२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा युवा व्यवस्थापन र औद्योगिक वातावरणको अबकोे बाटो

नेपालमा युवा व्यवस्थापन र औद्योगिक वातावरणको अबकोे बाटो

अरुणराज सुमार्गी,
कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

कोभिड–१९ को समापन पश्चात् यस महामारीको कारण नेपालले व्यहोर्ने आर्थिक घाटा, सामाजिक घाटा र सामाजिक सन्तुलनलाई आपसमा परिपूरक हुने गरी नीतिनिर्माण गर्नु जरुरी रहन्छ । यसो हुन सकेन भने हाम्रो आर्थिक अवस्था, राजनीतिक संरचना र जनताको जीवनस्तर बीचको खाडल अझ बढ्दै जाने अवस्था आउन सक्छ । यसले हामीलाई थप कमजोर बनाउन सक्छ ।
अहिले हामीले कोभिड–१९ लाई लक्षित गरेर कायम गरिएको बन्दाबन्दीको कारण हाम्रो उत्पादन र बजारीकरण (व्यापार)मा समस्या सृजना भएको छ । तर अबको लागि यी दुवै समस्या भन्दा ठूलो चुनौती भनेको नेपालमा वैदेशिक रोजगारबाट फर्किने नेपालीहरुको व्यवस्थापन नै हुने देखिएको छ ।

नेपाल सरकारले विभिन्न देशहरुबाट प्राथमिकताको आधारमा नेपालीहरुलाई नेपालमा भित्र्याउन शुरु गरेको छ । तर अहिले नै एकैपटकमा सबै नेपालीहरुलाई नेपालमा ल्याउन सकिने अवस्था भने छैन । अर्थात हामीसँग त्यस किसिमको क्षमता छैन । हाम्रो क्षमताले भ्याउने हो भने अहिले नै दैनिक ५ लाखको हाराहारीमा नेपाली युवाहरु स्वदेश फर्कन आतुर छन् ।

वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका ती युवाहरुलाई हामीले कसरी व्यवस्थापन गर्न सक्छौं भन्ने चुनौती ठूलो चुनौतीको रुपमा देखा पर्दैछ । विदेशमा रहँदा कुनै कार्यमा राम्रो दक्षता विकास गरेर कामलाई उत्पादनशिल बनाई राम्रो रेमिट्यान्स नेपालमा पठाउँदै आएका युवाहरुलाई तत्काल काममा लगाउन सक्ने गरी त्यस किसिमको पूर्वाधार हामीसँग छैन । साथै नेपालमा आएपश्चात् ती युवाहरुलाई तत्काल उनीहरुको क्षमता बमोजिमको रोजगारी सृजनाको लागि पूर्वाधार र प्रविधि विकास गर्न सकिने अवस्था पनि छैन । यसकारण ती युवाहरुको व्यवस्थापन नेपालको लागि ठूलो चुनौती हुने निश्चित छ ।

अलमलमा सरकार र व्यवसायीहरुः
निजी क्षेत्रलाई परिरहेका, पर्ने र पर्न सक्ने असरहरु कस्ता हुन सक्छन् भन्ने सम्बन्धमा नेपाल सरकार अझै पनि अन्यौलमा नै छ । निजी क्षेत्र पनि अन्यौलमा नै देखिन्छ । निजी क्षेत्र अहिले सम्म कर्मचारीको सेवासुविधाको व्यवस्थापन वा कटौती, कर्मचारीको व्यवस्थापन, घरभाडा व्यवस्थापन, कर लगायतमा नै केन्द्र्रित छ । अर्थात अझै पनि उत्पादनमा जान सकेको छैन ।

उत्पादनमा केन्द्रित होऔंः
जबसम्म हामी उत्पादनमा जान सक्दैनौं र हाम्रा उत्पादनहरु बजारमा पठाउन सक्दैनौं, त्यसले हामीलाई अर्को ठूलो समस्या सृजना गर्न सक्छ । यस्तो कुरालाई विचार गर्दै नेपालमा उत्पादित कुन–कुन वस्तुमा हामी आत्मनिर्भर छौं र कस्तो प्रकृतिका कति परिमाणका वस्तुहरुमा हामी परनिर्भर छौं भन्ने सम्बन्धमा एक किसिमको अध्ययन हुनु जरुरी छ । अब सोही तथ्यांकको आधारमा नीति तय गरेर हामी उत्पादन अभिवृद्धिमा अघी बढ्नु जरुरी छ ।

युवा व्यवस्थापनमा के होला सरकारको सोच ?
नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्ये करिब ५० प्रतिशत युवाहरु मात्र फर्किए भने त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे खोइ त सरकारले सोचेको ? यदि सोचेको छ भने सरकारले त्यसको लागि कस्ता योजनाहरु बनाइरहेको छ त ? सरकार आफैंले रोजगारी सृजना गर्ने क्षेत्रहरु कुन–कुन हुन् ? र कति क्षमतामा त्यसरी रोजगारी सृजना गर्न सकिन्छ ? साथै व्यावसायिक क्षेत्रहरुमा संलग्न घरानाहरुमा ती युवाहरुलाई संलग्न गराउनको लागि कसरी सहकार्य र समन्वय गर्नु जरुरी रहन्छ ? भन्ने सम्बन्धमा अहिले नै योजनाबद्ध रुपमा नसोचे नेपालमा वेराजगगारी दर बढेसँगै अवस्था थप भयावह हुँदै जाने निश्चित छ । यसको परिणामको रुपमा कुपोषण, आपसी झै–झगडा, काटमार, चोरी, डकैटी, बलात्कार जस्ता सामाजिक विकृतिहरु पनि सृजना हुन सक्छन् ।

यस्तो अवस्थालाई विचार गर्दै विशेष कार्ययोजना नबनाउने हो भने विदेशबाट युवाहरु फर्किएपश्चात् दुष्कर्ममा लाग्ने युवाहरु राज्यको लागि भार बन्न सक्छन् । आफ्नै स्वविवेकले स्वरोजगार बन्न चाहने युवाहरुको सङ्ख्या निकै कम हुनेछ । ठूलो सङ्ख्याका युवाहरुको जमात उत्पादनमूलक कार्यमा नलागि बाहिरबाटै हुटिङ मात्रै गर्ने किसिमका पनि हुन सक्छन् । यसले मुलुकमा कतै ठूलो द्वन्द्व निम्त्याउने त होइन ? भन्ने सम्बन्धमा अहिले नै सोच्नु जरुरी छ ।

नेपालमा रोजगारीका सम्भावना क्षेत्रहरु
विदेशमा निकै लामो समय एकोहोरो रुपमा काममा खटिएका युवाहरुलाई नेपालमा पनि सोहीबमोजिमको काम भएमात्र उनीहरुलाई निरन्तर व्यस्त बनाइराख्न र हाम्रो उत्पादकत्व समेत बढाउन सकिन्छ । तर नेपालमा यसको लागि कुन क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने भन्ने नै अन्यौल सृजना हुने स्थिति छ ।

पर्यटनः
नेपालमा पर्यटन अबको ५ बर्षको लागि माथि उठ्ने नसक्ने अवस्थामा छ । यद्यपि पर्यटनसँग सम्बन्ध राख्ने सबै व्यवसायीहरुलाई टाट पल्टिनबाट बचाउन नेपाल सरकारले अब आन्तरिक पर्यटनको प्रवद्र्धनमा जोड दिनु जरुरी छ ।

भू–उपयोग नीतिः
नेपालमा खेतीयोग्य रहेको जमीनलाई खेतीपातीकै रुपमा प्रयोग गर्ने नीति अङ्गिकार गर्नु जरुरी छ । यसलाई कागजमा मात्र सीमित राखेर मात्र हुँदैन । अहिले सम्म बाग्मती प्र्रदेश सुविधा सम्पन्न प्रदेश हुँदाहुँदै पनि दीर्घकालिन नीति तथा योजना निर्माण र कार्यान्वयनमा चुकिरहेको छ । मुलुकले विकेन्द्रीकृत संघीय व्यवस्था अपनाएको अहिलेको अवस्थामा बाग्मतीले व्यवस्थित योजना कार्यान्वयन गर्न नसके यसलाई कर्णालीबाट शुरुवात गर्न सकिन्छ । तर अझै पनि हाम्रो मुलुकमा व्यवस्थित विकास कार्य अघी बढ्न सकेका छैनन् । केन्द्रले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । तैपनि राज्य संरचनाका ३ ओटै तहहरुमा आपसी समन्वयन राम्रो बन्न सकेको भने पाईंदैन । प्रदेश संरचना बनाउँदा अधिकार गाउँमा प्रवाह गर्ने भन्दै गाउँगाउँमा सिंहदरबार भन्ने नारा सहित कार्यक्रमहरु अघी बढाइयो । तर दुखको कुरा सिंह त गाउँ पस्यो, तर दरबार चाहिँ राजधानीमै बस्यो । अर्थात अहिले पनि सबै अधिकारको लागि काठमाडौं नै आउनुपर्ने अवस्था छ ।

अबको कार्यदिशा
नयाँ रोजगारी सृजना, स्वरोजगारमा प्रोत्साहन र उपलब्ध रोजगारीको संरक्षण ३ ओटै कुरामा सन्तुलन सहितहाम्रा गतिविधिहरु अघी बढ्नुपर्छ । तर दुखको कुरा अघिल्ला २ बर्षमा ल्याइएको वितरणमुखी बजेट मार्फत कृषिमा निकै ठूलो रकम विनियोजन गरियो । तर उक्त रकमको उत्पादनमुखी भएको भने पाइएन । त्यसरी विनियिोजित रकम बारे के अहिलेको सङ्कटको घडीमा समेत नेपाल सरकारले मुख खोल्नु पर्दैन ?

सरकार र निजी क्षेत्र बीचको अन्तरसम्बन्धः
नेपालको अर्थतन्त्रलाई अघी बढाउने हाम्रो कार्यदिशा के हो भन्ने कुरा हामी व्यवसायीहरुले अहिले सम्म बुझ्न सकेका छैनौं । राज्यले निजी क्षेत्रसँग सहकार्य गर्ने नीति अबलम्बन गर्न सकेको छैन । राज्य सङ्कटको बेला जहिले पनि निजी क्षेत्रको महत्वपूर्ण साथ रहँदै आएको छ । तर त्यस बापत राज्यले निजी क्षेत्रलाई जहिले पनि थिचोमिचोमा पार्दै आएको छ । जुन नेपालले भारतलाई अनन्य मित्र मान्दै आउनु र भारतबाट नेपालले निरन्तर मार खेप्नुपर्ने अवस्था सँग ठ्याक्कै मिल्दो छ । जसले गर्दा निजी क्षेत्रलाई साथ लिन नसकेको कारण सरकार र निजी क्षेत्र बीच सदैव एक किसिमको मतभेद रहँदै आएको छ, यसले गर्दा पनि हाम्रो उत्पादकत्व अभिवृद्धि, रोजगारी सृजना लगायतमा ठूलो योगदान पुग्न सकेको छैन ।

बजेट सफल कार्यान्वयन बारे खोई अनुगमनः
अघिल्ला बर्षहरुमा हामीले विनियोजन गरेको बजेट कत्तिको सार्थक बन्न सकेको छ भन्ने सम्बन्धमा यसको प्रभावकारिता बारे अध्ययन र अनुगमन हुनु जरुरी छ । जुन उद्देश्यले उक्त रकम विनियोजन गरेका छौं, त्यसको सही प्रतिफल हामीले पायौं कि पाएनौं ? पायौं भने हाम्रो उपलब्धि के रह्यो ? हाम्रो जनजीवन कति माथि उठ्न सक्यो ? कति व्यक्तिहरु त्यसबाट लाभान्वित भए ? भन्ने जस्ता प्रश्नहरुमा पनि के हामीले ध्यान केन्द्रित गर्नुपर्दैन ?

थप रोजगारी सृजनामा सहकार्य जरुरी छः
नेपालमा नयाँ रोजगारी सृजना गर्नको लागि नेपालका औद्योगिक घरानाहरुलाई कसरी उत्तरदायी बनाउने हो भन्ने सम्बन्धमा राज्य र निजी क्षेत्र बीच आपसी सहकार्य हुनु जरुरी रहन्छ । आपसी छलफलबाट बिना मतभेद विशेष नीति मार्फत हामी यस कार्यमा अघी बढ्नुपर्छ । सरकारले उद्योगीहरुलाई कि त तपाईंहरु आफैं विदेशबाट पैसा ल्याएर नेपालमा ठूलो रोजगारी सृजनाको लागि काम गर्नुस्, होइन भने सरकारले नै आफैं त्यो रकम ल्याएर तपाईंहरुलाई उपलब्ध गराउँछ, त्यसबाट तपाईंहरुले यति रोजगारी सृजना गर्नुपर्छ भन्ने किसिमले निजी क्षेत्रलाई उत्तरदायी बनाउन विशेष भूमिका खेल्नु जरुरी रहन्छ ।

 

यसरी प्रयोगमा ल्याउन सकिन्छ उपलब्ध रकमः
साथै उक्त रकम नेपाल सरकार मातहतका बैंकहरुबाट विनियोजन गरी साना कुटिल उद्योग, घरेलु उद्योग, मझौला उद्योग लगायतमा लगानी प्रवद्र्धन गर्ने नीति अबलम्बन गर्न जरुरी छ । ठाउँ र भू–बनोट अनुसार जहाँ जस्तो सम्भावना छ, त्यसै बमोजिमका योजना ल्याई सोहीबमोजिमका कार्यक्रमहरु अघी बढाउन सकेको खण्डमा हामीले ठूलो परिमाणमा नयाँ रोजगारी सृजना गर्न सकिन्छ । यस किसिमको व्यवस्था नेपाल सरकारले मिलाउनु जरुरी छ । यसबाट हामीले राम्रो लाभ लिन सक्ने थियौं । तर अहिले सम्म संघीय सरकारले यसबारेमा केही कार्यक्रम अघी बढाउनुले सरकारको नीति के हो भन्नेमा हामी अन्यौलमा छौं ।

सरकार के सोच्दैछ ?
हाम्रो देशको अर्थतन्त्र अहिले चौपट छ । तर हाम्रो देशका अर्थमन्त्री र प्रधानमन्त्रीको सोचाई भने आफूसँग ढुकुटीमा पैसा त्यत्तिकै थन्क्याउने वा अनुत्पादक क्षेत्रमा खर्च गर्ने तर उद्योगी व्यवसायीहरुलाई उत्पादन वृद्धि र रोजगारी सृजनामा प्रोत्साहित नगरी करको दरलाई उच्च बनाएर मात्र हामी सम्पन्न र समृद्ध हुन सक्छौं भन्ने किसिमको पो छ कि ? भन्ने निष्कर्षमा हामी उद्योगी व्यवसायीहरु पुगेका छौं ।

अबको आवश्यकता 
अब हामीले नेपालमा नयाँ व्यवसाय प्रवर्द्धनलाई जोड दिँदै हाम्रा उद्योगहरुमा कसरी अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउन सकिन्छ भन्ने सम्बन्धमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । तर अहिले भने त्यसो नभई केवल हामी परम्परागत रुपमा मात्रै सोचिरहेका छौं । आवश्यक परे राज्यले हाम्रा उद्योगी तथा प्राविधिकहरुलाई कोरीया, जापान, अमेरिका जस्ता मुलुकहरुमा भ्रमण गराएर त्यहाँको सीप र प्रविधि बारे ज्ञान हासिल गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता पनि रहन्छ । साथै नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा समेत सहयोग गर्नुपर्छ ।
अहिले सम्म नेपालका उत्पादनहरु निजी व्यवसायीकै प्रयाशमा विदेश निर्यात गरिँदै आइएको छ । नेपाल सरकारले चाहने हो भने हाम्रा उत्पादनलाई बजारीकरण र नेपालमा लगानी भित्र्याउनको लागि विशेष सम्झौता गरेर नै त्यस किसिमको वातावरण मिलाउन सक्छ, यद्यपि अहिले सम्म किन यस्तो प्रयाश गर्न सकिएको छैन भन्नेमा हामी अनविज्ञ छौं ।

राज्यले एफडिआइ भित्र्याउन उपयुक्त कदम चालेको खण्डमा विश्वका ठूला लगानीकर्ताहरुबाट नेपालमा विशेष कार्यप्रयोजनको लागि सहजै पैसा आउन सक्ने अवस्था रहन्छ, जुन अहिले सम्म हुन सकेको छैन । राज्यले नेपालमा लगानी गर्न चाहने कम्पनीहरुलाई उनीहरुको लगानी रकम कुनै कारणवश व्यवसायीले फिर्ता नगरे राज्यले नै त्यसको जिम्मेवारी लिन्छ भन्ने किसिमको विश्वास दिलाउन सकेको खण्डमा नेपालमा सहजै त्यस्ता कम्पनीहरुले नेपालमा लगानी गर्न प्रोत्साहित हुन सक्छन् । जुन अहिलेको हाम्रो आवश्यकता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij