डा. यन्जन गैह्रे, उपाध्यक्ष, याेग तथा प्राकृतिक चिकित्सक संघ नेपाल
वि.सं २०५९ असार २० देखि नेपालमा प्राकृतिक चिकित्सालाई मूल चिकित्सा पद्धतिमा समेटिएको थियो । सोहीबमोजिम त्यस पश्चात्का हरेक बर्ष असार २० लाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको रुपमा मनाउँदै आइएको छ ।
यस बर्ष पनि ‘रोग प्रतिरक्षात्मक प्रणालीको लागि प्राकृतिक चिकित्सा’ भन्ने नारा सहित असार २० मा प्राकृतिक चिकित्सा दिवस मनाउन लागिएको छ । उक्त दिवसलाई लक्षित गरेर नेपालमा सप्ताहव्यापी रुपमा यस क्षेत्रमा संलग्न व्यक्तिहरु बीच वेविनारहरु सञ्चालन भरी व्यापक छलफल भएकाे याेग तथा प्राकृतिक चिकित्सक संघ नेपालका उपाध्यक्ष डा यन्जन गैह्रले जानकारी दिनुभएकाे छ ।
विगतका बर्षहरुमा भौतिक उपस्थितिमा नै विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर यो दिवस मनाउने गरिँदै आइएकोमा यस बर्ष भने विश्वव्यापी कोभिड–१९ को प्रभावले गर्दा उक्त कार्यक्रमलाई निरन्तरता दिन सकिने अवस्था नरहेपनि इन्टरनेट र प्रविधिको प्रयोगलाई आधार बनाएर केही छलफलहरु चलाइएको छ । यस बर्ष जुम एप्लिकेसनबाट वेविनार सञ्चालन गरी याे दिवस मनाइँदैछ ।
वेविनारकाे शुरुवात असार १३ गते याेग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डा जनक बस्नेतकाे पहिलाे प्रस्तुतीसँगै भएकाे थियाे । साथै हरेक दिन बेलुका ८ बजेबाट १ घण्टा सम्म यस कार्यक्रमलाइ सञ्चालन गरिँदै आइएकाे छ ।
साथै प्राकृतिक चिकित्सा दिवस लक्षित रही आयाेजना गरिएकाे वेविनार भाेलि असार २० गतेकाे प्राकृतिक चिकित्सा दिवससँगै समापन हुनेछ । भाेलिकाे विशेष कार्यक्रम प्राकृतिक चिकित्सा क्षेत्रमा निकै महत्वपूर्ण योगदान गर्नुभएका वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं विशेष अतिथि डा. हरि प्रसाद पोखरेलको स्वागतसँगै शुरुवात हुनेछ । साथै सप्ताहव्यापी चलेको यो वेविनार संस्थाका उपाध्यक्ष डा. यन्जन गैह्रेको सम्बोधन सँगै समापन हुनेछ ।
यसै प्राकृतिक चिकित्सा दिवसकाे सन्दर्भमा हामीले याेग तथा प्राकृतिक चिकित्सक संघ नेपालका उपाध्यक्ष डा यन्जन गैह्रेसँग कुराकानी गरी याे सामाग्री तयार पारेका छाैं । जसबाट पाठकहरुले प्राकृतिक चिकित्साकाे महत्व, सान्दर्भिकता र उपयाेगिता सम्बन्धी केही ज्ञान प्राप्त गर्नुहुनेछ भन्नेमा हामी आशावादी छाैं ।
प्राकृतिक चिकित्सा के हो ?
पञ्च महाभूत (जल, तेज, वायु, आकाश र पृथ्वी) अर्थात प्रकृतिसँगको मिलनबाट नै उपचार गर्ने सिद्धान्तमा आधारित छ यो प्राकृतिक चिकित्सा । यस चिकित्सा विधिले मुख्यतः रोग लागिसकेपछि उपचार गर्नुभन्दा पनि रोग लाग्न नै नदिनेमा सुरक्षित रहन अभिप्रेरित गर्छ । साथै दीर्घरोगमा समेत यस्ता प्राकृतिक उपचार विधिहरु निकै प्रभावकारी छन् । यसमा बिना औषधी बिना साइड इफेक्ट विरामीको उपचार गरिन्छ ।
प्राकृतिक चिकित्सा विधिहरुको अन्तर्राष्ट्रिय रुपमा थुप्रै अनुसन्धानहरु समेत भइसकेका र भइरहेका छन् । तर नेपालमा भने अहिले सम्म यस्ता अनुसन्धानहरु हुन नसकेका मात्र छैनन् । राज्यले मुख्य उपचार पद्धतिको रुपमा व्यवहारतः स्वीकार्न समेत सकेको छैन ।
नेपालको सन्दर्भमा प्राकृतिक चिकित्साः
निजी तवरबाट प्राकृतिक चिकित्सा प्रवर्द्धनको लागि विभिन्न प्र्रयाशहरु भएपनि नेपाल सरकारले भने अहिले सम्म कुनै प्राकृतिक चिकित्साकै लागि कुनै कोटा वा दरबन्दी व्यवस्था गर्न सकेको छैन । जे–जति भएको छ, त्यो सबै निजी क्षेत्रकै सक्रियतामा भइरहेको छ । 
कोरोना महामारीमा प्राकृतिक चिकित्साको महत्व ?
प्राकृतिक चिकित्साले कोरोना व्यवस्थापनमा पनि ठूलो सहयोग गर्न सक्छ । खासगरी मनोबल अभिवृद्धि गर्न र रोग प्रतिरक्षात्मक क्षमता बृद्धि गराउनमा योग तथा प्राकृतिक चिकित्सा वरदान सावित हुन सक्छ । प्राकृतिक रुपमा उपलब्ध स्रोतहरुकै प्रयोगबाट नै उपचार गर्ने प्र्राकृतिक चिकित्साले हाम्रो बानीव्यवहारलाई नै परिवर्तन गराई प्रकृति सँगको सामिप्यता कायम गर्न ठूलो सहयोग पुर्याउँछ ।
नेपालका विभिन्न क्वारेन्टाइनहरुमा रहेका विरामीहरुलाई छिटो कोरोनामुक्त गराउन र विरामीको आत्मबल वृद्धि गराउने कार्यमा कुनै–कुनै ठाउँमा प्राकृतिक चिकित्सा विधि पनि प्रयोग गरेको पाइएको छ । यद्यपि यस विधिलाई नेपालमा व्यापक रुपमा फैलाउने कार्य अझै प्रभावकारी भने बन्न सकेको छैन ।
यसलाई सर्वव्यापी बनाई अधिकांश नेपालीहरुको चासो र विश्वासको वातावरण बनाउने कार्यमा भने नेपाल सरकारले नै प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक चिकित्सा पद्धतिहरु सम्बन्धमा थप अध्ययन, अनुसन्धान र प्रयोग सम्बन्धमा विशेष नीति लिनु जरुरी रहन्छ ।
दीर्घकालिन रोगमा बढी प्रभावकारीः
खासगरी प्राकृतिक चिकित्सा उच्च रक्तचाप, मधुमेह, प्यारालाइसिस, थाइराइड जस्ता दीर्घरोग एवं नसर्ने रोगहरुको लागि निकै प्रभावकारी मानिएको छ । भार लगायत पश्चिमी विकसित देशहरुमा समेत कोरोना न्यूनीकरणमा प्राकृतिक चिकित्साको बढ्दो क्रममा रहेको पाइन्छ ।
समस्याकाे मूल कारण खाेजेर उपचार गरिने विधिः
स्वस्थ व्यक्ति सदैव स्वस्थ नै रहिरहन सकोस् र अस्वस्थ व्यक्ति स्वस्थ बन्दै जाओस् भन्ने मान्यता नै यस उपचार विधिको रहने गर्छ । रोगका लक्षणहरुमा नभई मूल कारण नै पत्ता लगाई सोही बमोजिम उपचार गर्न सकेमात्र हामी पूर्ण स्वस्थ हुन सकिन्छ । यसको लागि खानपिन र जीवनशैलीमा प्राकृतिक पद्धतिहरु अवलम्बन गर्नु जरुरी छ । कतिपय शारीरिक समस्याहरु समेत हाम्रो सोचाई र मानसिकताकै कारण सृजना हुने गर्छन् । सोच बदले ती समस्याहरु पनि स्वतः हट्दै जान्छन् । यसकारण हाम्रा सोचविचारमा समेत परिवर्तन ल्याई रोग र डरलाई मनबाटै हटाएर समेत कसरी विरामीको उपचार गर्ने भन्ने सम्बन्धमा यस चिकित्सा पद्धतिले विशेष योगदान दिन सक्छ । नेपाल लगायत विश्वभर पछिल्ला दिनहरुमा बढिरहेका आत्महत्या, डिप्रेसन, निराशा जस्ता दुर्घटना र समस्याहरुलाई आशा र उत्साहमा बदल्न समेत प्राकृतिक चिकित्सा वरदान सावित हुन सक्छ ।
प्राकृतिक चिकित्साको प्रभावकारिताः
रोग लागिसकेपछि मानिसलाई तनाव व्यवस्थापनमा सघाउ पुर्याउन, सकारात्मक सोच विकास गराउन, शान्ति र आनन्द प्र्राप्त गर्न, खानपिनमा सन्तुलन कायम गर्न प्राकृतिक चिकित्सा विधिहरुले विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । सोहीकारण अनुभवी चिकित्सकहरुको सामिप्यतामा रही उहाँहरुबाट रिलाक्सेसन टेक्निक, काउन्सलिङ, मेडिटेसन, थेरापेटिकल योग एवं प्राकृतिक उपचार विधिहरु एलोपेथेक औषधीको प्रयोग गरिरहेका व्यक्तिहरुले पनि सँगसँगै प्रयोग गर्न सक्नुहुन्छ । शुरुका दिनमा एलोपेथिक औषधीको मात्रा नघटाई विरामीलाई दुवै तरिकाबाट उपचार गरिने भएपनि विस्तारै सम्बन्धित एलोपेथिक डाक्टरले नै विरामीको अवस्था सुधार भएपश्चात् औषधी घटाउँदै लैजान सिफारिस गर्नुहुन्छ । यसबाट पनि प्राकृतिक चिकित्सा थप प्रभावकारी हुने पुष्टि हुन्छ ।
निरन्तर सेवारत रहँदै हिमालयन योग तथा प्राकृतिक अस्पतालः
प्र्राकृतिक चिकित्सा र योग थेरापी सम्बन्धी काम गर्दै आएको मध्य बानेश्वर स्थित सञ्चालि हिमालयन योग तथा प्राकृतिक अस्पतालले पनि लकडाउन अवधिमा पनि निरन्तर सेवा प्रवाह गरिरहेको छ । निःशुल्क परामर्श सेवा उपलब्ध गराउन प्रतिवद्ध यस अस्पतालले अस्पताल सञ्चालन गरेर कठिन परिस्थितिमा पनि सेवाग्राहीलाई हामीले सेवाबाट विमुख पारेका पार्नुहुँदैन भन्ने आफ्नो प्रतिवद्धतालाई सत्य सावित गर्यो ।
अन्त्यमा,
पछिल्लाे समय नेपाल लगायत विश्वभर नै योग सम्बन्धी जागरण बढ्दो छ । सँगसँगै कुन आसन कस्ता व्यक्तिले र किन प्रयोग गर्ने भन्ने सम्बन्धमा भने अधिकांशलाई जानकारी नहुन सक्छ । यसबाट कतिपय विरामीहरुलाई प्रतिकुल प्रभाव पर्न सक्छ । यसकारण योगलाई पनि विशेष रोग अनुसार सोही बमोजिम आवश्यक तौरतरिकाहरु मात्र सिकाउनु जरुरी हुन सक्छ ।
अर्को कुरा कोरोना सङ्कटसँगै सरसफाइ कायम गर्न साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगायतमा हामी सबै जानकारी भइसक्यौं । यसको अलावा नाकको सरसफाइको लागि जलनेति विशेष महत्वपूर्ण हुन सक्छ । हुनतः यो नयाँ विधि होइन । तैपनि जलनेति बारे अहिले पनि अधिकांश नेपालीहरुलाई थाहा छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij