समाजसेवी धार्मिक संस्था श्री लोकेश्वर प्राकृतिक संरक्षण उपभोक्ता समितिको सत्संकल्पमा, श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव मूल समारोह समितिको आयोजना तथा भक्तियोग फाउन्डेसन नेपालको तत्वावधानमा यही वैशाख २२ गते देखि २९ गते सम्म बुढानिलकण्ठ नगरपालिका–८, भंगाल, बाहुनडाँडा (सुन्दरबस्ती), काठमाडौँमा आठ दिने श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ को आयोजना हुने भएको छ । श्री सीताराम दरबार स्थापना, रुद्राभिषेक सहित गुरुकुल सञ्चालन, अखण्ड भजन, किर्तन, दीप प्रज्वलन तथा हवनको व्यवस्था गर्ने, वयोवृद्धाहरुका लागि भजन, सत्संगस्थल, युवाहरुका लागि ध्यान, योग, संस्कार केन्द्र, बालबालिकाहरुका लागि बाल संस्कार कार्यक्रम लगायतका कार्यहरू यस अवधिमा संचालन गरिने, धार्मिक पुस्तकालय निर्माण गर्ने तथा मन्दिरको सर्वाङ्गिण विकासका निमित्त २७ नक्षत्र (वृक्ष प्राकृतिक संरक्षण) पार्क बनाउनु समारोहका प्रमुख उद्देश्य रहेकाे मेला मूल आयोजक समितिका कोषाध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो ।
उक्त समारोहमा संगीतमय श्रीमदभागवतको दार्शनिक प्रवचन, राष्ट्रिय कलाकारद्धारा विषेश सांगितिक प्रस्तुती, पितृमुक्ति अनुष्ठानमूलक विशेष कार्यक्रम, सहस्र १००८ शालिग्राम पूजा, अर्चना, दर्शन एवं परिक्रमा, योग विज्ञान शिविर, बाल संस्कार कार्यक्रम, तुलादान कार्यक्रम, गौदान कार्यक्रम, भूमिदान,अन्नदान कार्यक्रम, रामदरवार प्राण प्रतिष्ठा कार्यक्रम, विवाह, ब्रतबन्ध, ग्रहशान्ति र ८४ पूजा कार्यक्रम समेत सञ्चालन गरिने मूल आयोजक समितिका संयोजक दिपक बरुवालले बताउनुभयो । उक्त समारोहको समुद्घाटन वैशाख २२ गते मध्यान्ह १ बजे उपराष्ट्रपति नन्द किशोर पुनले गर्नुहुने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक निरन्जन अधिकारीले जानकारी दिनुभएको छ । महामहोत्सवको तयारी तिव्र गतिमा अगाडि बढिरहेको जानकारी सहसंयोजक पवन सुब्बाले बताउनुभयो । मूल समारोह समितिले सम्पूर्ण महानुभावहरुमा उपस्थिति तथा यस पवित्र कार्यमा सहयोगको लागि अपिल गरेको छ ।
कस्ताे मन्दिर हाे श्री लोकेश्वर महादेव ?
नेपाल यस्तो देश हो, जहाँ प्रकृतिमा उत्पत्ति हुने हरेक वस्तुमा भगवानको बास हुन्छ ।
बुढानिलकण्ठ नगरपालिकाको भंगाल सुन्दरवस्ती स्थित ४४ रोपनीको अग्लो थुम्कोमा अवस्थित छ एउटा सुन्दर मन्दिर, जुन लोकेश्वर महादेवको नामबाट प्रख्यात छ । केही उकालो बाटो पार गर्दै मन्दिर पुगिसकेपछि अगाडि कपन गुम्बा, हरियाली डाँडा र तमाम वस्तीहरु देख्दा मनै फुरुङ्ग हुन्छ । वि.सं २०६६ साल माघ २९ का दिन स्थानीयबासीको पहलकदमीमा स्थापना भएको उक्त मन्दिरमा विगत चार वर्ष देखि प्रत्येक महिनाको अन्तिम सोमबार स्थानीयकै पहलमा रामायण भजन किर्तन समेत हुँदै आएको छ । सुरुवाती दिनहरुमा खुला चौरमा बसेर भजन गरेको सम्झँदै आजको दिनसम्म आइपुग्दा उक्त कार्यक्रमबाट संकलित रकमबाटै भजनस्थल समेत निर्माण भएको स्थानीयहरू बताउँछन् ।
मन्दिर अदभुत विशेषतायुक्त भएकाे पाइन्छ । मन्दिरको प्राङ्गणमा पानीको श्रोत रहेको समेत पाइयो । स्थानीयबासीको अनुसार उक्त पानीको श्रोत न वर्खामा भरिएर बाहिर बग्छ न त हिँउदमै सुक्छ । उक्त मन्दिर परिसरमा नागको प्रतिविम्व बनाएर बासुकी कुण्ड त्यसलार्इ नामाकरण गरिएको छ । हरेक शुक्रबार पूजा गरिने सन्तोषी माताको मुर्ति स्थापना, श्री विग्रह रुपमा विराजमान भएको हनुमान मूर्तिकाे स्थापनाका साथै मन्दिर परिसर नजिकै जगतेश्वर महादेवको समेत स्थापना गरिएको छ । मन्दिरमा हवनकुण्ड समेत निर्माणाधिन छ ।
अलौकिक विशेषता र आन्तिरक पर्यटन प्रवद्धर्नको प्रचुर सम्भावना रहँदारहँदै पनि मन्दिरको स्तरोन्नतिको लागि पर्याप्त पहल कदमी हुन सकेको छैन । यसर्थमा श्री लोकेश्वर महादेवलाई हिलोमा फुलेको कमल भन्दा फरक नपर्ला । ४४ रोपनीको विशाल क्षेत्रफलमा रहेतापनि उक्त जमिनको भरपुर उपयोग हुन सकेको छैन । सडकबाट मन्दिरसम्म पुग्न पर्याप्त सिँढीसम्म नभएको र त्यसले दर्शनालम्बीहरुलाई समेत सास्ति पुगिरहेको समाजसेवी सक्रिय युवा तथा श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ का सहसंयोजक सविन अधिकारीले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij