
हाल पर्यटन क्षेत्रमा राम्रो पहिचान स्थापना गर्न सफल गोविन्दले पर्यटन व्यवसायमा प्रवेश गर्दा शुरुका दिनमा निकै नै सङ्घर्षपूर्ण दिनहरु बिताउनुपरेको अनुभव बटुलेका छन् । काठमाडौंको मध्य बानेश्वरमा जन्मिएका मोबिनले नजिकैको रत्नराज्यलक्ष्मी उच्च मा.वि.बाट उनले विद्यालय तहको अध्ययन पूरा गरेका हुन् । सङ्करदेव क्याम्पसबाट स्नातक तह र त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन गरेका उनले करिब डेढ दशक देखि पर्यटन क्षेत्रमा रही कार्य गर्दै आएका छन् ।
आफ्नै व्यवस्थापनमा ट्राभल व्यवसाय शुरुवात गर्नुभन्दा पहिले लिवरल ट्राभलमा रहेर केही समय काम गरेका उनले सन् २००४ देखि मुस्कान ट्राभल सञ्चालन गरेका हुन् । आफू पर्यटन क्षेत्रमा प्रवेश गर्दा अहिले जस्तो प्रविधिको विकास नभएको कारण काम गर्नु निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाउँछन् । पर्यटन क्षेत्रमा काम गर्ने क्रममा विगतमा अहिले जस्तो प्रविधिको विकास नभइसकेको हुनाले विगतमा निकै झन्झटपूर्ण रुपले काम गर्नुपर्ने अवस्था थियो ।
व्यवसायमा संलग्न भएपश्चात् निरन्तर रुपमा कार्यअनुभव र व्यवसाय विस्तार गर्दै गएका उनले सन् २००७ देखि आयटा एजेन्टको रुपमा समेत काम शुरु गरे । पछि म्यानपावर क्षेत्रमा समेत लगानी विस्तार गरेर केही बर्ष काम गरेपनि पछि भने आफ्नो व्यस्तताको कारण म्यानपावर क्षेत्रको व्यवस्थापन गर्न सहज नभएपछि एकलौटी रुपमा पर्यटन व्यवसायमा मात्रै संलग्न रहँदै आएका छन् । हाल उनले सञ्चालन गरेको मुस्कान ट्राभल्सले डोमेस्टिक तथा इन्टरनेशनल एयर टिकटिङ लगायतको क्षेत्रमा कामहरु गर्दै आएको छ ।
नेपालमा पर्यटन व्यवसायको सम्भावना
नेपालमा पर्यटन व्यवसायको सम्भावना निकै राम्रो छ । प्राकृतिक रुपमा नै तयार भएका भौगोलिक परिस्थिति, धार्मिक एवं सांस्कृतिक महत्वका वस्तुहरु नेपालको निम्ति पर्यटक आकर्षणको निम्ति विशेष महत्वपूर्ण वस्तुहरु हुन् । नेपालमा पर्यटनको सम्भावना राम्रो भएको कुरालाई विचार गरेर नै पछिल्लो समय व्यवसायीहरुले निकै नै जागरुकताको साथ पर्यटन क्षेत्रमा काम गरिरहेका छन् । राज्यले पनि पर्यटन क्षेत्रलाई राम्रो सम्भावनायुक्त क्षेत्रको रुपमा पहिचान गरेको छ । यद्यपि अझै पनि नेपाल सरकारले पर्यटन व्यवसाय प्रवद्र्धनको निम्ति जुन वातावरण तयार गर्नुपर्ने थियो, त्यो अनुकुल वातावरण सृजना गर्न भने सकेको छैन । 
संस्थागत पहल प्रभावकारी हुनुपर्छ
नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि काम गर्ने उद्धेश्यले विभिन्न संस्थाहरु स्थापना भएका छन् । यद्यपि यी संस्थाहरुले पर्यटनको संस्थागत विकासको लागि जुन रुपमा काम गनुृपर्ने थियो, त्यो पहल गर्न सकेका भने छैनन् । साथै यी संस्थाहरुले अहिले सम्म पनि निःस्वार्थ रुपमा सबै व्यवसायीलाई सम्बोधन गर्ने किसिमले काम गर्न सकेको अवस्था समेत छैन । व्यावसायिक छाता सङ्गठनको रुपमा रहेका संस्थाहरुले सबै व्यवसायीहरुलाई समेट्नको लागि आ–आफ्नो तवरले विभिन्न किसिमका कामहरु अघी बढाएपनि सबै संस्थाहरु संगठित हुन नसक्दा राज्यबाट ती संस्थाहरुका आवाज समेत सम्बोधन हुन सकेको अवस्था छैन ।
यथार्थ बुझेर मात्र प्रवेश गर्नु आवश्यक
नेपालमा पर्यटन क्षेत्रमा पछिल्लो समय व्यवसायीहरु बीच निकै नै प्रतिष्पर्धा बढिरहेको छ । कतिपय यस क्षेत्रमा नयाँ आउने कतिपय व्यवसायीहरुमा यस क्षेत्रको यथार्थ ज्ञान रहेको पाईंदैन । जसले गर्दा पर्यटन क्षेत्रमा केही समस्याहरु पनि सृजना भएका छन् भने बजार अस्वस्थकर समेत बन्दै गएको छ ।
पर्यटनमा लगानी वातावरण
नेपालमा लगानीकर्तालाई आफ्नो व्यावसायिक सुरक्षाको लागि राज्य पक्षबाट जुन तवरले काम गर्नुपर्ने हो, त्यो हुन नसकेको कारण अहिले नेपालका व्यवसायीहरुले ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने आधार भने बनेको छैन । नेपाल सरकारले यस क्षेत्रलाई अझ गम्भीरताको साथ लिँदै सोही बमोजिम जिम्मेवार भूमिका निर्वाह गर्नु जरुरी छ । नेपालमा अहिले सम्म निजी व्यवसायीहरुले अर्थतन्त्र चलायमान बनाउन निर्वाह गरेको भूमिकाको सम्मान गर्न सकेको छैन । अहिले नेपाल सरकारले निजी क्षेत्रलाई राम्रो तवरले सम्बोधन गर्न नसकेको कारण विभिन्न समस्याको बावजुद काम गर्नुपरेको छ । व्यवसाय मुनाफाको उद्धेश्यले नै सञ्चालन गरिने भएपनि सधैं मुनाफा नै रहन्छ भन्ने पनि हुँदैन । तर नेपालमा निजी क्षेत्रलाई घाटा देखाउन नमिल्ने किसिमको अवस्था छ । यस्ता नीतिगत व्यवस्थामा परिमार्जन हुनुपर्ने आवश्यकता समेत छ ।
आफ्नो दायित्व पूरा गर्नु नै राष्ट्रको लागि योगदान
नेपालको विकास र समृद्धिको लागि सबै क्षेत्रका व्यक्तिहरुको भूमिका रहन्छ । हरेकले आफू जुन क्षेत्रमा संलग्न होइन्छ, सोही क्षेत्रबाट नै काम गर्नुपर्ने अवस्था रहन्छ । निःस्वार्थ रुपमा सेवामा तल्लिन हुन सकेको खण्डमा त्यसबाट राष्ट्रलाई पनि योगदान पुग्न सक्छ । कुनै पनि व्यक्ति आफू संलग्न रहेको क्षेत्रबाट राम्रो तवरले काम गर्ने र सोही बमोजिम वातावरण सृजना गर्न सकेको खण्डमा सबै तिर अवस्था सुधार हुँदै जान्छ । तर नेपालमा अहिलेको अवस्थामा भने यसो नभई जसको शक्ति उसकै भक्ति भन्ने किसिमको अवस्था सृजना भएको छ । यसबाट नेपालमा अर्थतन्त्रको अवस्था अझ कमजोर बनिरहेको छ ।
व्यवसायमा युवा आकर्षण बढ्नु स्वागतयोग्य छ
पछिल्ला बर्षहरुमा व्यवसायमा प्रवेश गर्ने युवा उद्यमीहरुको सङ्ख्या जसरी बढिरहेको छ, मुलुकमा उद्यमशिल वातावरण बनाउनको लागि यो कार्य निकै नै स्वागतयोग्य हो । अहिलेका पुस्ताहरुले प्रविधिको प्रयोगमा जोड दिँदै नयाँपन ल्याउन विशेष भूमिका निर्वाह गरिरहेका छन् । नयाँ प्रविधिमा आधारित अहिलेको पुस्तालाई काम गर्न सजिलो पनि छ । त्यसमा पनि पर्यटन क्षेत्रमा प्रवेश गर्ने युवाहरुको सङ्ख्या अझ बढी छ । यस क्षेत्रलाई राम्रो सँग बुझेका र नयाँपन चाहने व्यक्तिहरुको निम्ति पर्यटन क्षेत्र निकै नै राम्रो अवसर भएको क्षेत्र पनि हो । अहिले विभिन्न देशहरु भ्रमणको अवसर मिल्ने, माथिल्लो तहका व्यक्तिहरुसँग भेटघाट हुने, समाजमा राम्रो प्रतिष्ठा कायम गर्न सकिने लगायतका कामहरुले गर्दा पर्यटन व्यवसाय नेपाली युवाहरुको लागि आकर्षणको माध्यम बन्ने गरेको बुझ्न सकिन्छ ।
हरेकमा क्षमता छ, चिन्न सक्नुपर्छ
कुनै पनि व्यक्ति आफैंमा सक्षम र असक्षम भन्ने हुँदैन । उसको सम्बन्धित क्षेत्र प्रतिको रुचि र काम प्रतिको तत्परता एवं बुझाईले मात्र फरक पार्ने हो । विद्यालय तहमा अध्ययन गर्ने क्रममा खासै राम्रो प्रगति गर्न नसकेका मोबिन पनि जब विद्यालयमा पढेको कुरा घरमा पनि पढ्ने र ध्यान केन्द्रित गर्ने बानी बसाले । त्यसबाट नतिजामा पनि राम्रो सुधार आयो । त्यसरी नै व्यवसायमा पनि उनी सोही मान्यताबाटबाट प्रेरित भई आफ्नो व्यवसायमा दत्तचित्त साथ लागेको कारण अहिले उनी सफल पर्यटन उद्यमीको रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएका छन् ।
नेपालको पर्यटन व्यवसायमा रहेर काम गर्ने क्रममा विभिन्न आरोहअवरोहहरु खेप्ने क्रममा अहिलेको अवस्थामा आइपुगेका उनी आगामी दिनमा पर्यटनमूलक गतिविधिहरुमा लगानी विस्तार गर्ने योजनामा भएपनि आफूले मुलुकको अनुकुल लगानी परिस्थितिको अपेक्षा गरिरहेको समेत बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij