२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा

प्रेस चौतारी नेपालको महासचिवमा सुरोजंग पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौं, १० चैतः श्रमजीवी पत्रकारहरूको अग्रणी संस्था प्रेस चौतारी नेपालको आगामी महासचिवका लागि पत्रकार सुरोजंग पाण्डेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। हाल उपमहासचिवको जिम्मेवारी सम्हालिरहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन्।

२०५९ सालमा प्रेस चौतारी काठमाडौंको संस्थापक जिल्ला सदस्यका रूपमा आफ्नो यात्रा सुरु गरेका पाण्डेले संगठनका विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले आफूलाई संगठनको कार्यकारी जिम्मेवारी (महासचिव) का लागि उपयुक्त र स्वाभाविक उम्मेदवार भएको बताएका छन्।

‘प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरूको विश्वासिलो, सक्षम र गतिशील संगठनका रूपमा अघि बढाउने अठोटका साथ मैले महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेको छु,’ पाण्डेले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

करीब २२ वर्षदेखि संगठनमा क्रियाशील रहेका पाण्डे काठमाडौं जिल्ला समितिको संस्थापक सदस्यसमेत हुन्। उनले उपत्यका अञ्चल (काठमाडौं, भक्तपुर, ललितपुर) को सचिव, काठमाडौं जिल्ला समितिको सल्लाहकार तथा केन्द्रीय समितिमा विभिन्न तहका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन्।

पाण्डे पाल्पा, कीर्तिपुर, हेटौंडा, बुटवल, विराटनगर, कमलादी (काठमाडौं), पोखरा लगायतका स्थानहरू हुँदै तेस्रो महाधिवेशनदेखि १०औँ महाधिवेशनसम्म सात पटक प्रतिनिधि रहिसकेका छन्। केन्द्रीय सदस्य, प्रतिष्ठान अञ्चल इञ्चार्ज, केन्द्रीय समिति सचिव हुँदै उपमहासचिवको भूमिका निर्वाह गरेका उनको उम्मेदवारीलाई चौतारीभित्र स्वाभाविक र प्रभावशाली रूपमा हेरिएको छ।

नेकपा एमालेको मातृसंगठनका रूपमा रहेको प्रेस चौतारी नेपालमा नेतृत्व चयनका क्रममा पार्टीले अवलम्बन गर्ने विधि र प्रक्रियालाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले नेतृत्व चयन पारदर्शी तथा मापदण्डमा आधारित हुनुपर्ने धारणा राखेका छन्।

‘पार्टीले अघि सारेको सर्वसम्मत नेतृत्व चयन प्रक्रियालाई प्राथमिक लोकतान्त्रिक विकल्पका रूपमा स्वीकार गर्दछु। तर, यो प्रक्रिया पारदर्शी हुनुपर्दछ, जसमा एक व्यक्ति – एक प्रमुख जिम्मेवारीको सिद्धान्त, व्यक्तिको योगदान, योग्यता, क्षमता र आवश्यकताका आधारमा नेतृत्व चयन हुनुपर्छ,’ पाण्डेले उल्लेख गरेका छन्।

उनले नेतृत्व चयनका प्रक्रियाहरू संगठनको दीर्घकालीन हितका लागि पारदर्शी रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, महाधिवेशन सफल बनाउन सबै पत्रकार साथीहरूलाई आ-आफ्नो स्थानबाट योगदान दिन अपिलसमेत गरेका छन्।

नयाँ पत्रिका दैनिकमा कार्यरत पाण्डेले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाका साथै नयाँ सञ्चार प्रविधि, डिजिटल मिडियाको प्रभाव, सामाजिक सञ्जालको भूमिका तथा साना एवं स्थानीय मिडियाहरूको संरक्षण जस्ता विषयमा संगठनले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

यसैबीच, प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरू भएको छ। १२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij