काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । महानगरपालिकाले हरेक बर्ष मंसिर २८ र २९ गते महानगर दिवस मनाउदै आएको छ । महानगरका प्रमुख एवं महानगर दिवस मुल समारोह समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले दिवस मनाउने कार्यक्रममा परम्परागत बाद्यबादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुठि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहेको बताए ।
महानगर दिवसको अवसरमा माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल rयाली सम्पन्न भएको छ भने रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिएको छ । दिवसको अवसरमा बसन्तपुरमा फोटो प्रदर्शनी, महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीहरुबाट तयार पारिएका बस्तु तथा सामाग्रीको प्रदर्शनी र मौलिक खाद्यबस्तुको प्रदर्शनी एवं बिक्री गरिएको छ । यसको व्यवस्थापन खर्च महानगरले गर्नेछ भने त्यसबाट प्राप्त आम्दानी सहभागी आफैंले लैजाने छन् । महानगर दिवसको अवसरमा महिला अभियान नेपालले पनि आफनो संस्थागत उपस्थिति जनाएको छ । महिला अभियान नेपालकी अध्यक्ष यसोदा कार्कीले आफनो संस्थाले महानगर दिवसमा सक्रियता पूर्वक सहभागिता जनाएको बताईन ।

गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई महानगर दिवसमा सम्मान गरिएको छ । दिवसको अवसर पारेर सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिएको छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।
२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस वर्ष २५ वर्ष पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij