के हो अर्थोडक्स चिया ?
अर्थोडक्स भन्नाले सामान्यतया परम्परागत तवरले पुरानै प्रविधिबाट उत्पादन हुने भन्ने किसिमले बुझ्न सकिन्छ । जसरी चियालाई परम्परागत रुपमा हातले माडेर फर्मेन्टेसन प्रक्रिया बमोजिम उत्पादन गरिन्थ्यो । अहिलेका आधुनिक मेसिनबाट पनि त्यसरी नै चिया उत्पादन कार्य हुँदै आएको छ । 

चियाका प्रकारहरु :
चियालाई अहिले सम्म ग्रिन, उलङ र ब्ल्याक गरी ३ किसिमले वर्गिकरण गरिँदै आइएको छ । त्यसैको आधारमा नै आवश्यकता र औचित्यता बमोजिम आफू अनुकुल फरक डिजाइन र ब्राण्डका चियाहरु विभिन्न भेराइटमा बजारमा उपलब्ध गराउँदै आइएको छ । कतिपय चियाहरुलाई स्पेसियालिटी समेत भन्ने गरिन्छ । यस्तो प्रकृतिका चियाहरु चियाको बोटको खास–खास भागबाट मात्र बन्ने गर्छन् । जुन तुलनात्मक रुपमा महँगो पर्ने गर्छ । यस्तो चियालाई विशेष शौखिनहरुले मात्र प्रयोग गर्ने भएको कारण विशेष महत्व रहँदै आएको छ ।
चियालाई फरक तवरले प्रयोग गर्ने प्रचलन बढ्दो :
अहिले विश्व बजारमा विभिन्न किसिमले चियालाई प्रयोगमा ल्याउन थालिएको छ । कतिपय अवस्थामा चियालाई वाइनको रुपमा प्रयोगमा ल्याउने प्रचलन शुरु भएको छ भने चियालाई चिसो बनाई खाने प्रचलन समेत विकास भएको छ । यसको साथै चियालाई चक्लेट तथा सौन्दर्यमूलक सामाग्रीहरु निर्माणको निम्ति समेत प्रयोग गर्ने प्रचलन बढ्दो छ । चिया प्रतिको उपभोक्ताको रुचिलाई ध्यानमा राखेर यसो गरिएको अनुमान गर्न सकिन्छ ।
चियाका प्रकारहरु :
बजारमा ग्रिन र ब्ल्याक टी प्रति मानिसहरुको चासो बढेको छ । तर उलङ टीको बारेमा भने मानिसहरुलाई खासै जानकारी छैन । न त पूर्ण रुपमा ग्रिन र न त ब्ल्याक टि, यी दुवै चियाको मध्यम वर्गमा पर्ने यस प्रकृतिको चियालाई उलङ चिया भन्ने गरिन्छ । ब्ल्याक टि पूर्ण फर्मेन्टेसनबाट तयार गरिन्छ भने ग्रिन टि बिना फर्मेन्टेसन नै तयार हुन्छ । तर उलङ टिमा हल्का फर्मेन्टेसन गरिएको हुन्छ । यद्यपि नेपाली बजारमा सामान्यतया सिटिसि चियालाई नै ब्ल्याक टिको रुपमा बुझेको पाइन्छ । जुन सत्य होइन ।
अर्थोडक्स चिया : जान्नुपर्ने कुरा
नेपालमा अहिलको अवस्थामा चियाको क्षेत्रमा लगानी गरेका उद्योगहरुलाई लगानीको हिसाबले हेर्दा ठूला र मध्यमवर्गीय गरी २ भागमा वर्गिकरण गरेर हेर्न सकिन्छ । चिया उद्योग सञ्चालनको क्रममा ३०-४० लाख रकम सम्मको लगानीमा मिनी चिया उद्योगहरु सञ्चालन गर्न सकिन्छ ।
हाल नेपालमा करिब ४० लाख किलोको हाराहारीमा अर्थोडक्स चिया उत्पादन हुने अनुमान गर्न सकिन्छ । नेपालमा सबैभन्दा बढी अर्थोडक्स चिया इलाममा उत्पादन हुन्छ । अर्थोडक्स चिया उत्पादन हुने अन्य जिल्लाहरु धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर लगायत हुन् । पछिल्लो समय नेपालमा चिया खेती विस्तार भएका अन्य जिल्लाहरुमा कास्की, संखुवासभा, सिन्धुपाल्चोक लगायत समेत रहेका छन् ।
अर्थोडक्स टि :
स्वास्थ्यवद्धक चियाको रुपमा समेत अर्थोडक्स चियालाई लिन सकिन्छ । यसलाई प्रयोगको क्रममा दूधको प्रयोग गरिनु हुँदैन भने अर्थोडक्सलाई बिषादी रहित समेत मानिन्छ । यसमा हुने इन्जाइमले मानिसको इम्युनिटी पावर बढाउँछ । एन्टि अक्सिडेन्ट क्यापासिटी बढी हुने, कोलेष्ट्रोलको मात्रा घटाउने, ब्लड सुगर नियन्त्रण लगायतको कारण अहिले नेपाली बजारमा पनि अर्कोडक्स चिया (खासगरी ग्रिन टी)को माग बढ्दो छ । चियाको निम्ति अहिले नेपालमा मात्र नभइ विश्वभर नै ग्रिन टी पिउने प्रचलन विकास भइरहेको छ ।
टि शप मार्फत चिया कल्चर फस्टाउने सम्भावना :
नेपालमा अहिले जसरी कफी कल्चर फस्टाउँदै गएको छ, त्यसरी नै स्वदेशमा नै उत्पादन हुने चियाको माध्यमबाट व्यवस्थित तवरले चिया पसल (टि शप आउटलेट) सञ्चालन गरी (कफी शपकै ढाँचामा) चिया शप कल्चर समेत विकास गर्नुपर्ने आवश्यकता छ । यसको निम्ति शुरुमा निकै ठूलो रकम लगानी गर्नुपर्ने हुन्छ । यस्तो प्रक्रियाको निम्ति तत्काल कसैले अग्रसरता लिएको पाईंदैन । तर अर्थोडक्स चियाको निम्ति आगामी दिनमा यस्तो प्रचलन विकास हुनु त्यत्ति नै आवश्यक छ । 
चिया सम्बन्धी जनचेतना फैलाउनु आवश्यक :
नेपाली बजारमा चियाको फाइदा सम्बन्धमा कसैले पनि जनचेतना समेत फैलाउन सकेको छैन । धेरै मात्रामा मानिसहरु जमघट हुने ठाउँमा राम्रो तवरले चिया बारे जनचेतना समेत फैलाउन सकिने गरी सोही बमोजिम टि शपहरुमा लगानी गरिने हो भने केही हद सम्म आयातित कफीलाई स्वदेशी स्तरीय चियाले विस्थापन गर्न सकिने सम्भावना नभएको होइन ।
चिया क्षेत्रको विकासको लागि गर्नुपर्ने अन्य कार्यहरु :
अहिले पनि नेपालमा चियाको बारेमा राम्रोसँग अधिकांश मानिसहरुले यसका विशेषताहरु सम्बन्धमा सही जानकारी पाउन सकेका छैनन् । नेपालमा भएको चियालाई बजार प्रवद्धनको निम्ति अन्तराष्ट्रिय बजार खोज्नुपर्ने आवश्यकता समेत छ । नेपालमा अहिले सम्म यहाँ उत्पादन हुने चियालाई क्वालिटी कन्ट्रोल गर्न समेत सकिएको छैन । जसले गर्दा नेपालमा उत्पादन भएको चिया (करिब ९० प्रतिशत) भारतीय बजारमा नै बिक्री गर्नुपर्ने अवस्था छ । यसले गर्दा हामीले तुलनात्मक रुपमा निकै कम मूल्यमा हामीबाट उत्पादन भएको चिया भारतीय बजारमा विक्री गर्नुपर्ने अवस्था छ ।
विश्व बजार प्रवद्धनका अन्य कठिनाइहरु :
अहिले नेपालमा स्तरीय प्रयोगशाला नभएको, चिया तथा कफी विकास वोर्डले मात्रै चियाको क्वालिटी कन्ट्रोल क्षेत्रमा प्रयाप्त काम गर्न नसकेको, नेपालको गुणस्तर विभागले प्रदान गरेको प्रमाणपत्र अन्तराष्ट्रिय मान्यता बमोजिम प्रमाणिकरणको मान्यता पाउने अवस्था नरहेको लगायतका कारणले गर्दा नेपाली चियालाई सिधै विश्व बजारमा प्रवद्धन गर्न समेत गाह्रो छ । 
यस्तो अवस्थामा नेपाल सरकारले अन्तर्राष्ट्रिय बजार व्यवस्थापनको निम्ति निजी क्षेत्रलाई साथमा लिएर चिया तथा कफी विकास वोर्ड मातहत विशेष योजना ल्याइ विदेशी बजारमा नेपाली चियाको बजारीकरण गर्नुपर्ने आवश्यकता छ ।
अन्त्यमा,
नेपालमा अहिले मिनी फ्याक्ट्रीको रुपमा चियामा लगानी गर्ने काम अधिकांश युवा व्यवसायीहरुबाट भएको छ । शुरुवातका दिनमा केही संस्थाहरुले चिया क्षेत्रमा लगानी गरेपनि उक्त सहयोग दीर्घकालिन पनि नहुने र किसान आफैंमा सक्षम तथा आत्मनिर्भर समेत बन्न सक्ने अवस्था नरहने भएको कारण अहिले साना लगानीकर्ताले आफूले उत्पादन गरेको चिया विक्रीको निम्ति राम्रो बजार प्राप्त गर्न सकेका छैनन् । यसको निम्ति पनि राज्यले किसानबाट उत्पादित चियाको बजार सुरक्षित गरिनुपर्छ । यसो हुनसके नेपालमा चिया क्षेत्र मार्फत प्रयाप्त लाभ लिन सकिने अवस्था रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij