काठमाडौँ, २८ चैत: हङकङमा जारी चार राष्ट्रीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले कुबेतमाथि ६ विकेटको सानदार जित निकालेको छ। कुबेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमै चार विकेट गुमाउँदै सहजै पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले विस्फोटक अर्धशतकीय इनिङ खेले। भुर्तेलले ५० बलमा ८१ रन बनाउँदै ६ चौका र ६ छक्का प्रहार गरे भने शेखले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए। अन्त्यतिर दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३ छक्का र २ चौकासहित तीव्र ३१ रन बनाएर जितलाई सहज बनाए।
कुबेतका बलरमध्ये यासिन पटेलले २ विकेट लिए भने मोहम्मद सफिक र मोहम्मद आस्लामले १–१ विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। उसका ओपनर क्लिन्टो एन्टोले ४१ रन, राभिजा सान्दारुवानले २६ रन, मिट भाबसारले ३५ रन र बिताल ताहिरले ३२ रन बनाए।
नेपालका तर्फबाट सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। नन्दन यादवले २ विकेट हात पार्दा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए। यो जितसँगै नेपालले प्रतियोगितामा बलियो उपस्थितिको संकेत दिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij