नेपाल प्राकृतिक स्रोत र भौगोलिक संरचना दृष्टिकोणले निकै पृथक देश हो । यहाँको भौगोलिक परिस्थिति समेत निकै भिन्न छ । मुलुकको विकासको लागि नेपालमा प्रशस्तै सम्भावनाहरु छन् । यद्यपि सबैभन्दा राम्रो र छोटो समयमा फड्को मार्न सकिने क्षेत्रको रुपमा भने पर्यटनलाई नै लिन सकिन्छ । वास्तवमा नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । साथै पछिल्लो समय पर्यटन क्षेत्रमा निजी तवरले लगानी गर्ने व्यवसायीहरुको सङ्ख्या समेत निकै नै वृद्धि हुँदै गइरहेको छ ।
नेपालमा मनाउन लागिएको भ्रमण बर्ष सम्पन्न गर्नको निम्ति अहिलेको पूर्वाधार कत्तिको पूर्ण छ भन्ने सम्बन्धमा खासै अध्ययन नगरी अघी सारिएको यो कार्यक्रम नेपालमा सम्पन्न हुन सक्ने सम्भावना निकै कम देखिन्छ । नेपालमा यस कार्यक्रमलाई सम्पन्न गर्नको निम्ति नेपाली युवाहरुलाई सेवा प्रवाहमा खटाउनको लागि पहिले देखि नै सम्बन्धित क्षेत्रको लागि तालिम तथा प्रशिक्षण प्रदान गर्नुपर्ने भएपनि अहिले सम्म यसको लागि पहल गर्न सकेको पाईंदैन ।
पछिल्लो समय नेपालमा आउने पर्यटकहरुको निम्ति सहज माध्यम हवाई यातायात बनेको छ । तर नेपालमा हवाई दुर्घटना बढिरहेको कारण यो निकै चिन्ताको विषय बनेको छ । यसलाई न्यूनीकरण गर्न नसक्दा नेपालका उच्चपदस्थ व्यक्तिहरु सहित थुप्रैले अकालमा ज्यान गुमाउनुपरेको छ । साथै यसबाटल नेपालमा आउन चाहने पर्यटकहरुलाई समेत सुरक्षाको अनुभूति दिलाउन गाह्रो पर्न सक्नेमा विचार गर्दै हवाई दुर्घटना न्यूनीकरणको लागि आवश्यक पहल गर्नु जरुरी छ । साथै नेपालमा अहिलेको अवस्थामा पनि पर्यटकहरुको बढ्न सक्ने सङ्ख्यालाई लक्षित गरी उनीहरुलाई आवश्यक पर्ने सेवासुविधाहरु कसरी बढाउने भन्ने सम्बन्धमा समेत नेपाल सरकारले ध्यान दिन सकेको छैन । पर्यटन क्षेत्रमा नयाँ सम्भावनाका क्षेत्रहरुको बारेमा समेत अहिले सम्म खासै चासो दिन सकिएको छैन ।
पर्यटन क्षेत्रलाई राम्रो तवरले अघी बढाउनको निम्ति अबका दिनमा ग्रामीण क्षेत्रका सम्भावनाहरुको पहिचान गर्नुपर्ने आवश्यकता समेत छ । अहिले सम्म नेपालको पर्यटन क्षेत्र शहरी क्षेत्र र केही विशेष सम्भावनायुक्त क्षेत्रमा मात्र केन्द्रित हुँदै आएकोमा आगामी दिनमा यस क्षेत्रका नयाँ सम्भावनायुक्त क्षेत्रहरुको खोजी गर्नुपर्ने आवश्यकता समेत छ । खासगरी ग्रामीण क्षेत्रका युवा र महिलाहरुलाई रोजगारी सृजना हुन सक्ने गरी नयाँ क्षेत्रहरुको खोजी हुन सकेको खण्डमा ग्रामीण क्षेत्रमा पर्यटकहरुले राम्रो सुविधा पाउने अवस्था एकातिर सृजना हुन्छ भने अर्कोतिर ग्रामीण क्षेत्रका युवाहरुको आर्थिक अवस्था सृजना हुने र यसबाट उनीहरुको अवस्था माथि उठाउन समेत निकै सहयोग पुग्छ ।
नेपालमा अहिले सम्म हामीले पर्यटकहरुको सङ्ख्या बढाउनेमा मात्र केन्द्रित भएका छौं । आगामी दिनमा हामीले कस्ता पर्यटकहरुको सङ्ख्या बढाउने र कति पु¥याउने भन्ने सम्बन्धमा पनि विशेष चासो सहित काम अघी बढाउनु जरुरी छ । नेपालमा हामीले कस्ता पर्यटक बढाउने र हाम्रो पर्यटन क्षेत्रको योगदान कुल जिडिपीमा कति बर्षमा कुन अवस्थामा पु¥याउने भन्ने सम्बन्धमा लक्ष्य सहित अघी बढेको खण्डमा हामीले हाम्रो अवस्था छोटो अवधिमा नै निकै माथि उठाउन सक्छौं । साथै यसको लागि हामीले हाम्रो पर्यटनलाई अहिलेकै अवस्थामा मात्र नभई मानवनिर्मित संरचनालाई समेत साथ लिन सकेको खण्डमा अझ माथि उठाउन सकिने अवस्था रहे त्यस तर्फ पनि ध्यान केन्द्र्रित गर्नुपर्छ ।
नेपालमा पर्यटन क्षेत्रले निकै ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्छ । पर्यटक भित्र्याउने उद्धेश्यले हामीले कुनै भौतिक संंरचना निर्माण गर्ने हो भने त्यसलाई बहुउपयोगी संरचना समेत बनाउन सकिन्छ । कुनै पनि भौतिक पूर्वाधार निर्माण कार्य छोटो योजनाबाट मात्र निर्माण गर्ने हो भने त्यो दिगो नहुन सक्छ । त्यसकारण हामीले दिगो योजनालाई विचार गरेर सोहीबमोजिम हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी छ ।
हामीले हाम्रो अहिलेको विकासलाई मात्रै नभई त्यसको दिगो प्रभाव के रहन्छ भन्ने सम्बन्धमा पनि त्यत्ति नै सचेत बन्नुपर्छ । नयाँपनको खोज र अनुसन्धानको लागि हामी सदैव तयार नै रहनुपर्छ । यसको लागि उक्त क्षेत्र पनि हाम्रो प्राथमिकतामा नै रहनुपर्छ । यसको लागि हामीले सोही बमोजिम आवश्यक स्रोत र साधनको उपलब्धता हुनुपर्छ ।
नेपाली युवाहरुलाई नेपालमा नै अवसर छन् र पर्यटन क्षेत्र समेत नेपाली युवाहरुको निम्ति राम्रो प्लेटफर्म हुन सक्छ, शहरमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत वायोपर्यटन तथा यस सँग सम्बन्धित गतिविधिहरु सञ्चालन गर्न सकिन्छ भन्ने सम्बन्धमा हामीले विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । यसबाट नेपाली युवाहरुमा आफ्नो सोचाईको दायरालाई बढाउनको निम्ति विशेष सहयोग प्राप्त हुनेछ । जसले गर्दा उनीहरु आफैं पनि नेपालमा नै रहेर काम गर्न र नेपालका बाँझो बन्दै गएका भूमीहरुलाई हराभरा बनाउनको निम्ति प्रेरित हुन सक्छन् ।
नेपाली युवाहरु अहिले नेपालमा राम्रा अवसरहरु छैनन् भन्ने रेडिमेड भावनाबाट प्रभावित छन् । उनीहरुको चेतनामा नेपालमा पनि यस्ता यस्ता सम्भावना छन्, नेपालमा रहेर पनि राम्रो आय र प्रतिष्ठा कायम गर्न सकिन्छ भन्ने सम्बन्धमा थुप्रै अभिप्रेरक कार्यक्रमहरु सञ्चालन गरिदिने हो भने नेपालका हाम्रा भूमीहरु पूःन हराभरा हुन धेरै बर्ष लाग्नेछैन । जसले गर्दा हाम्रा हरेक डाँडापाखा र खेतवारीहरु हाम्रा पर्यटन आकर्षणको नयाँ माध्यम बन्न सक्छन् । हामीले अबका दिनमा यस्ता कुराहरुमा यस्ता विचार गरिनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij