
नेपालमा लामो समय देखि मुर्तिकला क्षेत्रमा संलग्न रही काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ सन्त कुमार शाक्य । उहाँ मुख्यतः सहज्रभुजा (हजार हात भएको) मुर्तिकारको रुपमा समेत चर्चित हुनुहुन्छ । ऊहाँले बनाएको १८ फिटको सहस्रभुजा मुर्ति हाल कपन स्थित एउटा मन्दिरमा स्थापना गरिएको छ । यसैगरी उहाँले यस्ता विभिन्न साइजका मुर्तिहरु नेपालका विभिन्न मन्दिरहरुमा राखिएको छ । फर्पिङ, स्वयम्भू, लुम्बिनीको बज्रयान विहार, पद्म विहार लगायतमा शाक्यबाट कुँदिएका मुर्तिहरु देख्न पाइन्छ । आफू संलग्न रहँदै आएको मुर्तिकला क्षेत्रबाट नै सामाजिक र व्यावसायिक काममा संलग्न हुनुहुन्छ शाक्य । शाक्यबाट निर्मित मुर्तिहरु नेपालमा मात्र सीमित छैनन् । उहाँले भुटानमा पनि यस्ता मुर्तिहरु निर्माण गर्नुभएको छ । हालसम्म ८ फिट, साढे ७ फिट, ७ फिट लगायत विभिन्न साइजका मुर्तिहरु स्थापना गर्नुभएको छ । पछिल्ला दिनहरुमा आफू २२ फिटको सहस्रभुजा मुर्ति बनाउने कार्यमा निरन्तर लागिरहेको बताउनुहुन्छ । नेपालमा निर्मित मुर्तिकलाले नेपाली पहिचान स्वदेशमा मात्र नभई विश्वबजारमा विस्तार गर्न ठूलो सहयोग पुर्याएको शाक्यको र यस क्षेत्रमा रहेर काम गर्न पाएकोमा आफूलाई गौरवान्वित महसुस हुने शाक्य बताउनुहुन्छ ।
नेपालमा मुर्तिकलाको इतिहास र विस्तार
चीनले ल्हासामा आक्रमण गरेको समयमा गुम्बाका ठूला मुर्तिहरु समेत सडकमा फ्याँकियो । साथै ती मुर्तिहरु सांस्कृतिक औद्योगिक क्रान्तिको नाम दिइयो । त्यस समयमा सडकमा फ्याँकिएका थुप्रै मुर्तिहरु नेपालमा पनि ठूलो सङ्ख्यामा ल्याइयो । ल्हासा नेवाः (ल्हासा गएर आएका प्रतिष्ठित साहुहरु)ले नेपालमा ल्याएका ती मुर्तिहरुका स्वरुप बिग्रिएका थिए । ती मुर्तिहरुलाई मर्मतको लागि नेपालका कलाकारहरुलाई नै जिम्मेवारी दिइयो । नेपालमा यस मुर्तिकला प्रति मानिसहरुको ठूलो आकर्षण वि.सं २००७ पछि नै भएको देखिन्छ ।
नेपालमा मुर्तिकला सम्बन्धी आकर्षणः
ललितपुरको पाटन क्षेत्रमा बसोबास गर्दै आउनुभएका शाक्यको व्यावसायिक शुरुवात सोही क्षेत्रबाट नै भएको हो । हुनतः उहाँ रहँदै आएको उक्त क्षेत्रमा धातु कला सम्बन्धी कार्य निकै पहिले देखि नै सञ्चालन हुँदै आएको थियो । तर मुर्तिकला सम्बन्धी काम भने निकै कम थियो । मुख्यतः पाटन क्षेत्रको सुन्धारा क्षेत्रमा भाँडावर्तन सम्बन्धी कामहरु बढी हुन्थे । जसअन्तरगत कचौरा, आम्खोरा, करुवा, चाँदीका सामानहरु लगायत थिए । ल्हासा माथि चीनले प्रभाव जमाउने समयमा सांस्कृतिक क्रान्ति भएको र त्यस समय सडकमा ठूला मुर्तिहरु समेत फ्याँकिएको र ती मुर्तिहरुलाई नेपालमा ल्याएर मर्मत गरी प्रयोगमा ल्याइएको थियो ।
मुर्तिकला क्षेत्रमा शाक्यको प्रवेशः
ठूला र आकर्षक साथै हाम्रो रीतिस्थिति झल्काउने मुर्तिहरु देख्दा आफूलाई निकै रोमाञ्चित लाग्ने शाक्यलाई ती मुर्तिहरुको कठिन बनोट देख्दा त्यो कसरी सम्भव भए होला भन्ने लाग्थ्यो । जसले गर्दा ऊहाँलाई मुर्तिकला क्षेत्रमा आकर्षण बढ्दै गयो । यस क्षेत्र प्रति रुचि बढ्दै जाँदै आफैंले यसै सम्बन्धी काम सिक्दै जानुभयो । केही कलाहरु आफ्ना गुरुबाट समेत सिकेपनि मुख्यतः कला क्षेत्रमा अघी बढ्न सबैभन्दा बढी चासो आफैंमा भित्रै देखि आउनुपर्ने शाक्यको अनुभव छ ।
रोजगारी सृजनामा शाक्यको योगदानः
हाल आफूले सञ्चालन गरेको यस सहस्रभुजा ह्याण्डिक्राफ्टबाट शाक्यले करिब २ दर्जन व्यक्तिहरुलाई आफ्नो प्रत्यक्ष व्यवस्थापनमा नै रोजगारी उपलब्ध गराउँदै आउनुभएको छ । यसैगरी उहाँले हाल हात्तिवन क्षेत्रमा पनि हस्तकला सम्बन्धी वर्कशप सञ्चालन गर्दैै आउनुभएको छ । यसैगरी उहाँको अर्को वर्कशप पाटन औद्योगिक क्षेत्रमा पनि छ । यसरी विभिन्न ठाउँमा सञ्चालनमा रहेका वर्कशपहरु सञ्चालन गर्ने क्रममा आवश्यकता अनुसार थुप्रै व्यक्तिहरुलाई यस्ता हस्तकलाजन्य कामको जिम्मेवारी समेत दिँदै आउनुभएको छ ।
कोरोना पछि हस्तकलाको अवस्थाः
अहिलेको अवस्थामा कोरोना भाइरसको कारण नेपालमा हस्तकला सम्बन्धी कामहरुमा निकै कमी आएको बताउनुहुन्छ शाक्य । जसले गर्दा यतिबेला कर्मचारीहरु तलब खुवाउन एवं आफूले कामको जिम्मेवारी दिएका व्यक्तिहरुलाई काम दिन सक्ने अवस्था छैन । हस्तकलाजन्य सामानहरु उत्पादन गरेपनि बजार ठप्प रहेको कारण अहिलेको अवस्थामा आर्थिक चलायमान तत्काल प्रभावकारी रुपमा हुन सक्ने देखिँदैन । साथै अहिलेको अवस्थामा सबै नेपालीहरुको मनस्थिति कमजोर छ । जसले गर्दा सञ्चालन गर्न सकिने कामहरुले समेत राम्रो गति लिन सकेका छैनन् । यद्यपि अब कोरोना सङ्कट पश्चात्का दिनहरुमा भने नेपालमा उत्पादित हस्तकलाजन्य सामाग्रीको बजार आफूले राम्रो देखेको शाक्य बताउनुहुन्छ ।
कोरोनाबाट सिकेको सन्देशः
कोरोनाले कुनै एउटा वर्ग वा समुदाय वा उमेर समूहलाई मात्र असर पारेको छैन । यसको असर अहिले विश्वका सबै किसिमका मानिसहरुले सामना गर्नुपरेको छ । जसले गर्दा भौतिक प्राप्ति र पैसाको मात्र पछाडि दौडिइरहेका मानिसहरुले पनि पैसाले मात्र हुँदोरहेनछ, धार्मिक कार्य तथा सामाजिक भावले काम गर्नुपर्दो भन्ने कुराको महसुस गरेका छन् । जसले गर्दा आगामी दिनमा आफ्नो प्रतिष्ठा र ख्याति प्राप्तिको लागि सहयोग सिद्ध हुने सामाजिक कार्यहरुमा पनि मानिसहरु संलग्न हुने अनुमान गर्न सकिन्छ ।
मुर्तिको मूल्य निर्धारणः
कुनै मुर्ति तयार गर्दा त्यसको लागत र त्यसमा प्रयोग गरिएका विभिन्न तत्वको आधारमा बजार मूल्य निर्धारण हुने गर्छ । खासगरी कतिपय मुर्तिहरु निर्माण गर्ने क्रममा त्यसमा सुन जस्ता बहुमुल्य धातुहरु समेत संलग्न गर्नुपर्ने हुन्छ । यस्ता धातुहरु प्रयोग गरिएका मुर्तिको मूल्य स्वभाविक रुपमा महँगो पर्न जान्छ । साथै त्यस मुर्तिमा गरिएको मेहनत र फिनिसिङ लगायतका कुराहरु एवं बजार माग लगायतमा आधारित रही मुर्तिको मूल्य निर्धारण गरिन्छ ।
सरकारले गर्नुपर्ने कार्यः
नेपालमा अहिलेको अवस्थामा हस्तकलाजन्य क्षेत्रको बजार राम्रो छ । अहिलेको अवस्थामा हस्तकला क्षेत्रमा संलग्न रहेका र यस क्षेत्रमा काम गर्न चाहने व्यक्तिहरुलाई प्रोत्साहित गर्नको लागि नेपाल सरकारले केही विशेष व्यवस्थाहरु गरेर सहयोग पुर्याउनुपर्ने शाक्य बताउनुहुन्छ । जसअन्तरगत पुँजी प्रवाह एक हो । लामो लकडाउनको कारण व्यवसायीहरुका आर्थिक क्रियाकलाप ठप्प छन् । यस्तो अवस्थामा सरकारले सुलभ दरमा कर्जा उपलब्ध गराई पुँजी व्यवस्थापनमा सहयोग पुर्याएको खण्डमा हस्तकला क्षेत्र बचाउन ठूलो सहयोग पुग्नेछ । यसो हुन नसकेको खण्डमा धेरै हस्तकला व्यवसायीहरु आर्थिक सङ्कटकै कारण सदाको लागि बन्द हुनुपर्ने अवस्था पनि आउन सक्ने देखिएको छ । यस कार्यमा नेपाल हस्तकला महासंघले पनि व्यवसायी एवं कलाकारलाई सहयोग पुग्ने गरी उत्पादित वस्तुको सजिलै बजारीकरण गर्न सक्ने गरी उपयुक्त बजार खोज्न सहयोग गर्नुपर्छ ।
नेपाली कला भारतमा पनि उत्पादन हुँदा नेपाली मर्कामाः
नेपालका परम्परागत हस्तकलाका डिजाइनहरु अहिले भारतीय बजारमा पनि दुरुस्तै उत्पादन हुन थालेका छन् । हाम्रै डिजाइन भारतमा समेत उत्पादन गरिँदा त्यसको ठूलो मर्का नेपाललाई पर्ने अवस्था छ । यसको अलावा चीनमा समेत आधुनिक मेसिनको विकास गरी हाम्रो डिजाइन बमोजिमका हस्तकलाजन्य वस्तुहरु मेसिनबाटै तयार गर्न थालिएको छ । यसबाट नेपालमा परम्परागत रुपमा हस्तकलाजन्य सामाग्रीहरु उत्पादन गर्ने व्यक्तिहरुलाई निकै ठूलो अप्ठ्यारो अवस्था सृजना हुन सक्छ । सोहीकारण यसबाट आउन सक्ने भावी समस्यालाई विचार गर्दै नेपालका आफ्ना शैलीका हस्तकलाजन्य वस्तुहरु बाह्य बजारमा उत्पादन गर्न नपाउने गरी राज्य पक्षबाटै कुटनीतिक पहल हुनु जरुरी देखिएको छ ।
विश्व शान्तिको कामना सहित न्यून व्रतः
अहिले नेपालमा कोरोना विश्वको लागि ठूलो समस्या बनेको अवस्थामा यसलाई शान्ति ल्याउनको लागि दैनिक १ छाक खाना खाएर १ महिना सम्म न्यून ब्रत गर्नुभयो । हाम्रो संसारमा सबैलाई सुख, खुसी, शान्ति मिलोस् । संसारका सबै प्राणीहरुको उद्धार हुन सकोस् भन्ने मान्यताले यसपटक न्यून ब्रत आयोजना गरिएको हो । यो ब्रत हाल नेपालमा विभिन्न ठाउँहरुमा गरिएको पाइन्छ । हुनतः नेपालको लागि यो निकै पुरानो हो । यसको प्रचलन निकै पौराणिक भएपनि नेपालबाट लोप भई ल्हासा पुगेको यो प्रचलन अहिले पुःन नेपालमा पनि प्रचलनमा आएको छ । यो ब्रतमा बौद्ध धर्माबलम्बी र नेवार समुदायका व्यक्तिहरु मात्र नभई सबै किसिमका समुदायहरुले यस व्रत मान्दै आएका छन् ।
प्रस्तुतीः कमल पन्थी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij