२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रतिष्ठित उद्यमी महेश्वर श्रेष्ठ र एभरेष्ट फेसनकाे सफलता यात्रा

प्रतिष्ठित उद्यमी महेश्वर श्रेष्ठ र एभरेष्ट फेसनकाे सफलता यात्रा

महेश्वर श्रेष्ठ, प्रबन्ध निर्देशक, एभरेष्ट फेसन

निकै सामान्य पारिवारिक अवस्थाबाट माथि उठेका व्यवसायी हुन् महेश्वर श्रेष्ठ । विगत २५ बर्ष देखि उनी फेल्ट उद्योगमा संलग्न छन् । उनले सञ्चालन गरेको उद्योग एभरेष्ट फेसनले नेपालमा नै करिब ६ सय व्यवसायीहरुलाई रोजगारी उपलब्ध गराउँदै आएको छ ।

श्रेष्ठको स्थायी घर ललितपुरको सुन्धारा हो । जुन अहिले काठमाडौंको मुटुको रुपमा चिनिन्छ । धेरैलाई लाग्छ कि काठमाडौंका स्थानीय बासिन्दाहरुको व्यावसायिक पृष्ठभूमि पहिले नै तयार भइसकेको हुन्छ जसले गर्दा उनीहरुले कम मेहनतमा नै व्यावसायमा जम्न सक्छन्, तर महेश्वरको यथार्थता भने यस्तो रहेन ।

उनी काठमाडौंका स्थानीय बासिन्दा हुँदाहुँदै पनि आफ्नै पुरुषार्थले नै अहिलेको अवस्था हासिल गर्न सफल भएका हुन् ।
श्रेष्ठ विगत ९ बर्ष देखि उत्कृष्ट निर्यातकर्ताको रुपमा आफूलाई अब्बल सावित गर्दै आएका छन् । थुप्रै अन्तर्राष्ट्रिय मुलुकहरुको भ्रमण गरेका उनको शैक्षिक योग्यता इन्जिनियरिङ हो । केही समय आफुले अध्ययन गरेको इन्जिनियरिङ क्षेत्रमा रहेर पनि उनले काम गरे । तर त्यस कामबाट उनी सन्तुष्ट हुन सकेनन् । सोहीकारण उनले कुनै प्रतिष्ठामूलक क्षेत्र छनोट नगरी साधारण काम अन्तरगत पर्ने उनीसँग सम्बन्धित विभिन्न वस्तुुहरु उत्पादन तर्फ आकर्षित भए ।

अहिले सफल व्यवसायी बनेका श्रेष्ठको व्यावसायिक जग भने निकै कमजोर धरातलबाट शुरु भएको हो । आर्थिक रुपमा उनले केवल १० हजार रकम लगानीमा यो व्यवसाय शुरु गरेका हुन् । उनलाई थोरै रकमको लगानीले व्यवसायमा होमिन रोकेन । प्रतिष्ठित इन्जिनियरिङ पेशाले सन्तुष्टि दिलाएन । इन्जिनियरिङको औपचारिक अध्ययन गरेको व्यक्तिले साधारण सीप आवश्यक पर्ने कामलाई पेशागत रुपमा अपनाउने यात्रा तय गरिरहँदा केही आलोचनाहरु श्रेष्ठले पनि अवश्य पनि खेप्नुप¥यो । तर उनी ती आलोचनाहरुबाट विचलित भएनन् । आफ्नो प्यासनलाइ उनले निरन्तर फलोअप गर्दै गए । त्यसैको परिणाम स्वरुप अहिले श्रेष्ठ चर्चाको शिखरमा छन् ।

८-१० बर्षको उमेर देखि नै उनले परिश्रमको महत्व बुझे । त्यसबेला उनले कागजका थैली, तरकारी लगायत बिक्री गर्थे । आफ्नो इन्जिनियरिङ पढाइ चलिरहेको समयमा नै उनले यो काम शुरु गरे ।

प्रस्तुत छ श्रेष्ठकाे अनुभवमा आधारित याे सामाग्रीः

नेपालमा सम्भव छ
नेपालमा कुनै काम गर्ने चाहना हुने हो भने असम्भव भन्ने केही हुँदैन । हामीले चाह्यौं भने हाम्रो चाहना बराबरको सफलता अवश्य हासिल गर्न सक्छौं । नेपाल राम्रो सम्भावना भएको मुलुक हो ।

अहिलेका युवाहरुलाइ तुलनात्मक रुपमा व्यावसायिक सफलता हासिल गर्न सहज रहेको श्रेष्ठको धारणा छ । नेपालमा रहेर काम गर्ने चाहना नहुनु नै नेपाल सम्पन्न हुन नसक्नुको मुख्य कारण रहेको श्रेष्ठको ठम्याइ छ ।

नेपालमा नै रहेर काम गर्ने हो भने नेपालमा डेढ दुइ बर्षमा नै राम्रो सफलता हासिल गर्न सकिन्छ । साँच्ची सफलता चाहने हो भने एकमात्र योजना सहित निरन्तर काममा होमिनुपर्छ । सफलता अवश्य हात पर्छ । सकारात्मक सोच, दृढ विश्वास र सही कार्ययोजनाको उपलब्धि पनि सही नै निस्कन्छ । श्रेष्ठ भन्छन् ।

आफूले १० हजार रुपियाँको साधारण लगानीबाट शुरु गरेको व्यवसाय यति छोटो अवधिमा नै यो अवस्थामा आउन सक्ला भन्नेमा उनी शुरुमा यतिधेरै आशावादी थिएनन् । तर निरन्तर रुपमा गरेको लगनशिलता र ठूलो सोचाइको प्रतिफलस्व आज उनले यो उपलब्धि हासिल गर्न सकेका हुन् । उसो त महेश्वर कहिल्यै पनि आफूलाई कमजोर ठान्दैनथे । आफू सानो छँदा देखि नै आफू एक सफल उद्यमी भएको कुुरा मनमा कल्पना गरिरहेका हुन्थे ।

परिमार्जन हुँदै आधुनिक स्वरुपमा बदलिएकाे उनीः

हुनतः विगतमा उनी तथा यससँग सम्बन्धित कामहरु शुरुमा महिला दिदीबहिनीहरुकै भरमा चलेको थियो । य स क्षेत्रले व्यावसायिक बाटो लिन सकेको थिएन । साथै यो व्यवसाय परिमार्जित भएर अहिलेको अवस्थामा जान सक्ला भनेर कसैले पनि सोचेका थिएनन् । विगत २५ बर्ष पहिले निकै कठिन काम शुरु गर्ने दृढनिश्चय उनले गरे, त्यतिबेला नेपालमा यस किसिमका कामहरु गर्ने प्रचलन निकै कम थियो । शुरुमा उनी लगायतका विभिन्न सामानहरु उत्पादन गरेर उनले ती सामानहरु निर्यातकर्ताहरुलाई बिक्री गर्थे ।

 

साधारण लगानी तर दृढ विश्वास र कर्मशिलताकाे परिणाम
आफूले १० हजार रुपियाँको साधारण लगानीबाट शुरु गरेको व्यवसाय यति छोटो अवधिमा नै यो अवस्थामा आउन सक्ला भन्नेमा उनी शुरुमा यतिधेरै आशावादी थिएनन् । तर निरन्तर रुपमा गरेको लगनशिलता र ठूलो सोचाइको प्रतिफलस्व आज उनले यो उपलब्धि हासिल गर्न सकेका हुन् । उसो त महेश्वर कहिल्यै पनि आफूलाई कमजोर ठान्दैनथे । आफू सानो छँदा देखि नै आफू एक सफल उद्यमी भएको कुुरा मनमा कल्पना गरिरहेका हुन्थे ।

शुरुका दिनमा आफू संलग्न काममा सिद्धहस्त भएरै सोही व्यवसाय उनले पछ्याएका होइनन् । आफूले उनीका टोपी र स्वेटर बनाउने समयमा एकजना जापानीले उनलाई एउटा सामान पठाएका थिए । त्यो सामान के हो भन्ने उनले छुट्याउन समेत सकेनन् । पछि थाहा पाउँदा त्यो सामानकै उनीकै रुपान्तरित फेल्ट प्रडक्ट रहेछ । अहिले महेश्वर श्रेष्ठको मुख्य उत्पादन नै फेल्ट बनेको छ । नेपालमा फेल्ट उद्योग शुरु गर्नेमा एभरेष्ट फेसन तेस्रो कम्पनी हो । यो कम्पनी शुरुका दिनमा आफ्नै परिवारका दिदीबहिनीहरुको सीप र कलाबाट शुरु भएको हो । आफ्नो कम्पनी अहिलेको अवस्थामा आउन सक्नुमा पारिवारिक साथसहयोग नै महत्वपूर्ण रहेको श्रेष्ठ बताउँछन् ।

सफलता यात्राः
शुुरुमा १० हजार रकम लगानीबाट शुरु भएको उनको व्यवसायले शुरुका बर्षमा नै २-३ लाख रकमको कारोबार गर्न सफल भयो । सोही क्रमले अर्को बर्ष ठमेलमा पसल स्थापना गरे । क्रमशः उनको कारोबार २० लाख, ३० लाख, ५० लाख हुँदै १ करोड भन्दा माथि गयो । यो कम्पनीले आफ्नो कारोबार सीमा ४-५ करोड हुँदै हाल भने विगत ९ बर्ष देखि उत्कृष्ट निर्यातकर्ताको रुपमा आफ्नो पहिचान स्थापना गर्न सफल भएको छ ।

समस्या र चुनौती
यस २५ बर्षको अवधिमा आफ्नो यात्रालाई जस्तो अवस्था भएपनि रमाइलो तवरले नै अघी बढाएका छन् । थुप्रै चुनौतीहरु पनि उनले व्यहोरेका छन् । कारोबार बढ्दै जाँदा समस्या पनि सोही किसिमले थपिँदै जाने उनको अनुभव छ । उनले व्यहोरेका ठूलो चुनौतीमा समयमा आफ्ना कर्मचारीहरुले सामान उत्पादन गर्न नसक्दा केही घण्टाकै अन्तरालमा अर्डर क्यान्सिल हुनगई ठूलो नोक्सानी व्यहोर्नुपरेको अनुभव सँङ्गालेका छन् । हरेक दिनजसो कुनै न कुनै किसिमका समस्याहरु आफूहरुले सामना गर्दै आउनुपरेको बताउने श्रेष्ठ जोसुकै कमजोर मुटु भएका व्यक्ति यस व्यवसायमा टिक्नै नसक्ने समेत बताउँछन्  । नेपालीहरुले कामलाई समयमा नै पूरा गर्नुुपर्नेमा त्यति सचेत नरहेको कुरा आफ्नो व्यावसायिक यात्राको क्रममा श्रेष्ठले नजिकबाट बुझेका छन् । यस्ता थुप्रै घटनाहरुले श्रेष्ठ आफू अझ खारिँदै गएको बताउँछन् ।

गल्तीबाट सिकौं
हरेक सफलतामा समय निकै महत्वपूर्ण हुने उनको धारणा छ । साथै हरेक गल्तीले आफूलाई कुनै न कुनै हासिल गराएको र जीवन भर यसरी नै सिक्न सकिने अनुभव समेटेका श्रेष्ठ हरेक नेपालीलाई यही सल्लाह दिन्छन् ।

बिना समाधानको समस्या हुँदैन । समस्याको सही तवरले समाधान नगरी सफलता प्राप्त हुँदैन भन्ने मान्यता राख्ने श्रेष्ठ आफ्नो व्यवसायमा आएका हरेक समस्यालाई निरन्तर समाधान गर्दै आफूले अहिलेको उचाइ हासिल गर्न सफल भएका हुन् । विभिन्न अवस्थामा आफूलाई आफ्नो कामबाट झण्झट लाग्ने अवस्था उनलाई पनि नआएको होइन । यस्ता चुनौतीलाई सही तवरले व्यवस्थापन नगरेर अधिकांश मानिसहरु आफ्नो कार्य क्षेत्रबाट नै बाहिरिन्छन् । नेपाली उद्यमीहरु यहीँ नेर चुक्छन् । यदि समस्यालाई सही तवरले समाधान गर्ने हो भने यस्ता ठूला समस्याले नै आफ्नो जीवनलाई नयाँ गति दिन सक्छन् । धेरै व्यक्तिहरुको सफलता यात्रा यहीँ रोकिने गर्छ । आफूले बिक्री गर्न लागेकाे ५०-६० लाख रकमको अर्डर साधारण गल्तीले रद्द हुँदा श्रेष्ठ परिवारमा पनि ठूलो चिन्ता उत्पन्न भयो । आफ्नो व्यवसाय नै डुब्ने डर लाग्यो । यद्यपि उक्त समस्यालाई उनले बुद्धिमत्तापूर्वक समाधान गरी आफ्नो व्यवसायलाई सन्तुुलनमा ल्याउन उनी सफल भए ।

थुप्रै समस्याः
व्यवसायमा रहेर काम गर्दा थुप्रै समस्या आउँछन् । कर, भन्सार, एयरपोर्ट, कामदार लगायत । ठूलो समस्या आउँदा उनलाई पनि व्यवसायबाट बाहिरिनुपर्ने धारणा आउँछ । तर त्यस किसिमको सोच धेरै बेर रहन सक्दैन । धैर्यता, शाहस र आत्मअनुशासनकै कारण आफू सफल भएको हुँ जस्तो उनलाई लाग्छ ।

अहिले आफ्नो उद्योगबाट ६ सयलाई प्रत्यक्ष रोजगारी सृजना गरेका उनले आफू मातहत २७ ओटा कम्पनीहरुलाई काममा लगाएका छन् । सबै गरी हाल श्रेष्ठ मातहत २ हजार व्यक्तिहरु रोजगाररत छन् । निरन्तर २५ बर्ष व्यावसायिक यात्राको क्रममा विभिन्न देशहरुको भ्रमण गरिसकेका उनलाइ केही कुराको कमी छैन । कहिलेकाहीँ व्यवसायबाट अवकाश लिउँ भन्ने उनलाई पनि लाग्छ । तर आफ्ना कर्मचारी तथा आफू मातहतका व्यक्तिहरुको हितलाई ख्याल गरी आफू निरन्तर व्यवसायमा संलग्न भइरहन उत्प्रेरित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij