवधिको प्रभावलाई विचार गर्दै अर्को खुड्किलोमा अघी बढ्न सकिन्छ । यसो गर्न सकिएमा जहाँ नराम्रो छ त्यही कुरा अब अवश्य राम्रोमा बदलिन सक्छ ।

हामीले त गलत दिशा र कार्यमा गइरहेको हाम्रो ऊर्जालाई सही दिशामा लगाउन मात्रै सक्नुपर्छ । हामीले त कर्म मात्रै गर्ने हो, परिणाम त कर्म अनुसार अवश्य प्राप्ति हुन्छ । यसैकारण गीतामा श्रीकृष्णले भन्नुभएको छ, ‘कर्म गर फलको आशा नगर ।’ हामीले कर्म गर्न कहिल्यै नछोडौं । उपलब्धि त अवश्य पनि हाम्रो पछाडि लाग्ने नै छ । जसरी घामबाट छाया अलग हुन सक्दैन ।

अन्त्यमा,

अहिले सम्म हामीले निराशा, अशान्ति, गरीबी, रोगव्याधिको खोजी गरिरहेका रहेछौं । अचेतन रुपमा । अब हामी खुसी, शान्ति, प्रेम र समृद्धिको खोजीमा लागौं । सचेत रुपमा । तथास्तु भन्ने वरदान हामीलाई हाम्रै अवचेतन मष्तिष्कले अवश्य प्रदान गर्नेछ । र बदलिनेछ हाम्रो जीवन । यसको लागि सबैको कल्याणको भावना राखौं । सक्दो अरुलाई सहयोग गरौं । जुन अवस्थामा छौं, त्यही अवस्थामा सन्तुष्ट रहौं ।

आफैंलाई आशावादी बनाउँ । हामीसँग अरुलाई दिन सक्ने धेरै कुराहरु छन् । आफूसँग प्रयाप्त रहेको चीज अरुलाई बाँड्न कन्जुस्याईं नगरौं । हामीले सबैलाई धन नै दिनुपर्छ भन्ने पनि हुँदैन, हामीले आफ्ना निकटस्थलाई आशा, ऊर्जा, प्रोत्साहन, खुसीयाली र आफूसँग रहेको ज्ञान बाँड्न सक्छौं । जुन धन भन्दा धेरै महत्वपूर्ण हुने गर्दछन् ।  हामीले  जति बाँड्छौं, त्यत्ति नै वृद्धि हुँदै जान्छ । यसबाट हामी आफैंलाई समेत थप लाभ प्राप्ति हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij