अग्मा मालाकार, कार्यसमिति सदस्य, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघकम्प्युटर साइन्स विधाको अध्ययन गरेर सूचना प्रविधि क्षेत्रमा संलग्न भएकी सफल महिला उद्यमी हुन् अग्मा मालाकार । युकेमा सन् २००९ देखि २०१३ सम्म अध्ययन गरेपछि उनी रोजगारीको क्रममा विभिन्न प्रतिष्ठित कम्पनीहरुमा जोडिएर काम गरिन् । उनले सिस्को सिस्टम, माइक्रोसफ्ट, आइबिएम लगायतका कम्पनीहरुमा काम गरिन् । नेपाल फर्र्किएपश्चात् उनले रुद्र पाण्डे नेतृत्वको डियरवाल्क कम्पनीमा करिब २ बर्ष काम गरिन् । त्यसपछि पुनः विदेशबाट एमबिए पूरा गरेर नेपालमा आएपश्चात् उनी निरन्तर यसै क्षेत्रमा क्रियाशिल रहँदै आएकी छिन् ।
अग्मा मालाकार नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भावना निकै राम्रो रहेको बताउँछिन् । विभिन्न प्रतिष्ठित कम्पनीमा काम गर्दा प्राप्त अनुभवको आधारमा उनी रत्न इन्टेक सञ्चालन गर्न पुगिन् । हाल सञ्चालनमा रहेको रत्न इन्टेकले मूलतः आवश्यकता बमोजिमका एप्स र वेभसाइटहरु निर्माण गर्दै आएको छ ।
डिजिटल सेफ्टी, महिला शशक्तिकरण एवं शिक्षा र कृषि क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता उनले महसुस गरेकी छिन् । मालाकार आफंै अध्यक्ष रहेको अभियन्ता फाउण्डेसनसँगको सहकार्यमा विभिन्न सामाजिक गतिविधिमा पनि उनी सक्रिय छिन् । सूचना प्रविधि क्षेत्रमा उनको १३ बर्ष बितिसकेको छ भने आगामी दिनमा पनि यही क्षेत्रमा काम गर्ने उनको सोच छ । साथै उनी पछिल्ला दिनमा आफूलाई सफल महिला उद्यमीको दिशामा समेत अघी बढाइरहेकी छिन् ।
कोभिड–१९ को समयमा मानसिक समस्या अधिकांश युवाहरुमा बढ्दै गएको, महिला हिंसाका घटनाहरु बढिरहेका र आत्महत्या गर्ने प्रचलन बढ्दै गएको स्थितिलाई विचार गर्दै समाजको लागि केही गर्नुपर्छ भन्ने मान्यताले केही विचार मिल्दा साथीहरुको सहकार्यमा आफूहरुले अभियन्ता फाउण्डेसन सञ्चालनमा ल्याएको मालाकारले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताइन् ।
कसको लागि आवश्यक छ सचेतना ?
अहिले शिक्षा र स्वास्थ्य सम्बन्धमा नेपालका लगभग सबै क्षेत्रमा सचेतना विस्तार आवश्यक बनेको छ । अझै पनि ग्रामीण जनताहरुमा सचेतना जागरण पुग्न सकेको छैन । काठमाडौं उपत्यका भित्रै पनि सबै ठाऊँमा यस्तो चेतना पुग्न सकेको छैन । साथै उपत्यका भित्रकै मुख्य बजारबाट केही किलोमिटर दूरीमै पनि ग्रामीण क्षेत्रहरु रहेका र ती क्षेत्रमा समेत सचेतना पु¥याउनुपर्ने जरुरी ठान्छिन् मालाकार ।
संस्थाका अन्य योजना
नेपालमा पछिल्ला दिनहरुमा घरेलु महिला हिंसा केही रोकिएको जस्तो देखिएपनि जघन्य घटनाहरु बढ्दै गएका छन् । शिक्षा र सचेतनाको प्रभावकारी पहुँच पुग्न सकेको खण्डमा यस्ता समस्यालाई धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ । यसै मान्यताले सामाजिक भावनाबाट प्रेरित भई आफूले काम गर्दै आएको मालाकार बताउँछिन् ।
व्यावसायिक योजना
सूचना प्रविधि क्षेत्रमा नयाँ प्रविधिको रुपमा ब्लक चेन नेटवर्क विश्वभर बिस्तार हुँदैछ । उक्त क्षेत्रमा पनि नेपालमा राम्रो सम्भावना देखिएको र सम्भाव्यता अध्ययनको क्रममा आफ्नो कम्पनी पनि रहेको मालाकारले बताइन् ।
यसैगरी साइबर सेक्युरिटीको क्षेत्रमा नयाँ के गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि आफूहरुले अध्ययन गरिरहेको उनको धारणा छ ।
सूचना प्रविधिको सम्भावना
नेपालीहरु एक थरी विज्ञ मानिसहरु यहीँ बसेर काम गरिरहेका छन् । विदेशीहरु पनि नेपालमा रहेका दक्ष जनशक्तिलाई उपयोगमा ल्याउने मान्यताले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न तयार छन् । साथै प्रविधिको ज्ञान भएका नेपालीहरुलाई विदेशमा पनि राम्रो सम्भावना छ । बढ्दो ब्रेन ड्रेनलाई रोक्न राज्यले नीतिगत सहजीकरण गर्नुपर्ने मालाकारको बुझाई छ । साथै नेपालको बजारलाई इमर्जिङ मार्केटको रुपमा समेत लिन्छिन् अग्मा मालाकार ।
साथै प्रविधिको प्रयोग दैनिक जीवनमा समेत बढ्दो छ । अहिले पेमेन्टको लागि क्युआर, आफ्ना उत्पादन प्रचारप्रसारको लागि वेभसाइट निर्माण लगायत अधिकांश क्षेत्र प्रविधि केन्द्रित हुँदै गएका छन् । सरकारी निकायले प्रवाह गर्ने सेवा समेत अनलाइन केन्द्रित हुँदै गएका छन् । जसले गर्दा समेत आगामी दिनमा नेपालमा प्रविधिको सम्भावना निकै राम्रो देखिन्छ ।

अन्त्यमा
अहिले सम्म अधिकांश मानिसहरु समस्या पहिचानमा मात्र केन्द्रित छौं । अबको नयाँ पुस्ता समस्यामा नभई समाधान निकाल्न तर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ । जसबाट मात्र मुलुकले सही अर्थमा विकास र समृद्धिको गति समाउन सक्नेछ । प्रविधिको क्षेत्रमा पनि नयाँ इन्नोभेसनमै लाग्नुपर्ने नभई हाम्रा दैनिक जीवनका समस्याको समाधान दिन सक्ने गरी आफ्नो क्षमतालाई विकास गर्नु हाम्रो आवश्यकता हो । साथै नेपाली युवालाई नेपालमा नै रहने वातावरण सृजना गर्नु अहिलेको ठूलो आवश्यकता समेत बनेको मालाकारको धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij