२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ब्याजदर अझै घटेन, असोज पछि मात्र ब्याजदर घट्ने संकेत

ब्याजदर अझै घटेन, असोज पछि मात्र ब्याजदर घट्ने संकेत

बैंकहरूको मुनाफा आधा खर्ब भन्दा बढी

नेपाल राष्ट्रबैंकले गत असार २७ गते आर्थिक वर्ष २०७५÷७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेपछि यसको प्रभाव बैंक तथा बित्तिय क्षेत्रमा पर्न थालेको छ । बिगत २ वर्ष देखि देखिदै आएको बेलाबेलाको तरलता अभावको समस्या चालु आर्थिक वर्षको दुई महिनामा खासै देखिएको छैन । बैंक तथा वित्तिय संस्थाहरूमा ५५ अर्ब तरलता रहेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक पछि बैंक तथा वित्तिय संस्थाहरूले कर्जा लगानीको ब्याजदर घटाउने संकेत देखाएका छन् । मौद्रिक नीति अनुसार तीन महिना भन्दा यता ब्याजदर घटाउन नमिल्ने नीति रहेकाले बैंक तथा बित्तिय संस्थाहरूले कर्जा लगानीमा ब्याजदर नघटाएपछि नेपाल राष्ट्रबैंकले त्यसमा संशोधन गर्दै एकिकृत निर्देशिका २०७५ जारी गर्दै कर्जामा ब्याजदर जुनसुकै बेला घटाउने र निक्षेपमा ब्याजदर तीन–तीन महिनामा घटबढ गर्न पाउने ब्यवस्था गरेको छ । बैंक तथा बित्तिय संस्थाहरूले अहिले निक्षेपमा ५ देखि ११ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका छन् । उता कर्जामा भने ११ देखि १६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । कर्जा र निक्षेपमा ब्याजदर अन्तर ४ देखि ५.५ प्रतिशतसम्म अन्तर रहेको छ । यो अन्तर असोज मसान्तदेखि पौष मसान्तसम्म बाणिज्य बैंकहरूको हकमा ४.५ प्रतिशतमा झर्न सक्ने बैंकरहरूले बताएका छन् । राष्ट्र बैंकले ब्याजआधार दर निर्धारण गरे पछि ब्याजदर घट्ने देखिएको छ । अब कर्जा लिदा सचेत ऋणिले बैंकसँग मोलतोल गरी केहि सस्तोमा ऋण लिन सक्नेछन् । आगामी असोजदेखि ब्याजदर १ देखि २ प्रतिशत र निक्षेपमा पनि ०.५ प्रतिशत देखि १ प्रतिशतसम्म ब्याजदर घट्नसक्ने सम्भावना रहेको छ । कर्जा ब्याजदर घट्यो भने यसले उद्योग ब्यवसाय क्षेत्रमा लगानी बढ्न सक्ने छ । यद्यपी निक्षेप बृद्धिको दर बढ्न नसकेकाले तरलता कायम हुने कुरामा भने बैंकरहरू आशंका ब्यक्त गर्दछन् । बैंक तथा बित्तिय संस्थाहरूले ब्याजदरमा स्थिरता कायम गर्न खोजेका छन् । तर तरलता अभावले त्यसो हुन सकेको छैन ।

अहिले बैंकहरूमा १ वर्ष भन्दा लामो समयका लागि निक्षेप पाउन गाह्रो भई रहेको छ । त्यसैले दिर्घकालिन ऋण प्रवाहमा समस्या रहेको छ । नेपाल राष्ट्र बैंकले तरलता कायम गर्न अनुत्पादक क्षेत्रमा लगानी हुने जस्तै शेयर र घर जग्गा कर्जामा कडाई गरेको छ । यो कारणले गर्दा चालु आर्थिक वर्षको २ महिनामा यि क्षेत्रमा कम ऋण प्रवाह भएको छ । राष्ट्र बैंकले शेयर कर्जामा शेयरको बजार मुल्यको ५० प्रतिशत मुल्यमा मात्र ऋण प्रवाह गर्न निर्देशन दिएको छ । नेप्सेको १८० दिनको शेयर बजारको मुल्यलाई आधार मानेर त्यसको ५० प्रतिशत मार्जिन राखि ऋण प्रवाह गर्ने निर्देशन दिएकाले यसको असर शेयर बजारमा पर्ने भएको छ । माग तथा अल्पसूचनाको आधारमा कलडिपोजिट वचत निक्षेपमा प्रदान गरिने न्युनतम ब्याजदर भन्दा बढि ब्याजदर प्रदान गर्न नपाईने ब्यवस्था गरेको छ । अल डिपोजिट बाहेकका अन्य निक्षेपको हकमा ब्याजदर ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सकिने ब्यवस्था राष्ट्र बैंकले गरेकाले आगामि असोज पछि कर्जा र निक्षेप दुवैमा ब्याजदर घटबढ हुने सम्भावना देखिएको छ । बैंकहरूले कर्जाको ब्याजदरमा भने ०.५ प्रतिशत देखि १ प्रतिशतसम्म आगामि असोज महिनादेखि नै घटाउन सक्ने सम्भावना रहेको एक बैंकरले बताएका छन् ।

कुन बैंकले कति कमाए ?
सञ्चालनमा रहेका ‘क’ वर्गका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७४।७५ मा ५२ अर्व भन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । पटक–पटक लगानी गर्ने प्रर्याप्त पूँजीको अभाव झेल्दै आएका र चरम तरलता अभावका कारण कर्जा प्रवाहमा समस्या देखिएको भनिएको गत आ.व.मा पनि वाणिज्य बैंकहरुले ६५ करोड ५७ लाख ८३ हजार देखि ४ अर्व ३३ करोड रुपैयाँ सम्म खुद मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘क’ वर्गका २८ वटा वाणिज्य बैंकहरुले साउन मसान्त पछि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा राष्ट्रिय वाण्ज्यि बैंकले सबै भन्दा बढि खुद मुनाफा ४ अर्ब ३३ करोड आर्जन गरेको छ । दोस्रो ठूलो मुनाफा नविल बैंकले आर्जन गरेको छ । नबिल बैंकले गत आ.व.मा ४ अर्व ६ करोड ४४ लाख ८३ हजार मुनाफा आर्जन गरेको छ । नबिल बैंकले अघिल्लो आर्थिक वर्ष २०७३।७४ मा ३ अर्व ६१ करोड ३२ लाख मुनाफा आर्जन गरेकोमा गत आ.व.मा त्यो भन्दा ४५ करोड १२ लाख खुद मुनाफा बढी आर्जन गरेको छ ।

सबैभन्दा कम मुनाफा आर्जन गर्ने बैंक सिभिल बैंक लि. भएको छ । यस बैंकले ६५ करोड ५७ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार ३ अर्व भन्दा बढी मुनाफा आर्जन गर्ने उत्कृष्ट बैंकहरुमा राष्ट्रिय वाण्ज्यि बैंक पहिलो, नबिल बैंक दोस्रो, कृषि विकास बैंक तेस्रो, नेपाल इन्भेष्टमेन्ट बैंक चौथौ, नेपाल बैंक लि. पाँचौ स्थानमा रहेका छन् । कृषि विकास बैंकले ३ अर्व ६७ करोड ३२ लाख ९२ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्व ६२ करोड ४८ लाख ३८ हजार र नेपाल बैंकले ३ अर्व ३९ करोड ९७ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । कर्जा प्रवाहका हिसाबमा नेपाल इन्भेष्टमेन्ट बैंक लि. पहिलो र राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा रहेका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकले गत वर्ष १ खर्व २२ अर्व ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निजि क्षेत्रको बैंकहरूमा यस बैंकले आफूलाई अग्रणी बैंकका रुपमा स्थापित गराएको छ । दोस्रो बढी कर्जा प्रवाह गर्ने निजि बैंकमा नबिल बैंक पर्दछ । यस बैंकले १ खर्व १२ अर्व ३९ करोड ७६ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाहका हिसाबले चौथौमा कृषि विकास बैंक, पाँचौमा सिद्धार्थ बैंक, छैठौँमा ग्लोबल आईएमई बैंक, सातौँमा एभरेष्ट बैंक, आठौँमा हिमालयन बैंक, नवौमा नेपाल बैंक , दशौमा एनएमबी बैंक र एघारौमा नेपाल एसबिआई बैंक रहेका छन् ।

निक्षेप र कर्जा प्रवाह दुवैमा राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ । निजि क्षेत्रको बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक सबै भन्दा अगाडि छ । यस बैंकले गत आ.व.मा १ खर्व ३९ अर्व ९८ करोड ४५ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो बढी निक्षेप संकलनमा नबिल बैंक लि. परेको छ । यस बैंकले गत आ.व. १ खर्व ३५ अर्व ७३ करोड ८८ लाख ९ हजार निक्षेप संकलन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । २ अर्व भन्दा बढी मुनाफा आर्जन गर्ने चारवटा बैंकहरु रहेका छन् । एभरेष्ट बैंकले २ अर्व ५४ करोड ४५ लाख ३६ हजार, हिमालयन बैंकले २ अर्व ४७ करोड ४५ लाख ९० हजार, ग्लोबल आइएमई बैकले २ अर्व १८ करोड ८ लाख २९ हजार र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्व ७ करोड ३३ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

अर्बपति क्लवमा पर्ने अन्य बैंकहरुको संख्या १६ वटा रहेका छन् । एक अर्व भन्दा बढी मुनाफा आर्जन गर्ने बैंकहरुमा एसआइबी बैंकले १ अर्व ९४ करोड ९१ लाख ६० हजार, सिद्धार्थ बैंकले १ अर्व ९० करोड ५ लाख २५ हजार , प्राइम कमर्सियल बैंकले १ अर्व ८९ करोड २० लाख ३८ हजार, एनएमबी बैंकले १ अर्व ८९ करोड ३४ लाख ४८ हजार, सानिमा बैंकले १ अर्व ६९ करोड ३६ लाख ६३ हजार, बैंक अफ काठमाण्डूले १ अर्व ५५ करोड २१ लाख ३ हजार , सिटिजन बैक इन्टरनेशनलले १ अर्व ४० करोड ५४ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

त्यस्तै सनराइज बैंकले १ अर्व ३२ करोड ७० लाख, माछापुच्छ्रे बैंकले १ अर्व २१ करोड ६ लाख ७९ हजार, एनआइसी एसिया बैंकले १ अर्व १९ करोड ९ लाख २९ हजार, लक्ष्मी बैंकले १ अर्व १६ करोड ६३ लाख ४४ हजार, प्रभु बैंकले १ अर्व १३ करोड २८ लाख ४९ हजार, नेपाल बंगलादेश बैंकले १ अर्व १० करोड ७५ लाख १६ हजार, मेगा बैंकले १ अर्व ४ करोड ७१ लाख ३१ हजार, कुमारी बैंकले १ अर्व १४ लाख ९३ हजार र एनसिसी बैंकले १ अर्व ७ करोड २० लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा सार्वजनिक गरेका छन् ।

एक अर्बभन्दा मुनी मुनाफा आर्जन गर्ने ३ वटा बैंकहरु छन् । जसमा जनता, सेन्चुरी कमर्शियल र सिभिल बैंक छन् । जनता बैंकले ९३ करोड ९१ लाख २४ हजार , सेन्चुरी बैंकले ६७ करोड ८६ लाख ९१ हजार र सिभिल बैंकले ६५ करोड ५७ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन ।

एनसिसि , प्रभु, सिभिल र नेपालको निष्कृय कर्जा बढी ः
गत आर्थिक वर्षमा एनसिसी, प्रभु, कृषि विकास, सिभिल, नेपाल बैंकको निष्कृय कर्जा २ प्रतिशत भन्दा माथि रहेको छ । सबैभन्दा बढी निस्कृय कर्जा एनसिसि बैंकाके ३.८९, प्रभु बैंकको ३.५५ , कृषि विकास बैंकको ३.१९, नेपाल बैंकको २.९०, सिभिल बैंकको २.६४ , जनता बैंकको १.३२, बैंक अफ काठमाण्डूको १.३२, लक्ष्मी बैंकको १.२९, सिटिजन्स बैंकको १.२५, सनराइज बैंकको १.२८, नेपाल इन्भेष्टमेन्ट बैंकको १.०३, सिद्धार्थ बैंकको १.०५, नेपाल बंगलादेश बैंकको १.१३, कुमारी बैंकको १.०१ प्रतिशत निष्कृय कर्जा रहेको छ ।
प्रभु बैंकको खराब कर्जा वृद्धि हुनुमा मर्ज भएका ग्राण्ड बैंक र किष्ट बैंकको खराब कर्जाको रकम गाभिएर औषत अंक वृद्धि भएको बैंक स्रोतले बताएको छ । एनसिसि बैंकको खराब कर्जा बढी हुनुमा मर्जरमा आएका दुई विकास बैंकको कर्जा समस्या रहेको बताइन्छ । त्यस्तै सिभिल बैंकको घर–जग्गा लगानी गरिएको कर्जा घर–जग्गा र हाउजिङ व्यवसाय खस्किँदा असुली हुन नसक्नुले हो । बैंक अफ काठमाण्डूको निष्कृय कर्जा लुम्बिनी बैंक र चिनियाँ निर्माण कम्पनीको बैंक ग्यारेन्टी, सनराइज, जनता र लक्ष्मी बैंकको निष्कृय कर्जाको अंक बढ्नुले ति बैंकहरुमा चिन्ता छाएको छ । निष्कृय कर्जा बढ्नु सुशासनमा कमी आएको राष्ट्र बैंकले अनुमान गरेको स्रोतको दावी छ ।

कृषि विकास बैंक, नेपाल बैंकमा निष्कृय कर्जा बढ्नु स्वभाविक मानिन्छ । सरकारी स्वामित्व र लगानीका यी दुई बैंकहरुमा चरम राजनीतिक हस्तक्षेप, व्यवस्थापनको लापर्वाही, पुरानो कर्जा, पछि ब्याज मिनाहा हुन सक्ने भन्दै सावा र ब्याज भुक्तानी नगर्ने ऋणको मानसिकता आदि कारणले निष्कृय कर्जा बढेको देखिन्छ । सरकारी स्वामित्वका कृषि विकास, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकमा निष्कृय कर्जाको अनुपात ५ प्रतिशतसम्म पुग्नुलाई सामान्य मानिन्छ । तर निजी क्षेत्रका बैंक, वित्तीय संस्थाहरुमा ३ प्रतिशत निष्कृय कर्जा पुग्नुलाई बैंक सञ्चालक , व्यवस्थापन र सुशासनमा निकै खराब मानिन्छ । राष्ट्र बैंकले पनि कडाइ गर्न थाल्दछ ।

 

कुन बैंकको मुनाफा कति ?
१. राष्ट्रिय वाणिज्य बैंक लि. ४ अर्व ३३ करोड
२. नबिल बैंक लि. ४ अर्व ६ करोड
३. कृषि विकास बैंक ३ अर्व ६७ करोड
४. नेपाल इन्भेष्टमेन्ट बैंक ३ अर्व ६२करोड
५. नेपाल बैंक लि. ३ अर्व ३९ करोड
६. एभरेष्ट बैंक २ अर्व ५४ करोड
७. हिमालयन बैंक २ अर्व ४७ करोड
८. ग्लोबल आईएमई बैंक २ अर्व १७ करोड
९. स्ट्याण्डर्ड चार्टर्ड बैंक २ अर्व ७ करोड
१०. नेपाल एबिआई बैंक १ अर्व ९४ करोड
११. सिद्धार्थ बैंक १ अर्व ९० करोड
१२. प्राइम कमर्शियल बैंक १ अर्व ८९ करोड
१३ एनएमबी बैंक १ अर्व ८९ करोड
१४ सानिमा बैंक १ अर्व ६९ करोड
१५ बैंक अफ काठमाण्डू १ अर्व ५५ करोड
१६ सिटिजन्स बैक इन्टरनेशनल १ अर्व ४० करोड
१७ सनराइज बैक १ अर्व ३२ करोड
१८ माछापुच्छ«े बैंक १ अर्व २१ करोड
१९ एनआईसी एसिया बैंक १ अर्व १९ करोड
२० लक्ष्मी बैंक १ अर्व १६ करोड
२१. प्रभु बैंक १ अर्व १३ करोड
२२ एन बी बैंक १ अर्व १० करोड
२३ एनसिसि बैंक १ अर्व ७ करोड
२४ मेगा बैंक १ अर्व ४ करोड
२५ कुमारी बैंक १ अर्व
२६ जनता बैंक ९३ करोड
२७. सेञ्चुरी बैंक ६७ करोड
२८ सिभिल बैंक ६५ करोड

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij