नेपालगन्ज, ४ चैत – बाँके प्रहरीले फागुन महिनाभर ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार ती अपराधीहरूबाट १५ वर्ष दुई महिना १८ दिनको जेल सजाय तथा रु ४ लाख ३५ हजार ५५ जरिवाना असुल गरिएको छ।
यसैगरी, नेपालगन्जबाट रु १४ लाख ७१ हजार ८७५ बराबरको भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ। फागुन महिनाभित्र मात्रै अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाइ रु ४८ हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।
अवैध बोइलर कुखुरा नियन्त्रण अभियान
भारतबाट तस्करी गरी ल्याइएका अवैध बोइलर कुखुरा तथा मासु बरामद गर्ने अभियान अन्तर्गत प्रहरीले रु ३ लाख ७६ हजार ८१० मूल्य बराबरका कुखुरा तथा मासु नियन्त्रणमा लिई पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरेको छ।
फागुनमा १०२ पक्राउ, ६५ पेन्डिङ मुद्दा टुंगो
फागुन महिनामा दर्ता भएका १३१ मुद्दामध्ये १०२ अभियुक्त पक्राउ परेका छन् भने ६५ वटा पेन्डिङ मुद्दा फछ्र्योट भएको प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक नियम उल्लङ्घनमा कडाइ
यही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३६१४ सवारीसाधनलाई कारबाही गर्दै रु २९ लाख ११ हजार ५०० राजस्व संकलन गरिएको छ।
लागुऔषध नियन्त्रण अपरेसन
प्रहरीले लागुऔषध ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरेको छ। बरामद गरिएको लागूऔषधमा १ किलो १०६ ग्राम ४१६ मिलीग्राम ब्राउन सुगर, ५००० ट्याब्लेट ट्रामाडोल र ४ किलो २०० ग्राम चरेस रहेका छन्।
सीमानाकामा उद्धार अभियान
सीमानाकाबाट ८१ जना महिला, बालबालिका र ज्येष्ठ नागरिकको उद्धार गरिएको छ भने अलपत्र अवस्थामा भेटिएका १५ जनालाई संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको छ।
प्रहरीका अनुसार, जिल्लामा अपराध नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन निरन्तर निगरानी तथा अभियानहरू जारी रहनेछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij