काठमाडौं, ४ चैत : नेपाल व्यायाम मन्दिरले आयोजना गर्न लागेको १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैत ७ देखि ९ गतेसम्म हुनेछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो।
प्रतियोगिताका मुख्य विधा पुरुष बडिबिल्डिङ हुनेछ, जसमा ६०, ६५, ७०, ७५, ८० र ८० किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल समूहका विजेताबीच ‘मिस्टर धर्मश्री’को उपाधिका लागि प्रतिस्पर्धा गराइनेछ।
धर्मश्री प्रतियोगितासँगै पुरुष एथ्लेटिक्स फिजिक ओभर, मेन्स एथ्लेटिक्स फिजिक अन्डर, महिला बडिबिल्डिङ र ५० वर्षभन्दा माथिका खुला मास्टर विधामा पनि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएका छन्।
धर्मश्री प्रतियोगिताका विजेतालाई रु १२ लाख, दोस्रो स्थानको खेलाडीलाई रु ६ लाख, र तेस्रो स्थानको खेलाडीलाई रु ३ लाख पुरस्कार दिइनेछ। चौथो स्थान प्राप्त गर्नेले रु २ लाख, पाँचौँले रु १ लाख ८० हजार र छैटौँ स्थान प्राप्त गर्नेले रु १ लाख ५० हजार प्राप्त गर्नेछन्।
प्रत्येक तौल समूहका उपविजेताले रु ५० हजार, तेस्रो स्थानको खेलाडीले रु ४० हजार, चौथोले रु ३० हजार, पाँचौँले रु २० हजार र छैटौँ स्थानको खेलाडीले रु १५ हजार प्राप्त गर्नेछन्।
पुरुष एथ्लेटिक्स फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङका विजेताले रु २ लाख, उपविजेताले रु १ लाख पाउनेछन्। तेस्रो स्थानको खेलाडीलाई रु ७० हजार, चौथोले रु ५० हजार, पाँचौँले रु ४० हजार र छैटौँ स्थान प्राप्त गर्नेले रु ३० हजार पुरस्कार दिइनेछ।
५० वर्षभन्दा माथिका खुला मास्टर विधाका विजेताले रु १ लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु ३० हजार, चौथोले रु २५ हजार, पाँचौँले रु १५ हजार र छैटौँ स्थानको खेलाडीले रु १० हजार प्राप्त गर्नेछन्।
प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुनेछ, जसमा करीब ६ सय खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij