२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा कोरोनाको ‘अतिउच्च जोखिम’ टर्‍यो, अब ‘उच्च जोखिम’को सूचीमा

नेपालमा कोरोनाको ‘अतिउच्च जोखिम’ टर्‍यो, अब ‘उच्च जोखिम’को सूचीमा

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार नेपालले लकडाउन तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन,’ उनले भने, ‘त्यसैले नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोरोनाको परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोरोना र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोरोना विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आ–आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् ।

त्यसैगरी, सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।

कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोरोना दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ ।

अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।

त्यसैगरी, कोरोना रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन् ।

नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् ।

विश्वमा अहिले २८ लाख ३३ हजार ९५८ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३६८ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij