काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिका सदस्य सुरेन्द्र पाण्डेले बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिए । नाम अनुमोदन भएसँगै मिश्र राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त हुनेछन् । 
आजै समितिको बैठकमा उपस्थित भएर मिश्रले आफूविरुद्ध परेका तीन उजुरीबारे जवाफ दिएका थिए । बैठकमा समितिका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ माग गरेका थिए । उनीविरुद्ध त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भने नगरेको उजुरी परेको थियो ।
त्यस्तै काठमाडौ जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपुर्ति नदिलाएको भन्ने उजुरी समेत परेको थियो । त्यसैगरी तेस्रो उजुरीमा मिश्र विराटनगरमा न्याायाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सेविका बनाएर फैसला गरीएको बारे थियो । मिश्रले उजुरीको जवाफ दिने क्रममा आफूले अहिलेसम्म १७ हजार मुद्दा फैसला गरेको बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij